२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यनियमित गोलभेंडा खाँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि

नियमित गोलभेंडा खाँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि


लण्डन- गोलभेंडाले पुरुष प्रजनन सुधार गर्न सहयोग गर्ने एक अध्ययनले देखाएको छ । बेलायतको सेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले गोलभेंडामा हुने लाइकोपिन नामक तत्वले शुक्राणुको गुणस्तर बढाउने देखाएको हो । यसले पुरुषको प्रजननसँग प्रत्यक्ष सरोकार राख्दछ ।

अध्ययन अनुसार दैनिक दुई चम्चा गोलभेंडाको लेदो पूरक आहारका रुपमा सेवन गर्ने पुरुषको वीर्यको गुणस्तर पनि राम्रो हुन्छ ।

प्रजनन समस्या भएका पुरुषहरूलाई स्वस्थ जीवनशैली अपनाउन र खुकुला अन्डरवेयर लगाउन बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस)को सुझाव छ । साथै, सम्भव भएसम्म तनाव कम गर्न पनि सुझाव दिइएको छ ।

केही पोषक तत्वले पुरुष प्रजनन क्षमता बढाउन सक्छ भन्ने मान्यतालाई यो अध्ययनले सहयोग गरेको छ । १२ हप्तासम्म गरिएको सो अध्ययनमा सहभागी ६० जनालाई दैनिक १४ मिलिग्राम ल्याक्टोलाइकोपिन सेवन गर्न दिइएको थियो ।

अध्ययनको सुरु, छैठौं हप्ता र अन्तिममा सहभागीहरुको शुक्राणु परीक्षण गरिएको थियो । अध्ययनको अन्तमा लाइकोपिन सेवन गर्नेहरुमा स्वस्थ शुक्राणु र गतिशिलताको अनुपात (शुुक्राणु पौडिन सक्ने गति) बढी पाइएको थियो ।

लाइकोपिन भिटामिन इ र जिंक जस्तै एन्टिअक्सिडेन्ट हो जसले कोषको अक्सिडेसन हुन दिंदैन । ‘यो अध्ययन सानो संख्यामा गरिएको छ । यद्यपी यसको नतिजा भने उत्साहजनक छ,’ सेफिल्ड विश्वविद्यालयकी मानव पोषण सम्बन्धि विशेषज्ञ डा. लिज विलियम्सले बताइन् ।
अब छिट्टै प्रजननसम्बन्धि समस्या भएका पुरुषहरुमा पनि अध्ययन गर्नुपर्ने पनि उनको भनाइ छ ।

लाइकोपिनको सेवन मुटुसम्बन्धि रोग र केही प्रकारका क्यान्सरमा समेत फाइदाजनक हुने यस अघिका अध्ययनले देखाएका छन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ