२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टयस्ता छन् चिकित्सा शिक्षा आयोग उपाध्यक्षका ६ आकांक्षी

यस्ता छन् चिकित्सा शिक्षा आयोग उपाध्यक्षका ६ आकांक्षी


काठमाडौं-चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन गठित चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आधा दर्जन वरिष्ठ चिकित्सकहरु आकांक्षी देखिएका छन् । आयोगको कार्यकारी भूमिकामा रहने उपाध्यक्ष सिफारिसका लागि सिफारिस समितिले तोकेको समयसीमा मंगलबारसम्म ६ जना वरिष्ठ चिकित्सकहरुको आवेदन परेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, ०७५ को प्रमाणीकरण भएको चार महिनापछि आयोग गठनको तयारी भएको छ । आयोग अविछिन्न उत्तराधिकारवाला स्वशासित संस्थाका रुपमा आयोग रहने ऐनमा उल्लेख छ । आयोगको प्रधान कार्यालय काठमाडौंमा रहनेछ । आवश्यकताअनुसार प्रदेशस्तरमा समेत शाखा कार्यालय खोल्न सकिने जनाइएको छ ।

आयोगको उपाध्यक्ष पदका लागि आकांक्षी बनेर आवेदन दिएका उम्मेदवारको योग्यता एवं क्षमताबारे हेल्थ आवाज डटकमले तयार पारेको एक रिपोर्ट :

कस्ता छन आवेदक ?

प्रा.डा. प्रमोद सर्राफ
प्रा.डा. सर्राफ नेशनल मेडिकल कलेज वीरगन्जमा चार वर्षदेखि मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन् ।चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको आवेदन दिएपछि उनले पदबाट राजीनामा दिएका छन् ।

रसियाबाट एमबीबीएस उत्तीर्ण गरेका छन् । डा. सर्राफले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडिजीपी पुरा गरेपछि चिकित्सा सेवामा क्रियाशील रहेका थिएँ ।

प्रा.डा. श्रीकृष्ण गिरी
प्रा.डा. गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रजिष्ट्रार हुन् । विगत ३७ वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय छन् । हाल राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ अर्थोपेडिक सर्जनको कार्यरत छन् । डा. गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस गरेका र एमएस गरेका छन् ।

गिरिराजमणि पोखरेल स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा मन्त्रालयको महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय समन्वय महाशाखाको प्रमुख रहेर काम गरेका थिए । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सम्भाव्यता अध्ययन समितिको संयोजकको रुपमा पनि रहेका छन् ।

प्रा.डा. पारसकुमार पोखरेल

प्रा.डा. पोखरेल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिन, विभागमा कार्यरत छन् ।

उनले काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिसिन धुलिखेलमा कम्युनिटी मेडिसिन तथा फ्यामिली प्राक्टिस विभागमा अध्यक्षका रुपमा समेत काम गरेका थिए ।

प्रा.डा. पोखरेलले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट एमडी गरेका छन् । मेडिकल शिक्षाको सुधार, संरक्षण र प्रबद्र्धनकाका लागि आफूले आयोगको उपाध्यक्षमा आवेदन दिएको डा. पोखरेलले बताए ।

प्रा.डा. रमेश सिंह
प्रा.डा. सिंह नेपाल मेडिकल कलेज जोरपाटीमा हाडजोर्नी विभागका विभागीय प्रमुखका रुपमा कार्यरत छन् । उनले भारतको कलकत्तास्थित आरजी कर मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन भने पाकिस्तानको पोष्टग्राजुएट मेडिकल इन्स्टिच्युटबाट एमएस गरेका छन् ।

एमएस गरेलगत्तै उनले नेपाल प्रहरी अस्पतालमा झण्डैं दुई वर्ष सेवा गरेका थिए । झण्डै दुई दशकदेखि उनी नेपाल मेडिकल कलेजमा सेवारत छन् ।

प्रा.डा. निलाम्बर झा
प्रा.डा. झा विपी कोइराला इन्स्ष्टिच्युट अफ हेल्थ साइन्स, धरानमा पब्लिक हेल्थ हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागमा कार्यरत छन् । उनी कम्युनिटी मेडिसिनमा सम्भवतः मुलुककै पहिलो एमडी गर्ने ब्यक्ति हुन् ।

डा. झाले जवाहरलाल इन्स्टिच्युट अफ पोष्टग्राजुएट मेडिकल एजुकेशनबाट पिजी गरेका छन भने भारतको चेन्नईस्थित स्टेनली मेडिकल कलेजका एमबीबीएस हुन् ।

प्रा.डा. झा यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर भइसकेका छन् । उनी नेप्लिज सोसाइटी अफ कम्युनिटी मेडिसिनको अध्यक्ष हुन् । यसअघि उनले राष्ट्रिय अनुसन्धान परिषद्को कार्यकारी समितिमा रहेर पनि अनुभव बटुलिसकेका छन् ।

डा. निलमणि उपाध्याय
डा. उपाध्याय नेपाल मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रार हुन । रजिष्ट्रार हुँदा काउन्सिललाई कानुन विपरित कार्य गराउन मुख्य भूमिका निर्वाह गरेको आरोप उनीमाथि लागेको थियो । मेडिकल कलेजको सिट निर्धारणमा मापदण्ड मिचेको, एकै समयमा दुईवटा संस्थाबाट तलब लिने गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप गराएको समेत आरोप निलमणि माथि थियो ।

पेशागत चिकित्सा सम्बन्धी कामबाहेक कुनै पनि सरकारी र अर्ध सरकारी निकायमा भविष्यमा लाभको पदमा नियुक्ति पाउन अयोग्य रहेको भन्दैं उनलाई कारवाहीको सिफारिस समेत भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त हुन चलखेल गरेको समेत आरोप लागेको थियो ।

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले मेडिकल कलेजको सिट निर्धारण र काठमाडौं विश्वविद्यालय (केयु)को प्रवेश परिक्षाका विषयमा उनीसँग सोधपुछ समेत गरेको थियो ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ