२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट१ अर्ब ३५ करोड लगानी गरेर नेपालगन्ज मेडिकल कलेजमा भित्रिदै सुनिल शर्मा

१ अर्ब ३५ करोड लगानी गरेर नेपालगन्ज मेडिकल कलेजमा भित्रिदै सुनिल शर्मा


काठमाडौं—पश्चिम नेपालको सबैभन्दा ठूलो स्वास्थ्य संस्था नेपालगन्ज मेडिकल कलेजमा सुदूरपूर्वका मेडिकल सञ्चालक सुनिल शर्माको ‘इन्ट्री’ हुने लगभग पक्का भएको छ । शर्माले बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको झण्डै ४२ प्रतिशतभन्दा बढी सेयर किन्ने तयारी गरेका हुन् । जसका लागि उनले झण्डै १ अर्ब ३४ करोड ४० लाख हाराहारी लगानी गर्ने तयारी गरेको स्रोतको दावी छ ।

कलेजका प्रबन्ध निर्देशक प्रा.डा. सुरेश कनोडियाले मेडिकल कलेजको अहिलेको मुल्यांकन २ अर्ब माथि रहेको बताए । तर, स्रोतकाअनुसार हाल नेपालगन्ज मेडिकल कलेजको मुल्यांकन ३ अर्ब २० करोड गरेर ४२ प्रतिशत शेयर बिक्री गर्न लागिएको हो । शर्माले ४२ प्रतिशत सेयर लिँदा उनी नेपालगन्ज मेडिकल कलेजको सबैभन्दा ठूलो लगानीकर्ता हुनेछन् ।

सन् १९९७ बाट एमबीबीएस अध्यापन थालेको नेपालगन्ज मेडिकल कलेज सन् १९९६ मा स्थापना भएको हो । नेपालका सबैभन्दा पुराना मेडिकल कलेजमध्येमा नेपालगन्ज मेडिकल कलेज पर्छ । चिकित्सा क्षेत्रमा राम्रो नाम कमाएका प्रा.डा. कनोडियाको नेतृत्वमा स्थापना भएको सो मेडिकल कलेजमा अहिले १५ सय बढी चिकित्सक, नर्सलगायतका कर्मचारी कार्यरत छन् । मेडिकल कलेजको ७ सय बेड क्षमताको अस्पताल छ ।

नेपालगन्जमा १८ कठ्ठामा रहेको सिटी अस्पताल, कोहलपुरमा ९ विगाहामा रहेको सुविधासम्पन्न मेडिकल कलेज तथा अस्पताल र महेन्द्रनगरमा २१ विगाहा जग्गा सो कलेजको मुख्य सम्पत्तिका रुपमा रहेको छ । यसबाहेक मेडिकल शिक्षामा नेपालगन्ज मेडिकल कलेजको बेग्लै ब्राण्ड छ ।

नेपालगन्ज मेडिकल कलेजका संस्थापक समेत रहेका डा. कनोडियाले आफूले जन्माएको विरुवालाई अझ राम्रो बनाउनका लागि कलेजमा नयाँ लगानीकर्ता भित्र्याउन लागिएको पुष्टि गरे । ‘आफूले जन्माएको विरुवालाई राम्रो बनाउनु कर्तव्य हो,’ उनले भने, ‘त्यही शिलशिलामा ४०—४२ प्रतिशत शेयरसहित नयाँ लगानीकर्ता भित्र्याउन लागिएको हो । ठूलो बनाउनका लागि हिम्मत गर्नुप¥यो नि होइन् ?’

डा. कनोडियाकाअनुसार कोभिड—१९ को महामारी सुरु भएपछि मेडिकल कलेज घाटामा छ । अघिल्लो वर्ष करिब १८ करोडमा घाटामा गएको नेपालगन्ज मेडिकल कलेजले यस वर्ष झण्डै १० करोड घाटा ब्यवहोर्नु परेको छ ।

२५ वर्षअघि २० जनाले ३१ करोड सुरुवाती लगानी गरेर अगाडि बढाएको नेपालगन्ज मेडिकल कलेजमा अहिले ७० जना लगानीकर्ता छन् । यसको सम्पत्ति झण्डै ३ अर्ब बढीको छ । सामान्य अवस्थामा पनि दैनिक औसत १२ सय बिरामीको उपचार हुने पश्चिम क्षेत्रकै ठूलो अस्पताल नेपालगन्ज मेडिकल कलेज हो । एमबीबीएस, एमडी/एमएस, नर्सिङ कार्यक्रम गरी झण्डै १ हजार बढी विद्यार्थीहरु नेपालगन्ज मेडिकल कलेजमा अध्ययनरत छन् ।

नयाँ लगानीकर्ता भित्रिएपछि मेडिकल कलेजमा नेपालगन्जमा रहेको अस्पतालमा एमआरआई थप्ने, कोहलपुरमा प्याथ ल्याबसहित मुटु सम्बन्धि सम्पूर्ण उपचार हुने व्यवस्था गर्ने र अबको एक वर्षभित्रमा मिर्गौला प्रत्यारोपणका लागि पूर्वाधार तयार गर्न योजना रहेको प्रबन्ध निर्देशक डा. कनोडियाले जानकारी दिए ।

कनोडिया परिवारको मुख्य लगानी रहेको नेपालगन्ज मेडिकल कलेज घाटामा गएपछि पछिल्ला तीन महिनादेखि अस्पतालका कर्मचारीहरुले तलब पाएका छैनन् भने दुई वर्षदेखि लगानीकर्ताहरुले डिभिडेन्ट पाएका छैनन् । ‘तीन वर्षदेखि डिभिडेन्ट नपाएको र दुई वर्षदेखिको घाटा परिपूर्ति गर्न सामान्य अवस्थामा झै चार पाँच वर्ष लाग्छ । त्यति लामो समय लगानीकर्ताले केही प्रतिफल नपाउने भएपछि संस्थालाई नयाँ ढंगले विकास गर्दै अगाडि बढाउन नयाँ साझेदारको आवश्यकता परेको हो,’ उनले थपे ।

नेपालगन्ज मेडिकल कलेज किन्न लागेका शर्माले गत भदौंमा १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजको ४७.१ प्रतिशत शेयर किनेका थिए । उनी विराटनरस्थित नोबेल मेडिकल कलेजका प्रमुख संस्थापक सञ्चालक समेत हुन् । उनले यसअघि काठमाडौंमा जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजको सेयर किन्ने तयारी गरेका थिए । तर, सो कलेजको सेयर वीरगन्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्धिन अन्सारीले किनेपछि उनी नेपालगन्ज मेडिकल कलेजमा भित्रिन लागेका हुन् । काठमाडौंमा रहेको पिपुल्स डेन्टल कलेजको स्वामित्व पनि शर्माकै हो ।


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #काठमाडौ मेडिकल कलेज, #नेपाल मेडिकल कलेज, #नेपालगन्ज मेडिकल कलेज, #नेशनल मेडिकल कलेज, #नोबेल मेडिकल कलेज, #पिपुल्स डेन्टल कलेज, #प्रा.डा. सुरेशराज कनोडिया


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ