२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टकेयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन्

केयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन्


काठमाडौं विश्वविद्यालय (केयु)को एमबीबीएसको सन् २०१५ को ब्याच । २० जेठमा यही ब्याचबाट एमबीबीएस उत्तीर्ण गरेका ९ सय बढी विद्यार्थी दीक्षित भए । त्यही ब्याचमा सर्वोत्कृष्ट नम्बर ल्याएर टप गर्न सफल भएँ—डा. जायज अधिकारी । पोखराका २६ वर्षीय डा. जायजले ८२.१२ प्रतिशत अंक ल्याएर केयुको आफ्नो ब्याच टप गरेका हुन् । ब्याच टप गरेपछि मणिपाल मेडिकल कलेजका विद्यार्थी उनले ‘भाइस चान्सलर स्वर्णपदक’ हात पारे ।

पोखरा नदीपुरमा वि.सं. २०५३ सालमा जन्मिएका हुन्, जायज । उनका बुवा हरिप्रसाद अधिकारी वकिल हुन् भने आमा रमा अधिकारीका शिक्षिका हुन् । वकिल बुवा र शिक्षिका आमाका दुई सन्तानमध्ये जायज जेठा हुन् । शिक्षित परिवारमा जन्मेकाले उनको प्रारम्भिक शिक्षामा पनि अभिभावकले विशेष ख्याल राखे ।

जायजको प्रारम्भिक शिक्षा स्थानीय प्रतिभा स्कुल नदीपुरबाट अगाडि बढेको हो । उनले केजीसम्म प्रतिभा स्कुलमा पढें । त्यसपछि कक्षा १ देखि ४ सम्मको अध्ययन ताराकुञ्ज स्कुलबाट पूरा गरे । त्यसपछि गण्डकी बोर्डिङ स्कुल गए । स्कुल जीवनमा उनलाई विज्ञान विषय बढी मनपथ्र्यो । अझ विज्ञानका प्रयोगात्मक कक्षाहरुमा उनको अभिरुचि थियो । ‘सरहरु एक्पीरिमेन्टहरु गर्नुहुन्थ्यो, मलाई त्यसले झन लोभ्याउँथ्यो,’ उनले भने । त्यसबाहेक उनी खेलकुदहरुमा पनि म सहभागी हुन्थे । ‘फुटबल र टेबल टेनिसहरु खेल्न मन पर्छ,’ उनी भन्छन् ।

जायजले गण्डकी बोर्डिङ स्कुलबाटै वि.सं. २०६८ सालमा डिस्टिङसनमा एसएलसी उत्तीर्ण गरे । त्यसपछिको थप उच्च शिक्षा पनि गण्डकी बोर्डिङ स्कुलबाटै अगाडि बढाए । वि.सं. २०७१ सालमा उनले विज्ञानमा विशिष्ट श्रेणीमै कक्षा १२ उत्तीर्ण गरे । ‘कक्षा ११ मा पुगेपछि बायोलोजी पढ्ने कि फिजिक्स पढ्ने भन्ने कुरामा म निकै दोधारमा थिए,’ उनले सुनाए, ‘एक आफन्त डाक्टरलाई देख्दा यो इज्जतिलो र समाजसेवामा लाग्ने पेशा पनि हो रहेछ भन्ने देखे ।’ त्यसपछि यस विषयमा उनले परिवारसँग सल्लाह पनि गरे । परिवारको सल्लाह र सपोर्टमै उनले डाक्टर बन्ने उद्देश्यका साथ प्लस टुमा बायोलोजी लिएका हुन् ।

वि.सं. २०७१ सालमा प्लस टु सकेपछि उनी काठमाडौ आए । ६ महिनाजति एमबीबीएस इन्ट्रासको तयारी गरे । सुरुमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले प्रवेश परीक्षा भयो । तर, त्यही बेला ज्वरोले च्यापेपछि उनले परीक्षा राम्रो गर्न सकेनन् । ‘२ अंकले मेरो आईओएममा नाम निस्किएन्,’ उनले भने ।

त्यसपछि उनी शिक्षा मन्त्रालयले एमबीबीएसका लागि दिने छात्रवृत्तिमा छनोट भए । शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि छनोट भएपछि उनी सन् २०१५ मा एमबीबीएस अध्ययनका लागि मणिपाल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल पोखरा पुगे । त्यहीबाट डा. जायजले एमबीबीएस उत्तीर्ण मात्रै गरेनन्, गोल्डमेडलिष्ट नै बने ।  एमबीबीएसको पढाइ कस्तो रह्यो त ? भन्छन्, ‘एमबीबीएस पढाइ थोरै शब्दमा बयान नै गर्न सकिदैन् । त्यहाँ रमाइलो, दुःख, डर, सफलता सबै छन् ।’

डा. जाजय भविष्यमा रेडियोलोजीमा पिजी गर्ने योजनामा छन् । ‘इन्टरभेन्सनल रेडियोलोजी र इन्टरभेसनल मेडिसिनमा मलाई इन्ट्रेस्ट लागेको छ । म रेडियोलोजीमै जान्छु,’ उनले भने, ‘स्वदेशमा रेडियोलोजीको सुपरस्पेशलाइजेशन त्यति राम्रो विकास भइसकेको छैन । मलाई इन्टरभेन्सन रेडियोलोजिष्ट बन्ने रहर छ ।’ उनले नयाँ र बुझ्नुपर्ने कुरा धेरै भएकोले इन्टरभेन्सन रेडियोलोजी आफ्नो रोजाइमा परेको बताए ।

केयुको एमबीबीएसका गोल्डमेडलिष्ट डा. जायज उत्कृष्ट हुनका लागि धेरै कुराहरु मिल्नुपर्ने बताउँछन् । ‘टप गर्न एकआपसमा धेरै कुरा मिलेर आउनुपर्ने रहेछ,’ उनले आफ्नो अनुभव बाँडे, ‘भित्रबाटै केही गर्न सक्छु भन्ने इच्छाशक्ति, पढाइप्रति लगाव, मेहनत, पारिवारिक वातावरण, साथीभाई र शिक्षकको सपोर्ट चाहिन्छ ।’ उनी टप गर्ने पढाइ अलि फरक हुनुपर्ने मत राख्छन् । ‘एकपटक शिक्षकबाट सुन्नेको कुरा आफै खोज्ने, हेर्ने र त्यो कुरा पटक—पटक पढ्ने गर्दा स्मरण रहिरहने हुन्छ,’ उनले थपे, ‘बुझेर पढ्ने तर केही कुराहरु कण्ठ पनि गर्नुपर्नेहुन्छ ।’

एमबीबीएस अध्ययनताका पनि डा. जायज ८ घण्टा मज्जाले सुत्थे । पढाइकै लागि भनेर उनले कहिल्यै तनाव लिएनन् । बरु, दैनिक तीन घण्टा मनोरन्जनका लागि समय छुटाएको उनी बताउँछन् । त्यसबाहेक पाठ्यक्रमको पढाइसँगसँगै उनले केही समय अनुसन्धानका कुराहरु पनि खोजेर पढ्ने बानी बनाएका थिए ।

डा. जायज मेडिकल शिक्षामा नयाँ आउने विद्यार्थीका लागि यो फिल्डको पढाइलाई पनि अन्य फिल्डकैजस्तो सम्झन सुझाव दिन्छन् । ‘एमबीबीएस पढाइ सजिलो पनि छैन र कठिन पनि छैन्,’ उनले सुझाउँदैं भने, ‘परीक्षामा मात्र नभएर सुरुदेखि नै पढ्ने गर्नुपर्छ । शिक्षकले भनेको कुरा बुझ्ने र त्यो पुनः रिभाइज गर्ने बानी बसाल्नुपर्छ ।’ डा. जायजकाअनुसार असम्भव र गर्ने नसकिने केही पनि छैन । तर, एमबीबीएस भास्ट भएको हुँदा सुरुबाट नै विस्तारै तयारी गर्दै जानुपर्ने उनले बताए ।


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #एमबीबीएस, #काठमाडौं विश्वविद्यालय, #गोल्डमेडलिष्ट, #डा. जायज अधिकारी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ