२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट‘फ्रन्टलाइन’लाई काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल बनाउने तयारी

‘फ्रन्टलाइन’लाई काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल बनाउने तयारी


काठमाडौं—पुरानो बानेश्वरस्थित २०० शैय्याको फ्रन्टलाइन अस्पताललाई काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल बनाउने तयारी अगाडि बढेको छ । आधुनिक पूर्वाधार र अत्याधुनिक उपकरणसहित संचालनमा आएको उक्त अस्पताललाई मेडिकल शिक्षा व्यवसायी बसुरुद्धिन अन्सारीले किन्ने तयारी अगाडि बढाएका हुन् ।

‘धेरै चरणमा छलफल भइसकेको छ । काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पतालका रुपमा फ्रन्टलाइन अस्पताललाई हेर्न चाहेका छौं,’ अन्सारीले भने, ‘फ्रन्टलाइन शिक्षण अस्पताल बनोस्, त्यो सपना पूरा हुनु अपरिहार्य भएको छ ।’ उनले केही समयमै फ्रन्टलाइनसँग डिल टुंगोमा पुग्ने विश्वास व्यक्त गरे ।

८ रोपनी क्षेत्रफलमा रहेको फ्रन्टलाइन अस्पतालमा चिकित्सा शिक्षा र स्वास्थ्यका क्षेत्रमा दुई दशक बढी सक्रिय अध्यक्ष नवराज पाण्डेसहित पाँच जनाको लगानी छ । यही समूहले यसअघि सिनामंगलमा नोबेल अस्पताल सञ्चालन गरिरहेको थियो । उक्त अस्पताललाई नाम परिवर्तन गरेर नयाँ भवनमा सरेसँगै फ्रन्टलाइन बनाइएको हो ।

ठूलो महत्वकांक्षी योजनाका साथ कर्पोरेट शैलीको अस्पतालका रुपमा फ्रन्टलाइनलाई लैजाने व्यवस्थापनको तयारी थियो । त्यही कारण ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई मेडिकल नेतृत्व प्रदान गरिसकेका वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेलाई फ्रन्टलाइनले ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज’का रुपमा भित्र्याएको थियो ।

तर, पछिल्लो समय देखिएको आर्थिक तरलता, नयाँ अस्पताल भएकाले तत्कालै सोचेअनुरुप बिरामी फ्लो एवं प्रतिफल नहुनु, व्यवस्थापन टिमभित्रकै आन्तरिक असन्तुष्टिजस्ता कारण अस्पतालले कर्पोरेट कल्चर विकास गर्न चुक्न पुगेको एक संचालक बताउँछन् ।

‘मुख्य कारण त आर्थिक नै हो । अन्य विविध कारणले पनि अस्पताल चुस्तदुरुस्त रुपमा अगाडि बढ्न सकेन,’ ती संचालकले भने, ‘त्यही कारण पनि अस्पताल बिक्री गर्ने निर्णयमा पुग्नु परेको हो ।’ ती संचालकले अस्पताल किनबेचका लागि अन्सारीसँग पटक—पटक छलफल भएपनि अन्तिम टुंगोमा भने नपुगिसकेको बताए । उनकाअनुसार बिक्री वा साझेदारी कसरी अगाडि बढ्ने भन्ने विषय पनि टुंगिसकेको छैन ।

अन्सारीको आँखा फ्रन्टलाइनमै किन ?

अन्सारीको घट्टकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले १२ साउन २०७४ मा अस्थायी सम्बन्धन दिएको थियो । तर, प्रा.डा. गोविन्द केसीका आन्दोलन र माथेमा कार्यदलको सुझाव विपरित सम्बन्धन दिइएको भन्दैं तीब्र विरोध सुरु भएपछि त्रिविले पुनः छानविन समिति गठन गरेको थियो । उक्त छानविन समितिको प्रतिवेदन बुझाएलगतै २१ भदौंमा २०७४ मा त्रिविले उक्त अस्थायी सम्बन्धन खारेज गरेको थियो ।

त्रिविको सम्बन्धन खारेज गर्ने निर्णय विरुद्ध अन्सारी अदालत गएका थिए । उक्त रिटमाथि ८ कात्तिक २०७४ मा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीस डम्बरबहादुर शाहीको एकल इजलास सम्बन्ध खारेज गर्ने त्रिविको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, डा. केसी र नागरिक समाजको तीब्र विरोध कारण उक्त निर्णय कार्यन्वयन भएन ।

त्यतिबेला स्वास्थ्य मन्त्रालयले समेत काठमाडौं नेशनल मेडिकल कलेजको अस्पतालमाथि छानविन गरेको थियो । उक्त छानविन समितिले अस्पताल दर्ता नभएको प्रतिवेदन मन्त्रालयलाई दिएको थियो । उसो त त्यतिबेलै १ सय ५० करोड बढी लगानी भइसकेको भनिएको काठमाडौं नेशनल मेडिकल कलेजको अस्पताल पूर्वाधारको हिसाबले पनि कमजोर रहेको भन्दैं आलोचना भएको थियो । यो सबैलाई केन्द्रमा राखेर नै अन्सारीले भौतिक पूर्वाधारमा पनि प्रश्न उठाउन नसकिने हिसाब गरेर फ्रन्टलाइनलाई शिक्षण अस्पताल बनाउन चाहेका छन् । ‘त्यही कारण उहाँ फ्रन्टलाइन जस्तो आधुनिक पूर्वाधार भएको अस्पतालमा किन्न तयार हुनुभएको हो,’ अन्सारी निकट स्रोतले भन्यो ।

अर्को मुख्य कारण भनेको काठमाडौं नेशनल मेडिकल कलेज र फ्रन्टलाइन अस्पतालबीचको दूरी पनि हो । घट्टेकुलोमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज र पुरानो बानेश्वर ओरालोमा रहेको फ्रन्टलाइन अस्पाल एक किलोमिटरभन्दा कम दूरीमा छन् ।

अन्सारीको स्वामित्वमा वीरगन्जमा नेशनल मेडिकल कलेज छन् । गत असारमा उनले अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको ४९ प्रतिशत शेयर खरिद गरेका थिए ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ