२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपसफल हेल्थ होम : २ करोड लगानी, वार्षिक ७० लाख टर्न ओभर

सफल हेल्थ होम : २ करोड लगानी, वार्षिक ७० लाख टर्न ओभर


२० वर्षदेखि अकुपञ्चर क्षेत्रमा कार्यरत मेडिकल अकुपञ्चरिष्ट विशाल श्रेष्ठको पुर्ख्याैली घर ओखलढुंगा हो । विराटनगरमा जन्मिएका उनी सुनसरीमा हुर्केका हुन् । वि.सं. २०५४ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले बागबजारस्थित ओटीटिसीबाट अकुपञ्चर तीन वर्षे डिप्लोमा गरेका छन् । जापानमा दुई वर्ष अकुपञ्चर पढेका उनले तीन वर्षे डिप्लोमा इन जनरल मेडिसिन र ब्याचलर इन फिजियो थेरापी पनि अध्ययन गरेका छन् ।

सरकारी जागिरे बुवाका छोरा ४० वर्षीय विशाल १२ वर्षअघि बागबजारमा रहेको ओटीटिसीमा ९ हजार तलब थाप्थे । त्यहाँ उनी पढाउनुका साथै त्यसको क्लिनिकमा पनि काम गर्थे । त्यतिबेला उनमा विस्तारै जागिरको साटो सानै भएपनि आफ्नै केही गर्ने आँट चल्यो । ‘ठूलै हस्पिटल खोल्ने योजना त थिएन,’ उनी सुनाउँछन्, ‘तर, सानै भएपनि आफ्नै केही गर्नुपर्छ भन्ने लाग्न थालेको थियो ।’

तर, आफ्नै केही गर्नका लागि विशालसँग पैसा थिएन । ओटीटिसीका अध्यक्ष पुष्करदेव पन्तले केही गर्ने भएमा आफूले लगानी गरिदिन्छु भनेर उनमा आँट भरिदिए । त्यही क्रममा अकुपञ्चर एशोसिएसनका संस्थापक कोषाध्यक्ष समेत रहेका विशाल डा. सुरज कर्माचार्य भेटिए । उनी चीनबाट एमडी गरेर फर्किएका थिए । दुवै जना केही गर्न चाहनेहरुको भेट संयोगले जुराइदिएको मान्छन्—विशाल । यतिकैमा यो केही गर्ने चाहनेहरुसँग अन्य दुई जना जोडिए । पाँच जना मिलेर छाउनीमा दिव्य सन्जीवनी हस्पिटल खोले ।

सन् २०१० मा पाँच जना साथी मिलेर झण्डै ३०—३५ लाखमा लगानीमा दिव्य सन्जीवनी हस्पिटल खोलेका थिए । केही समय स्वयंसेवा गरेपछि उनीहरुको उक्त हस्पिटल पहिलो महिनादेखि नै नाफामा चल्यो । चार वर्ष उनले त्यहाँ काम गरे । त्यसपछि अझै राम्रो र व्यवस्थित भएर काठमाडौंको केन्द्रमा जाने उनीहरुको सोच बन्यो । सबै साझेदारले रिस्क लिन आँट नगरेपछि आधा—आधा साझेदारीमा विशाल र डा. सुरज मिलेर त्रिपुरेश्वरमा ब्लू लोटस हस्पिटल सुरु गरे ।

ब्लू लोटसमा काम गर्दैगर्दा विशालको ग्वार्कोमा रहेको घर भाडामा थियो । उनले दिनभर हस्पिटलमा बस्नुभन्दा ३—४ घण्टा आफ्नो त्यही घरको ग्राउण्ड फ्लोरमा क्लिनिक बनाएर बिरामी हेर्ने योजना बनाए । त्यतिबेलासम्म साझेदारी व्यवसायमा गरिरहेका उनमा केही ठूलो गर्ने आँट आइसकेको थियो । त्यतिबेला ग्वार्को अपायक थियो तर पनि उनले ३/४ घण्टा बिरामी हेर्ने लक्ष्यका साथ वि.संं. २०७० सालमा २० लाख लगानीमा ‘सफल हेल्थ होम’ सुरु गरे । दुई जना चार जना हुँदैं उनी दिनमै पचास जनासम्म बिरामी हेर्न थालिसकेका थिए ।

ब्लू लोटसमा ६ वर्षसम्म काम गरे । त्यो दौरानमा उनले बनाएका दुवै हस्पिटल अर्कोको घरमा थिए । अर्काको घरमा हस्पिटल बनाउँदा अर्कोको डिजाइनअनुसार आफ्नो कन्सेप्ट नै परिवर्तन गर्नुपर्ने भयो । आफ्नो कन्सेप्ट नै परिवर्तन गर्नुपर्ने भएपछि उनले आफ्नो घरको ग्राउण्ड फ्लोरमा रहेको सफल हेल्थ होमका लागि त्यही जोडिएको जग्गा किने ।

एउटा बुटिक हस्पिटल सञ्चालनका लागि तयार थाले । ‘मैले जापानमा पढ्दाखेरि त्यहाँको हस्पिटलहरुको कन्सेप्ट हेरेको थिए,’ उनी सुनाउँछन्, ‘बुटिक टाइपका । त्यहाँभित्र जाँदाखेरि डाक्टर सेतो कोट लगाएर कराएको, बिरामी कराएको, बच्चा रोएको प्यानिक टाइपको थिएन । आनन्द लाग्ने, शान्त, निट एण्ड क्लिन ।’ त्यही कुरा नेपालमा गर्न पाए हुन्थ्यो भन्ने मनमा परिरहेको थियो । उनले हस्पिटलको सुविधा दिने घरजस्तो वातावरण भएको घर निर्माण गर्न चाहे ।

त्यही कारण उनले हस्पिटलका लागि आफ्नै घर बनाउने योजना बनाए । आर्किटेक्ट, सिभिल इन्जिनियर र इन्टेरियरलाई ७० प्रतिशत पूर्वीय चिकित्सा कन्सेप्टमा र ३० प्रतिशत मोर्डन कन्सेप्टमा घर बनाउन थिम सुनाए । त्यहीअनुसार ४ वर्षअघि ग्वार्कोको १ रोपनी ५ आना क्षेत्रफलमा आकर्षक घर बन्यो । जसमा २ वर्षदेखि पूर्वीय र आधुनिक शैलीको अस्पताल होइन्, घरको अनुभूति गर्न मिल्ने सफल हेल्थ होम छ । बुटिक होटलजस्तो लाग्ने उक्त हस्पिटलमा छिर्दा नेवारी कल्चर झल्किन्छ । सानो लाइबेरी, म्युजिक, ठूलो एक्युरियममा माछापालन, प्रकृति झल्किने भित्तालगायतको आकर्षकता हस्पिटलमा मिसिएको छ ।

बुटिक होटलजस्तो लाग्ने सफल हेल्थ होममा झण्डै २ करोड रुपैयाँ लगानी लागेको विशाल बताउँछन् । अहिले कोभिडको समयमा पनि पनि झण्डै दैनिक ४० जनाको हाराहारीमा दैनिक बिरामी सेवा लिइरहेका छन् । ४ चिकित्सक र नर्स, पारामेडिक्स र स्टाफ १८ जनाको टिम छ । हेल्थ होमको वार्षिक ७० लाख हाराहारीमा टर्न ओभर छ ।

सफल हेल्थ होमले अकुपञ्चर, फिजियो, म्यानुअल, लेजर थेरापी, आयुर्वेदको पञ्चकर्ममा पर्ने सबै उपचार, न्यूरो र अर्थो कन्सल्टेसनजस्ता सेवाहरु दिइरहेको छ । विशालकाअनुसार सफल हेल्थ होमले नेपालमै फरक तरिकाले ‘इन्टरग्रेटेड मेडिसिन’ उपचार पद्धतिलाई अगाडि बढाइरहेको छ, जसमा बिरामीले एउटै छानामुनि अकुपञ्चर, फिजियोथेरापी, आयुर्वेद, योगका साथै न्यूरो मेडिसिन र अर्थोपेडिक सेवा दिइरहेको छ । जसमा अकुपञ्चर विशेषज्ञ, न्युरोलोजिष्ट, अर्थोपेडिक्स, न्युरो फिजियोथेरापिष्ट संलग्न छन् । माइग्रेन (टाउको दुख्ने)मा सफल उपचार भएपछि बिरामी बढ्न थालेको विशाल बताउँछन् । ‘त्यही कारण हामीले सफल हेल्थहोमभित्रै सफल माइग्रेन युनिट पनि सञ्चालनमा ल्याएका छौं,’ उनी भन्छन् । सफल हेल्थहोमसँग अनकल्ड चिकित्सकहरु पनि आवद्ध छन् । यसबाहेक अब उनको वर्ल्ड एज होम र अर्थो—न्यूरो रिह्याब खोल्ने योजना छ । उनी अकुपञ्चर एशोसियसनका संस्थापक कोषाध्यक्ष समेत हुन् ।


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ