२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपएक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा

एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा


वि.सं. २०४५ सालदेखि ०४८ सालसम्म डा. बुद्धिमान श्रेष्ठले वीर अस्पतालको दन्त विभागमा काम गरे । त्यो समय दाँत जोगाउने भन्दा निकाल्ने काम बढी गर्नुपथ्र्यो । त्यही बेलाका दुई वटा स्मरणीय घटनाले उनको दिमाग घुमाए ।

पहिलो, भक्तपुरकी एक जना युवतीका सबै दाँत हल्लिएका थिए । उनलाई ‘पेरियोडोन्टाइसिस’ भएको थियो । यो रोगका कारण १५—२० दिनमा उनका सबै दाँत निकाल्नुप¥यो । त्यसपछि डा. बुद्धिमानको दिमागमा उट्पट्याङ विचार खेल्न थाल्यो । उनी सोच्न थाले— यी अविवाहिता युवती हुन्, विवाहपछि हामीले लगाइदिएको दाँत राति निकालेर पानीमा डुबाएर राख्नुपर्छ । त्यो बेला श्रीमान ब्युझिएर आफ्नी श्रीमती हेर्दा थाहा नदिएको अवस्थामा के होला ? त्यो अवस्था कसरी सामना गर्नुपर्ला ?

दोस्रो, स्याङजा कुवाकोटका काका पर्ने एक जना उकालो हिडेर आइरहेका थिए । उनको एकतिरको गाला ठूलै सुन्निएको थियो । डा. बुद्धिमानले सोधे, ‘के भयो काका ?’ राम्रोसँग बोल्न नसकिरहेका काकाले जवाफ दिए, ‘बाबु, धेरै दुखेर दाँत उखेल्न गएको सुन्तलीटारमा त्यहाँको डाक्टरले दाँत निकाल्न खोज्यो । सनासोले च्यापेको थाहा छ त्यसपछि म एकातिर लडें, डाक्टर एकातिर लड्यो ।’

यी दुई घटनाले डा. बुद्धिमानलाई दाँत जोगाउन र दाँत सम्बन्धि जनचेतना फैलाउनका लागि झक्झकायो । त्यसपछि उनको मनमा दाँत, मुख र गिजा स्वास्थ्यबारे कसरी नेपालीलाई बुझाउने भन्ने हुटहुटी पैदा भयो । वीर अस्पतालमा डेन्टल असिस्टेन्टका रुपमा काम गरिरहेका उनी सन् १९९२ जापान गए । टोकियो डेन्टल कलेजमा काम गरे । त्यहाँ  तालिम लिने अवसर पनि पाए । त्यही उनले डेन्टल हाइजिनबारे पहिलो पटक बुझ्ने अवसर पाएका हुन् । डेन्टल हाइजिन विषय भएकाले उनको अभिरुचि झन बढ्यो । ‘त्योभन्दा अघि मलाई डेन्टल हाइजिनिष्ट हुन्छ भन्ने पनि थाहा थिएन,’ डा. बुद्धिमान सम्झन्छन्, ‘त्यहाँ डेन्टल हाइजिन पढ्ने सबै केटीहरु थिए ।’

पेपरमा दाँत, ब्रस र टुथपेष्टका चित्र बनाइरहेका ती युवतीहरुलाई उनले सोधे, ‘तिमीहरुले के पढ्छौं ?’ जापानी भाषामै उत्तर पाए, ‘सिका यसेसी ।’ जसको नेपाली अर्थ हुन्छ—डेन्टल हाइजिन । ती विद्यार्थीहरुले आफूहरुले बनाएका आर्टहरुमार्फत विद्यालयमा स्कुल चिल्ड्रेनलाई मुख, गिजा र दाँत स्वास्थ्यका बारेमा पढाउने जानकारी दिए । यसले डा. बुद्धिमानको दिमागमा पुनः नेपालमा आफूले ब्यवहोरेका दुई वटा घटना ताजा बनेर आए । उनले सोचे—यो विषय मैले नेपालमा पढाउन पाए, सिकाउन पाए भने नेपालीको अनुहारमा पनि हाँसो ल्याउन पाउँछु । उनी डेन्टल हाइजिनको थप अध्ययनमा लागे ।

सवा ५ वर्ष जापान बसेपछि जापानमा देखेको कुरा नेपाल लागु गर्ने योजनासहित डा. बुद्धिमान नेपाल फर्किए । वि.सं. २०५४ सालमा उनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)को सम्बन्धनमा कान्तिपुर स्कुल अफ डेन्टेष्ट्री र कान्तिपुर डेन्टल अस्पताल स्थापना गरे । महारागन्जको कपन मार्गमा खोलेको कान्तिपुर स्कुल अफ डेन्टेष्ट्रीमा डेन्टल हाइजिनको अध्यापन सुरु गर्न पनि धेरै कसरत गर्नुप¥यो । ‘सिटिइभीटीमा ३३ दिन धाएर त्यहाँका मान्छेहरुलाई डेन्टल हाइजिनका बारेमा बुझाए,’ उनी सम्झन्छन्, ‘केहीलाई मैले डेन्टल हाइजिनिष्टका बारेमा बुझाउन सके ।’ दर्तामा दोस्रो भएपनि कान्तिपुर डेन्टल हस्पिटल नेपालमा सञ्चालनमा आएको पहिलो डेन्टल हस्पिटल भएको डा. बुद्धिमान बताउँछन् । यसबाहेक कान्तिपुर स्कुल अफ डेन्टेष्ट्री पारामेडिक्स उत्पादन गर्ने पहिलो हो । दन्त चिकित्सक भने त्यसअघि नै उत्पादन सुरु भइसकेको थियो ।

पाठ्यक्रमलगायतका यावत समस्या देखाउँदैं सिटिइभिटीले दुई वर्षको कोर्स दिन मानेन । कान्तिपुर स्कुल अफ डेन्टेष्ट्रीलाई उसले १५ महिने डेन्टल असिस्टेन्ट कोर्स अध्यापनको अनुमति दियो । दन्त सहायक भनेर सुरु गरिएको उक्त कोर्समा ५५ जना विद्यार्थी अध्ययन गर्न थाले । ‘जनतामा मुख स्वास्थ्य के हो ? यसको महत्व के छ ? किन हेरविचार गर्नुपर्छ ? यो राम्रो नभएमा शरीरका अन्य अंगलाई कसरी असर गर्छ ? भनेर बुझाउनु यसको उद्देश्य थियो,’ डा. बुद्धिमान भन्छन्, ‘गाउँ—गाउँमा पुग्नका लागि त त्यही लेभलका मान्छेले पढ्ने विषय बनाउनुप¥यो । मध्यम वर्गीय दन्त जनशक्ति उत्पादन त्यही कारण मेरो रोजाइमा प¥यो ।’

तीन जना डेन्टल सर्जनसहित १२ जनाजति जनशक्ति लिएर कान्तिपुर स्कुल अफ डेन्टेष्ट्रीको यात्रा सुरु भएको हो । डेन्टल सम्बन्धि उपकरणहरु सहयोग बुद्धिबंगारा फाउण्डेसन जापानले गरेको थियो । जसलाई जापानको योकोहामाबाट नेपाल ल्याउनका लागि मात्रै डा. बुद्धिमानले १५ लाख जापानिज यान खर्च गर्नुपरेको थियो । त्यसबाहेक मासिक साढे २२ हजार रुपैयाँमा घरभाडामा लिएका थिए । ‘कतिपय मेरा साथीहरुले पागल रैछ, किन दाँतमा यति ठूलो लगानी गरेको भनेर पनि भने,’ उनी सुनिए । प्रविधीहरु सेटअप गर्नकै लागि भनेर जापानबाट तीन जना स्वयंसेवक पनि नेपाल आएका थिए ।

रमाइलो त के भने सुरुमा डा. बुद्धिमानले डेन्टल हाइजिनको कोर्सबारे बुझाउन सक्ने मान्छे नभेटेपछि आफै रिसेप्सनिष्टका रुपमा पनि काम गरे । विस्तारै ठाउँ—ठाउँमा शिविरहरु गर्न थाले । जसले कान्तिपुर स्कुल अफ डेन्टेष्ट्रीलाई ब्राण्डिङ गर्न सहयोग पुग्दैं गयो । उनले उत्पादन गरेका विद्यार्थीहरुले पनि स्कुलको ब्राण्ड एम्बास्डरका रुपमा काम गर्न थाले । जसले कान्तिपुर डेन्टलको समृद्धिमा टेवा पु¥याउँदैं गयो ।

त्यही कारण वि.सं. २०५६ मा डा. बुद्धिमानले पोखरामा कान्तिपुर डेन्टल हस्पिटलको शाखा विस्तार गरे । त्यसपछि वि.सं. २०५८ सालमा कान्तिपुरको शाखा बुटवलमा खुल्यो । त्यसको दुई वर्षपछि नारायणघाट र २०६२ मा कान्तिपुर डेन्टलको शाखा वीरगन्ज र धनगढीमा खुल्यो । अहिले धनगढी र वीरगन्जका शाखा बन्द छन् । तर, बुटवल र नारायणघाटका शाखा कान्तिपुर डेन्टल सेन्टरका रुपमा सञ्चालनमा छन् भने पोखरामा पनि चलिरहेको छ । ‘म्यानपावर पाएको भए अझै धेरै जिल्लामा पु¥याउँथे होला,’ डा. बुद्धिमान भन्छन् ।

देशका ५३ जिल्लामा मुख स्वास्थ्य तथा दन्त रोगबारे अभिमुखीकरण र तालिम पु¥याइसकेपछि प्रोत्साहन स्वरुप भारत सरकारले सन् २००५ मा मोबाइल डेन्टल भ्यान दियो । त्यो मोबाइल डेन्टल भ्यानले कम्युनिटी तहमा काम गर्न थप सजिलो बनाएको डा. बुद्धिमान बताउँछन् । २०५४ यताका २३ वर्षमा डा. बुद्धिमानले कलेज र अस्पताल मात्रै चलाएनन्, निःशुल्क दन्त शिविर, विद्यालयमा दन्त शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई मुख स्वास्थ्य सम्बन्धि तालिम, शिक्षक, पत्रकार, कलाकार, पूर्व सांसदहरुलाई मुख स्वास्थ्य अभिमुखीकरण तालिम समेत दिए । जुन उनको कलेज तथा अस्पताललाई ब्राण्डिङ गर्ने काममा सहयोगी बन्यो ।

एजुकेशनल जर्नी : लाखबाट अर्बको क्लबसम्मको यात्रा

कान्तिपुर स्कुल अफ डेन्टेष्ट्री सन् १९९७ मा सिटीइभिटीबाट डेन्टल असिस्टेन्ट कोर्सको अनुमति पाएको थियो । जसले डेन्टल सर्जनको सहयोगीको काम गर्थे । डा. बुद्धिमान भने डेन्टल हाइजिनिष्ट उत्पादन गर्ने लक्ष्य लिएर स्वदेश फर्किएका थिए । निरन्तर लागेपछि सन् २००० मा उनले सिटिइभिटीबाट डेन्टल हाइजिनिष्टको दुई वर्षे कोर्स पढाउने अनुमति पाए । सुरुमा यो कोर्सलाई पनि कम्युनिटी ओरल हाइजिनिष्ट भनिएको थियो । तर, पछि अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको बनाउनका लागि डेन्टल हाइजिनिष्ट भनियो । सन् २००५ मा नाममा ठूलो विवादपछि यो कोर्सलाई सर्टिफिकेट इन डेन्टल (डेन्टल हाइजिनिष्ट) नामसहित तीन वर्षे कोर्स बनाइयो ।

सन् २००५ मा डा. बुद्धिमानले पोखरामा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स स्थापना गरे । त्यसमा पनि ४० सिट सर्टिफिकेट इन डेन्टल (डेन्टल हाइजिनिष्ट) पढाइ सुरु भयो । पोखरामा डेन्टल हस्पिटल उनले पहिले नै स्थापना गरिसकेका थिए ।

उसो त सन् २००४ बाटै उनी बिडिएस अध्ययन गराउने कलेज खोल्ने तयारीमा थिए । त्यसका लागि भाडामा घर खोज्न थाले । तर, भाडाको घर खोज्दा उनले आफूले खोजेको जस्तो भेटाउन सकेनन् । त्यही कारण आफ्नै जग्गामा कलेजका लागि संरचना बनाउने पहल सुरु गरे । उनले वि.सं. बसुन्धरामा वि.सं. २०५९ सालमा ६ रोपनी २ आना जग्गा लिएका थिए । पछि १४ आना थपे । त्यसमा कलेज सुहाउँदो संरचना खाका कोर्न आर्किटेक्चरलाई भारतका केही कलेज भ्रमण गराए, जापान र चीनका डेन्टल कलेजका डिजाइन हेरे । धरान भ्रमण गरे । आफ्नै ७ रोपनी जग्गामा डेन्टल मेडिकल कलेजका लागि संरचना निर्माण गर्न लागे ।

सन् २००५ मा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर दर्ता गरे । ‘क्वालिटी डेन्टल एजुकेशन दिन सकिने कलेज खोलौं भन्ने लाग्यो,’ उनी भन्छन्, ‘जसले डेन्टल एडुकेसनलाई माथि लैजान सकियोस् ।’ त्यसपछि सम्बन्धनका लागि त्रिविमा गए । त्रिविले आफूसँग तीन वटा बिडिएस अध्यापन गराउने कलेज रहेकाले सम्बन्धन दिन इन्कार ग¥यो । त्यसछि डा. बुद्धिमान काडमाडौं विश्वविद्यालयसँग सम्बन्धन माग्न गए । केयुले पनि सुरुमा रुचि देखाएन् । शिक्षा मन्त्रालयमा आशयपत्र लिए, त्यसको नवीकरण गरे । वि.सं. २०६१ मा होटल सांग्रिलामा कलेजमा लगानी जुटाउन इन्भेष्टर समिट गराए । माओवादी द्वन्द्वलाई कारण देखाउँदैं लगानीकर्ताहरु लगानी गर्न तयार भएनन् ।

कोही लगानीकर्ता तयार नभएपनि कलेज खोल्नका लागि डा. प्रकाश भट्टराई, पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रलगायतले भने हौस्याएका थिए । डा. रवीन्द्रमान श्रेष्ठ., डा. विनोद आचार्य, डा. निरज पन्तलगायत चार जनालाई अगाडि राखेर डा. बुद्धिमान अगाडि बढे । टिम तयार पारेर डा. बुद्धिमान वीरगन्जमा रहेको सेन्टरमा प्रयाक्टिस गर्न पुगेका थिए । त्यही बेला प्रोजेक्टका लागि ऋण स्वीकृत गरेको एक बैंकले त्यो रद्ध गरिदियो । त्यही कारण उनको संरचना निर्माणको काम सात महिना रोकियो । उनको कलेज निर्माणका काम गरिरहेको कम्पनी युनाइटेड बिल्डर्सका मालिक शकुन्तलाल हिराचन र पूर्णलाल हिराचनले नआत्तिन आग्रह गरे । ‘त्यसपछि उहाँहरुले मलाई नविल बैंकमा लिएर जानुभयो,’ डा. बुद्धिमान भन्छन्, ‘नविलले लोन पत्यायो ।’ निर्माणको काम पुनः अगाडि बढ्यो ।

त्यसपछि डा. बुद्धिमानको टोली सम्बन्धनका लागि पुनः काठमाडौं विश्वविद्यालय गयो । सन् २००७ मा आइपुग्दा झण्डै डेन्टल हाइजिन पढाउन थालेको १० वर्ष र कम्युनिटी तहमा काम गरेको अनुभवका आधारमा डेन्टल मेडिकल कलेज खोल्न आफू युवाहरु लागेको कुरा केयुका तत्कालीन भिसी प्रा. डा. सुरेशराज शर्मालाई सुनाए । शर्माले सकारात्मक रुपमा लिए । त्यसपछि एक पटक कान्तिपुरको भौतिक संरचना हेर्नका लागि उनी काठमाडौंको बसुन्धरा आए ।

भौतिक संरचना हेरिसकेपछि डा. शर्माले धाप मार्दै भने, ‘बुद्धि यु ह्याभ डु अन्डरफूल जब ।’ त्यसपछि शर्माले कान्तिपुरले बनाएको संरचनामा काठमाडौं युनिभर्सिटी स्कुल अफ डेन्टीष्ट्री बनाउन प्रस्ताव गरे । त्यसमा डा. बुद्धिले धेरै सोचेविचार गरे । आफ्ना गुरु डा. मणिकरत्न ब्रजाचार्यको सहयोग बनाएको नाम नै नरहने भएपछि उनले त्यो प्रस्ताव मानेनन् । त्यतिबेला विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेन्टल पढाइ हुन्थ्यो । त्यसबाहेक युनिभर्सले मेडिकल कलेज भैरहवा, पिपुल्स डेन्टल कलेज र वीरगन्जमा एमबी केडिया डेन्टल कलेज एण्ड टिचिङ हस्पिटलमा बीडिएस अध्यापन भइरहेको थियो ।

बेसमेन्ट, ग्राउण्ड फ्लोर र फष्ट फ्लोर तयार पारेर सन् २००७ को नोभेम्बर १ मा नवनिर्मित संरचनाको पुजा गरे । अनेकन तनावका बीच एक्लै ठूलो संरचना तयार पारेर अगाडि बढिरहेका थिए ।

शिक्षा मन्त्रालयका एक हाइप्रोफाइल अधिकारीले पार्टीमा उनलाई हतोत्साहित पार्दै भने, ‘बुद्धिजी एक डेढ करोड खर्च नगरेर तपाईको एफिलियसन आउँलाजस्तो छैन ।’

डा. बुद्धिले पनि झोक्किदैं जवाफ फर्काए, ‘सर, म एक रुपैयाँ दिन्नँ । त्यति पैसा भयो भने म गाउँमा १०—२० वटा क्लिनिक खोलेर त्यहाँका जनतालाई सेवा पु¥याउँछु ।’

उनले हिम्मत हारेनन् । भाग्यवस सन् २००७ को नोभेम्बरको मध्यतिर नै उनको कलेजले केयुबाट सम्बन्धन पायो । ‘राम्रो सोचेपछि राम्रो हुन्छ भन्नेमा म विश्वास गर्छु,’ उनले भने, ‘मैले मुलुकका लागि राम्रो सोचेको थिए, मेरो लागि त राम्रो भइ नै हाल्थ्यो ।’ डिसेम्बरमा इन्ट्रान्स भयो । कान्तिपुर डेन्टलले ४० जना विद्यार्थीलाई बिडिएस पढाउन सुरु ग¥यो । पहिलो ब्याचका बिडिएसका विद्यार्थीको शुल्क १३ लाख रुपैयाँ थियो । १४ वर्षअघि १३ लाख रुपैयाँ लिएर बिडिएस पढाएको स्मरण गर्दै उनी अहिले २० लाख रुपैयाँ तोकेकोमा थकाइ लाग्ने अवस्था सिर्जना गरेको बताउँछन् । सन् २०१४ देखि एमडिएसको पढाइमा पनि कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सुरु भएको छ ।

कान्तिपुर डेन्टलले अहिले बिडिएसको १४ औं ब्याच पढाइरहेको छ । अहिलेसम्म यसले ४ सय हाराहारीमा डेन्टल सर्जन उत्पादन गरिसकेको छ । ‘अहिले ती डाक्टरहरु कोही विशेषज्ञ बनिसके,’ उनी भन्छन्, ‘कसैले पिएचडी गरे ।’ कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले एक सत्रमा बिडिएस ५० जना पढाउँछ भने १० वटा एमडिएसको कोटा छ । उनको सुरुकै प्रोजेक्ट कान्तिपुर स्कुल अफ डेन्टेष्ट्री ४० जना डेन्टल हाइजनिष्ट पढाउँछ । यस्तै, कान्तिपुर डेन्टल कलेजमा डेन्टल हाइजिनिष्टको ४० वटा कोटा छ । त्यहीअनुसार एक सत्रमा सबैगरी १ सय ३० जना विद्यार्थी काठमाडौंमै पढाउँछ । त्यसबाहेक पोखरामा रहेको कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्समा ४० जना डेन्टल हाइजिनिष्टको पढाइ हुन्छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग १ सय ५० डेन्टल चेयरको हस्पिटल छ । ‘चेयर काउण्ट गर्ने हो भने त यो नेपालको सबैभन्दा ठूलो अस्पताल हो,’ उनी भन्छन् । सरकारले बिडिएस अध्यापन गराउने १०० बेडको अस्पताल आफै बनाउनुपर्ने नियम बनाएपछि थप १८ आना जग्गा किनेर नयाँ अस्पताल बनाएको उनी बताउँछन् । अहिले कान्तिपुर डेन्टलले १ सय बेडको जनरल अस्पताल पनि सञ्चालनमा छ । ‘कान्तिपुर डेन्टलकै लागि चिनिने हो,’ उनी सुनाउँछन्, ‘तर, जनरल हस्पिटल छ भनेर मानिसहरुले पत्याउँदैनन् ।’ त्यसकारण जनरल हस्पिटल आफूले सोचेअनुरुप अगाडि बढन नसकेको उनी बताउँछन् । कान्तिपुर डेन्टलले सुन्दरवस्ती, सतुंगलमा क्लिनिक पनि चलाइरहेको छ ।

अहिले कान्तिपुर डेन्टलमा ३ सय हाराहारी जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । १०६ आना जग्गा, भौतिक पूर्वाधार, ब्राण्ड गरी कान्तिपुर डेन्टल ब्राण्ड अनुमानित अर्ब बढी पुगेको छ । ‘सरकारले बुझ्यो भने यो त नेशनको सम्पत्ति हो,’ डा. बुद्धि भन्छन्, ‘म नभएपछि अर्कोले चलाउने हो । यसबाट जनताले सेवा पाउने हो ।’ सेवाका हिसाबले पनि कान्तिपुर डेन्टल अग्रणीमै पर्छ । सामान्य अवस्थामा कान्तिपुरले आफ्ना सबै अस्पतालबाट दैनिक झण्डै ५ सयलाई सेवा दिन्थ्यो । अहिले कोभिड—१९ कारण यो संख्यामा केही कमी आएको डा. बुद्धिमान बताउँछन् । अहिले पनि कान्तिपुरको मुख्यालय रहेको बसुन्धरामै दैनिक डेढ सय हाराहारीमा बिरामी छन् ।

कान्तिपुर डेन्टलले मेडिसिन एण्ड रेडियोलोजी, कन्जरभेटिभ, ओरल एण्ड म्याग्जिलोफेसियल, पेरियोडेन्टोलोजी, ओरल म्याग्जिलोफेसियल, कम्युनिटी डेन्टेष्ट्री, अर्थोडोन्टीसलगायतका ९ वटा विभागबाट सेवा दिन्छ । काठमाडौंमा मात्रै ४५ जना विशेषज्ञ, १३ दन्त चिकित्सक काम गर्छन् । अहिले कान्तिपुरको क्षमता दैनिक ८ सय बिरामी हेर्न सक्नेछ । तर, बिरामी त्यति छैनन् । ‘बिमाले पनि दाँतलाई कभर गर्ने हो भने केही मात्रामा बिरामी बढ्छन्,’ उनी भन्छन्, ‘आरसिटी र दाँत निकाल्ने कुरा मात्रै पनि बिमाले कभर गर्ने हो भने केही बिरामी बढथे ।’ सरकारले बिमा सम्बन्धि सचेतना अभिवृद्धि र बिमाको दायरा बढाउनुपर्ने मत उनको छ । भिभिआईपी र भिआईपीहरुका लागि सेवा दिने छुट्टै कक्ष उनी बनाइरहेका छन् ।

१५ वटा डेन्टल कलेज रहेको नेपालमा डा. वुद्धिमानको भावि योजना के छ त ? भन्छन्, ‘यी कुनै पनि कलेजले नल्याएको मेसिनहरु मैले ल्याएको छु । सन् २०१४ मा नै मैले सिभिसिटी ल्याए, रुट केनल गर्दा माइक्रोस्कोपले हेर्ने प्रविधी हामीसँग छ । किनभने, यहाँ पढेका विद्यार्थी अमेरिका, युरोप सबैतिरका लागि फिट होउन ।’ अब स्क्यानर, सिएडीसिएम भित्र्याउने तयारी भइरहेको उनले बताए । फुल्ली डिजिटल डेन्टेष्ट्रीमा जाने, जिर्कोनियाको उत्पादन गर्ने, विद्यार्थीमार्फत जनतालाई सूसुचित गर्ने, कलेजको अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गर्ने, बाहिरको सीप भित्र्याउने, नेपालमा पहिलो टिएमजे क्लिनिक सञ्चालन गर्ने र नेपालमै अत्याधुनिक ल्याब बनाउने उनको भावि योजना छ ।


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ