२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप‘वात्सल्य’का ३२ वर्षीय युवा सिईओ प्रशान्त : २ हजार बढी नेपालीले पाए ‘सन्तान सुख’

‘वात्सल्य’का ३२ वर्षीय युवा सिईओ प्रशान्त : २ हजार बढी नेपालीले पाए ‘सन्तान सुख’

सवा १ करोडबाट सुरु व्यवसाय पाँच वर्षमै ५ करोडमा, ४० बढीलाई रोजगारी


चिटिक्क पहिरन । आकर्षण अनुहार । झट्ट हेर्दा सिनेमाको हिरोजस्तै देखिन्छन्,—प्रशान्त सुवेदी । बारा सिमराको मध्यम वर्गीय परिवारमा वि.सं. २०४६ सालमा जन्मिएका हुन्, उनी । हेटौडा एकेडेमीबाट वि.सं. २०६२ सालमा एसएलसी उत्तीर्ण गरेका उनी थप उच्च शिक्षाका लागि काठमाडौं आए । यहीबाट उनले दुई वर्षअघिमात्रै विजनेशमा माष्टर्स सकेका छन् ।

तर, प्रशान्त हिरो होइनन्, उनी फास्ट ग्रोइङ स्टार्टअप ‘वात्सल्य’का संस्थापक हुन् । स्नातक पढ्दैं जागिर थालेका उनमा सानैदेखि आफ्नै केही गर्ने हुटहुटी थियो । सन् २०१५ अगाडि प्रशान्त ग्राण्डी सिटी हस्पिटलमा जागिरे थिए । त्यही क्रममा ग्राण्डी सिटीले अत्याधुनिक प्रविधिमार्फत ‘इन–भीट्रो–फर्टिलाइजेशन’—आईभीएफ (श्रीमानको शुक्रकिट र श्रीमतीको डिम्ब लिएर एक माध्यमबाट फर्टिलाइजेशन गराउने प्रविधि) सेवा सुरु ग¥यो । उनले यसबारेमा नजिकबाट बुझ्ने अवसर पाए । भारतमा गएर पनि विभिन्न सहरमा निःसन्तानहरुका लागि बरदान मानिने आईभीएफ सेवाबारे बुझ्ने मौका पाए ।

महंगो शुल्कमा भारतका विभिन्न क्लिनिकहरुमा आईभीएफ सेवा लिइरहेका प्रशस्तै नेपाली भेटिए । प्रशान्तले सोचे नेपालमै स्टार्टअप चलाएर आईभीएफ सेवा दिन सकिए धेरै नेपालीहरु स्वदेशमै लाभान्वित हुन्थे । ‘त्यसबेला मलाई भरपर्दो आईभीएफ नभएर अन्यत्र नेपाली बिरामीहरु धाउनु परेको महसुस भयो,’ उनले भने, ‘नेपालमा नै यो सेवा अति आवश्यक छ भन्ने लाग्यो ।’ त्यो बेला ओम अस्पताल, ग्रान्डी सिटीलगायतका सिमित संस्थाले मात्रै आईभीएफ सेवा दिन्थे । भारत भ्रमणका क्रममा उनमा त्यहाँ झाँगिरहेको ‘स्टार्टअप कल्चर’को समेत गहिरो प्रभाव परेको थियो ।

आईभीएफमै केही गर्ने सोच बनाए । सस्तो शुल्कमा यो सेवा नेपालमै सुरु गर्दा धेरै लाभान्वित हुन्थे । उनले आईभीएफका नयाँ प्रविधिबारेमा अध्ययन गर्ने योजना बनाए । विदेशका धेरै प्रयोगशालाहरुमा गएर हेरे, धेरै क्लिनिकहरु घुमे । त्यसपछि अत्याधुनिक प्रविधीसहित व्यवसायिक रुपमा आईभीएफ सेवा नेपालमै अगाडि बढाउने निष्कर्षमा पुगे ।

सन् २०१५ मा त्यसका लागि संस्थागत योजनावद्ध प्रयासहरु अगाडि बढाइए । भारतको नयाँदिल्लीस्थित एक अभ्य फर्टिलिटीसँग सहकार्य भयो । नयाँ प्रविधि भित्र्याउने, चिकित्सक र अन्य जनशक्ति तालिम दिने कामहरु अगाडि बढाए । ‘यहाँ इम्ब्रोलोजिष्ट पाउनै ग्राहो छ,’ ३२ वर्षीय वात्सल्यका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रशान्त भन्छन्, ‘छदै छैन भने पनि हुन्छ । चिकित्सकहरु तालिम लिएका नै छन् । तर, उचित ढंगबाट गर्ने निकै कम थिए । त्यसैले हामीले तालिम दिनेहरु कुरा दिल्लीबाट गर्न सजिलो भयो ।’ उद्यमी बन्न वात्सल्यको काम अगाडि बढाउँदा उनी २५ वर्षका मात्रै थिए, उनले जागिरबाटै बचाएको पैसाबाट लगानी गरेका हुन् ।

राम्रो उपकरणहरु ल्याए, योग्य चिकित्सक र इम्ब्रोलोजिष्ट व्यवस्थापन भयो । नेपालमा जनशक्तिको अभाव भएकाले सुरुमा भारतबाट नै इम्ब्रोलोजिष्ट ल्याए । सबै तयारी सक्न दुई वर्ष लाग्यो । सन् २०१७ मा वात्सल्यले आईभीएफ सेवा दिन थाल्यो । सेवा थाल्दा १ जना चिकित्सकसहित ५—६ जना कर्मचारीका साथ वात्सल्यको यात्रा अगाडि बढेको थियो । मेसिनहरु केही महंगो परेकाले सुरुमै सवा १ करोडको लगानी भयो । स्टार्टअपका रुपमा वात्सल्य सुरु गर्ने प्रशान्त म्यानेजमेन्ट ब्याकग्राउण्डका थिए । तापनि, युवा आँट र व्यवस्थित योजनाका कारण फरक क्षेत्रमै भएपनि वात्सल्य यात्रा गतिमा अगाडि बढ्यो ।

‘वात्सल्यको अर्थ आमाको ममता हो,’ प्रशान्त नाम छनोटबारे भन्छन्, ‘त्यसैले हामीले हाम्रो स्टार्टअपको नाम ‘वात्सल्य’ राख्यौं ।’ नक्साल नारायण चौरस्थित एक भवनको एक फ्लोरबाट वात्सल्यको सेवा दिन थाल्यो । सुरुवाती दिनहरुमा आईभीएफ सेवाबारे बुझाउनै हम्मे परेको अनुभव उनको छ । उनकाअनुसार नेपालमा बच्चा भैरहेको छैन्, कारण के हो उपचार हुन्छ कि हुँदैन भन्ने कुरा दम्पतीलाई नै थाहा नहुँदा समस्या परिरहेको छ । त्यसपछि वात्सल्यले आईभीएफका बारेमा जनचेतना जगाउने अभियान सुरु ग¥यो । ‘पाठेघरको नली ब्लक भएकाहरुको लागि उत्कृष्ट समाधान हो—आईभीएफ,’ उनी भन्छन्, ‘तर, मानिसहरुलाई थाहा थिएन । अहिले पनि धेरैलाई यसबारेमा थाहा छैन ।’

अहिले वात्सल्यले सेवा दिन थालेको ५ वर्ष पुगेको छ । यो बीच यसले आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्दै लगेको छ । इन्ट्रा साइटोपोलस्मीक स्र्पम इन्जेक्स ‘एक्सी’ भन्ने प्रविधी नेपाल भित्र्याएको छ, जुन मेसिनको मद्दतले फर्टिलाइजेसन गराउने आधुनिक प्रविधि हो । ‘लेजर एसिस्टेड ह्याचिङ’को सेवा पनि वात्सल्यले दिन थालेको छ, जुन उमेर नाघिसकेका महिलाहरुको लागि उपयोगी मानिन्छ । ‘हामीले स–साना कुराहरु तर नयाँ कुरा गर्दै गयौं,’ प्रशान्त भन्छन्, ‘हामीले सुरुवातबाट नै अब्बल तरिकाबाट सेवा दियौं । उत्कृष्ट उपकरणहरु भित्र्यायौं ।’

अब्बल व्यवस्थापन, निरन्तर मेहनत र नयाँ प्रविधी भित्र्याएको परिणाम नै मान्नुपर्छ, सुरुवाती दिनमा २—४ जना बिरामी सेवा सुरु गरेको वात्सल्यमा अहिले दैनिक ६०/७० जनाले सेवा लिन्छन् । ‘हामीले ७० प्रतिशतसम्म सफलता पाएका छौं, जुन उत्कृष्ट नै हो,’ प्रशान्त दावी गर्छन् । अहिलेसम्म वात्सल्यको उपचारबाट २ हजारभन्दा बढीले सन्तान सुख प्राप्त गरिसकेका छन् ।

‘सबैलाई आईभीएफको उपचार चाहिन्छ भन्ने होइन्, अरु पद्धतिबाट पनि उपचार गर्छौं,’ उनी भन्छन्, ‘हामी प्राकृतिक रुपमा पनि उपचार गर्छौं । बिरामीको अवस्था हेरेर हामी उपचारको प्रक्रिया अगाडि बढाउँछौँ ।’ आईभीएफको उपचार प्रक्रिया झण्डै २ महिना लामो हुने उनले बताए । बिरामी धेरै समय काठमाडौंमा स्टे गर्न गाह्रो पर्ने भएपछि वात्सल्यले दुई वर्षअघिबाट नेपालगन्जबाट पनि सेवा दिन थालेको छ ।

६ जनाजति स्टाफबाट सुरु भएको वात्सल्यमा अहिले ४० जनाभन्दा बढी कर्मचारी कार्यरत छन् । फुलटाइम तीन जना विशेषज्ञ चिकित्सक भने ४ जना अन्य चिकित्सक आवद्ध छन् । आईभीएफ सेवाका लागि मात्रै चार जना विशेषज्ञ चिकित्सकहरु छन् । सवा १ करोड लगानीबाट सुरु भएको वात्सल्य अहिले झण्डै ५ करोड हाराहारीमा पुगेको छ । एक फ्लोरबाट सेवा दिन वात्सल्य तीन फ्लोरमा फैलिएको छ ।

धेरै क्लिनिकहरु खुलेका भएपनि अझै पनि नेपालीहरु आईभीएफ सेवालाई स्वभाविक रुपमा नलिने गरेको अनुभव उनको छ । ‘आईभीएफलाई अन्तिम विकल्पको रुपमा मात्रै लिने गर्छन्,’ प्रशान्त सुनाउँछन्, ‘जसका कारण यहाँ आउँदा कतिपयका हकमा ढिला पनि भैसकेको हुन्छ ।’ अहिले आईभीएफ सेवाका लागि ३५ वर्षभन्दा बढी उमेरका दम्पत्तिहरु धेरै आउने गरेको उनले बताए । बाँझोपनको समस्या विकराल रहेकाले काउन्सलिङ हुन निकै जरुरी देखेका छन् । बाँझोपनको समस्याका कारण महिला हिंसा, घरेलु हिंसा, बहुविवाहजस्ता समस्या नेपाली महिलाले भोग्नु परिरहेको छ ।

नेपालमा आईभीएफ सेवाको राम्रो सम्भावना छ । ‘नेपालमै यस्तो प्रविधि ल्याउनु हाम्रो लागि एक अवसर नै हो,’ उनले भने, ‘तर, यससँगै चुनौती पनि छ ।’ अहिले पनि आईभीएफ सेवा सम्बन्धि नीतिगत कामहरु हुनै सकेका छैनन् । मापदण्ड तयार हुन सकेको छैन । प्रशान्त यसबारेमा सम्बन्धित निकायको पटक—पटक ध्यानाकर्षण गराएको बताउँछन् । तर, तालुकदार निकायले यसमा ढिलासुस्ती गरिरहेको छ । यसबाहेक जनशक्तिको अभाव, उपकरण र औषधीहरु आयातमा समस्या, सप्लायर्सहरुको अभावजस्ता समस्या खेप्नु परेको उनले बताए ।

पाँच वर्षमा एउटा उचाइमा पुगेको वात्सल्यलाई प्रशान्त भविष्यमा अझै विस्तार गर्ने र बलियो बनाउने योजनामा छन् । ‘अमेरिकामा रोवर्टबाट यो सेवा दिन सुरु भैसकेको छ । मेसिनबाट फर्टिलाइजेशनमा जाने सुविधा छ,’ उनी भविष्यको योजनाबारे भन्छन्, ‘अर्को वर्ष हामीले त्यो सेवा भित्र्याउने लक्ष्य राखेका छौं । नयाँ प्रविधि ल्याउने योजना छ ।’ त्यसबाहेक केही वर्षमै वात्सल्यको आफ्नै भवन बनाउने सपना पनि उनको छ ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #आईभीएफ, #प्रशान्त सुवेदी, #वात्सल्य, #संस्थापक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ