२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपसेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’

सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’


डा. अनिलकुमार भट्ट कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट एण्ड एस्थेटिसियन हुन् । कुमारीपाटीस्थित डर्म डाइनामिक्स हेयर एण्ड लेजर क्लिनिकका सञ्चालक यी कस्मेटिक सर्जन पछिल्लो समय चल्तीका सेलिब्रेटीको रोजाइका सौन्दर्यविज्ञमा पर्छन् । ३८ वर्षीय यी युवा चिकित्सकले नेपालका कहलिएका सेलिब्रेटीको सुन्दरतामा निखारता थप्ने काम गरिरहेका छन् । सेलिब्रेटीका मात्र होइन्, मन्त्रीदेखि हाइप्रोफाइलसम्मको सुन्दरता बढाउन तल्लीन छन्, डा. अनिल ।

सुदूरपश्चिमको डोटीमा जन्मिएका डा. भट्टले चीनको चाइना थ्री गोर्जेज युनिभर्सिटीबाट एमबीबीएस गरेका हुन् । उनी परिवारको बसोबास हाल कैलालीको धनगढीमा छ । एमबीबीएस सकेर स्वदेश फर्किएपछि उनले केही समय सरकारी सेवामा जागिर गरे । त्यसक्रममा कैलाली र झापामा स्वास्थ्य सेवा दिए ।

त्यो जागिर छाडेरपछि उनी सामान्य प्रशासन मन्त्रालय मातहतको सिभिल सर्भिस हस्पिटलको जागिरे भए । सिभिल सर्भिस अस्पतालकै जागिर रहेका बेला उनले छात्रवृत्ति अवसर पाए । थाइल्याण्डस्थित इन्टिच्युट अफ डर्माटोलोजीबाट पोष्ट ग्राजुयसन गरे । उनी सन् २०१२ मा स्वदेश फर्किए । त्यहाँबाट फर्केपछि उनी पुनः सिभिल अस्पतालमै काम गर्न थाले ।

८ महिना काम गरेपछि उनले सन् २०१२ मा एमडी सरकारी जागिरकै शिलशिलामा उनले छात्रवृत्तिमै एमडी गर्ने अवसर पाए । उनले एमडीको छात्रवृत्ति पाएपछि सरकारी जागिर वाइवाइ गरेर त्यसका लागि चीन गए । टोन्जीइ युनिभर्सिटी, संघाई, चाइनाबाट डर्माटोलोजी एमडी सके । लगतै, पिएचडी छात्रवृत्ति पाएपछि त्यही युनिभर्सिटीमा पिएचडी पढ्न थाले । सन् २०१८ मा पिएचडी सकेपछि डा. भट्ट नेपाल आए ।

नेपाल फर्केपछि उनले नयाँबानेश्वरस्थित ‘लेट मी इन’मा काम गरे । साढे दुई वर्ष त्यहाँ काम गरेपछि उनमा आफ्नै क्लिनिक खोल्ने रुचि जाग्यो । सौन्दर्यप्रति बढी रुचि भएका डा. भट्टको मनमा जागिर गर्दागर्दै डर्म डाइनामिक्सको कन्सेप्ट जन्मियो । त्यही कारण उनी जागिर छोडेर रिस्क उठाउन तयार भए । भन्छन्, ‘मैले लकडाउनकै बीचमा रिस्क लिए ।’ त्यसका लागि बल दिने काम उनलाई आफ्नो ट्रिटमेन्ट लेभल, ग्राहकसँगको पिआर, हाइप्रोफाइल र सेलिब्रेटीसँग रिलेसनले गरेको हो ।

‘डर्म डयानामिक्स आफ्नै केही गरौं भन्ने उद्देश्यले सुरु गरेको हुँ,’ हालै अत्याधुनिक क्लिनिकमा हेल्थआवाजसँगको कुराकानीमा उनले सुनाए, ‘काम गर्दागर्दै केही आफ्नै गर्नुपर्ने सोच आयो । अरुलाई कमाएर दिनुभन्दा बरु थोरै कमाएर आफ्नै केही बनाऔं भन्ने लागेर यो क्लिनिक खोले ।’ कुमारीपाटी डर्म डयानामिक्स हेयर एण्ड लेजर क्लिनिकमा उनले २ करोड बढी लगानी गरेका छन् । झण्डै १ करोड त उनले अत्याधुनिक मेसिन खरिदमा मात्रै खर्च गरेका छन् ।

३ साउनबाट सञ्चालनमा आएको डर्म डाइनामिक्समा अहिले १२ जनाले काम गरिरहेका छन् । क्लिनिकबाट सेवा लिनेको संख्या १ हजार बढी पुगिसकेको छ । झण्डै पाँच महिना नबित्दै उनको क्लिनिकले अपरेटिङ कष्ट उठाउन थालिसकेको छ । यसले उनीमाथि प्रेसर पनि कम भएको छ ।

अहिले डा. भट्टको क्लिनिकले छाला सम्बन्धी सबै सेवाहरु दिन्छ । ‘एस्थेस्टीकमा म बढी फोकस छु,’ उनले भने, ‘रिंकल हटाउने, फेसको सेप मिलाउने, नाकको सेप मिलाउने, गालाको सेप मिलाउने, ओठ मिलाउने, अनुहारमा गोलो ल्याउनेलगायतका सबै सेवाहरु हामीले दिन्छौं । अहिले धेरैजसो सौन्दर्यका लागि सेलिब्रेटीहरु आउनुहुन्छ ।’ क्लिनिकले लेजर ट्रिटमेन्टमा पनि प्रायजसो धेरै सेवाहरु उपलब्ध गराइरहेको छ । जसमा शरीरमा रहेका अनावश्यक रौंहरु हटाउने, कोठी र टाटु हटाउने, मुसाहरु हटाउने, चायापोतो फाल्नेलगायतका सेवाहरु उपलब्ध छन् । यस्तै, ब्रेस्ट ठूलो बनाउने, भजाइना टाइट गराउने, योनीको सेप मिलाउनेलगायतका सेवाहरु पनि उनको क्लिनिकले दिइरहेको छ । हेयर फल रोक्ने, हेयर ट्रान्सप्लान्टलगायतका हेयर सम्बन्धि सेवाहरु पनि क्लिनिकमा छन् ।

डा. भट्ट अहिले डर्म डाइनामिक्स सुरुवाती चरण रहेकाले यसलाई बलियो बनाउन चाहन्छन् । बलियो बनाएपछि एकेडेमीका रुपमा विकास गर्ने उनको रहर छ । ‘यहाँका चिकित्सकहरु वा विदेशका चिकित्सकहरुका लागि केही सर्टटर्म कोर्सहरु सञ्चालन गर्ने रहर छ,’ उनले सुनाए, ‘सौन्दर्यका लागि केही योगदान गर्ने मन छ ।’ थाइल्याण्डमा एस्थेटिकको कोर्स पढेकाले उनी त्यहाँको युवा देखिन, आकर्षक देखिन र सुन्दर हुन चाहने संस्कृतिसँग नजिकिन पुगे । दक्षिण कोरियामा तालिम लिँदा पनि उनले त्यही पाए ।

‘पहिले सुन्दरताप्रति त्यति चासो थिएन्,’ उनी सुनाउँछन्, ‘अहिले नेपालमा पनि सुन्दरताप्रति चासो बढेको छ । सौन्दर्य निखारै भन्ने सोच हुनु स्वभाविक पनि हो ।’ चीन, थाइल्याण्ड र दक्षिण कोरियामा बस्दा उनले सौन्दर्यको एडभान्स ट्रिटमेन्टबारे ज्ञान हासिल गर्ने अवसर पाए । त्यही ज्ञानलाई नेपालीहरुको अनुहार चम्काउनमा खर्चिने उनको सोच छ ।


क्याटेगोरी : मेरो स्टार्टअप, सौन्दर्य स्वास्थ्य
ट्याग : #इन्टिच्युट अफ डर्माटोलोजी, #एस्थेटिसियन, #चाइना थ्री गोर्जेज युनिभर्सिटी, #डर्माटोलोजिष्ट, #डा. अनिलकुमार भट्ट, #लेट मी इन, #सिभिल सर्भिस हस्पिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ