२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपडा. प्रकाशको कमाण्डमा ६ वर्षमा नेपाल नेशनलको छलाङ, १०० विशेषज्ञ चिकित्सकले दिन्छन् सेवा

डा. प्रकाशको कमाण्डमा ६ वर्षमा नेपाल नेशनलको छलाङ, १०० विशेषज्ञ चिकित्सकले दिन्छन् सेवा


डा. प्रकाश पौडेल कलंकीका स्थानीय वासिन्दा हुन् । सानैदेखि उनी उद्यममा विश्वास राख्थे । जागिर गर्नुभन्दा आफ्नै उद्यमशीलतामा सुरु गर्नुपर्छ भन्ने सोच उनमा थियो । ‘अरुलाई जागिर दिन सकियोस् भन्ने लाग्थ्यो,’ उनी भन्छन् । पढाइ पनि अब्बल भएकाले उनी डाक्टरी पढ्न थाले । त्यही क्रममा एमबीबीएस सकेपछि उनी विशेषज्ञता हासिल गर्न चीन गए ।

सन् २०१४ मा चीनबाट विशेषज्ञता हासिल गरेर फर्किए । एक वर्ष केही अस्पतालहरुमा काम गरे । सो क्रममा मेडिकल प्राक्टिससँगै अस्पतालहरुको व्यवस्थापन पनि नजिकैबाट नियाल्ने मौका पाए । यही सिलसिलामा एकदिन उनी कलंकीमा अहिलेको ‘नेपाल नेशनल हस्पिटल’ रहेको ठाउँमा सञ्चालन भइरहेको अस्पतालमा पुगे । ‘एकदिन आएर यहाँका पूर्वाधारहरु हेर्दा मैले सोचेको अवधारणाअनुसारको अस्पताल बन्न सक्छ भन्ने लाग्यो,’ उनले नेशनल हस्पिटल स्थापनाको किस्सा सुनाए, ‘त्यसपछि सन् २०१५ मा मैले उक्त हस्पिटल टेकओभर गर्ने निर्णय गरे ।’

कलंकी चोकमा अहिलेको नेपाल नेशनल हस्पिटल रहेको ठाउँमा त्यसअघि पनि २५ शैय्याको हस्पिटल सञ्चालनमा थियो । आईसीयुको सुविधासमेत रहेको उक्त हस्पिटल राम्रो व्यवस्थापन नहुँदा त्यतिकै घिसिपिटी अवस्थामा चलिरहेको थियो । डा. प्रकाशलाई त्यो हस्पिटललाई राम्रो हस्पिटलका रुपमा विकास गर्न सकिन्छ भन्ने लाग्यो । त्यही कारण उनले त्यो हस्पिटलको व्यवस्थापन टेकओभर गरेर ‘नेपाल नेशनल हस्पिटल’मा रुपान्तरण गरे ।

अस्पतालका लागि कलंकी नै रोज्नु कारण के थियो ? यसमा तीन वटा मुख्य कारण रहेको डा. प्रकाश बताउँछन् । पहिलो, उनलाई कलंकी क्षेत्रमा नै स्तरीय स्वास्थ्य संस्थाको अभाव महसुुस भइरहेको थियो । दोस्रो, इमर्जेन्सीमा कलंकी आसपासका मानिसहरुले टाढा पुग्नुपर्ने बाध्यता थियो । तेस्रो, काठमाडौं भित्र्ने मुख्य चोक भएकाले राजमार्गका ट्रमा केसहरुले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । यिनै तीन कुरा थिए, जसले उनलाई कलंकीमै नेपाल नेशनल हस्पिटल स्थापना गर्न प्रेरित गरेको थियो ।

‘५६ जिल्लाभन्दा बढीका बासिन्दाहरु काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्यद्वार यही भएकोले पनि यहाँ स्तरीय स्वास्थ्य संस्था स्थापना गरेको हुँ,’ उनले हालैको एक मध्यान्ह हेल्थआवाजसँग भने, ‘त्यसबाहेक टाढाबाट यहाँ आइपुग्न निकै टाइम लाग्ने र यहाँ जामको समस्याले काठमाडौं पुग्न पनि समय लाग्ने हुँदा सडक दुर्घटना हुँदा पनि तुरुन्तै बिरामी लानको लागि सजिलो हुने र यसले जोखिम न्यूनीकरण भएर धेरै ज्यान बचाउन सकिने भएकाले उच्चस्तरीय अस्पताल सुरु गरिएको हो ।’ त्यसबाहेक आसापासका क्षेत्रमा गुणस्तरीय सुविधासहितको विशेषज्ञ स्वास्थ्य सेवा दिन पनि उनले नेपाल नेशनल हस्पिटल स्थापना गरेको बताए ।

अस्पताल स्थापनाको सुरुवाती यात्रा डा. प्रकाशका लागि उति सहज थिएन । साथीभाइबाट समेत उनले अपेक्षीकृत सहयोग पाएका थिएनन् । ‘परिवारलाई मैले गर्नुपर्छ, विश्वस्त छु भनेर सुनाए,’ उनले भने, ‘परिवारको विश्वासको बलमा मैले एक्लै नेपाल नेशनल हस्पिटल स्थापना गर्ने आँट गरेको हुँ ।’ सुरुमा झण्डै १० करोड रुपैयाँ लगानी गरेर उनले अस्पतालको व्यवस्थापन लिएका हुन् । सुरुमै ६७ जना फुलटाइम चिकित्सकसहित कर्मचारी हायर गरे । सुरुका दिनहरु अस्पतालका छाप बदल्नका लागि निकै मेहनत गर्नुप¥यो । अस्पतालले बिरामीको विश्वास जित्न पनि निकै गाह्रो भयो । ‘पहिला ६—७ जना बिरामी आउँदा पनि खुशी हुनुपर्ने अवस्था थियो,’ डा. प्रकाश अस्पतालका सुरुवाती दिनहरु स्मरण गर्छन् । त्यसबाहेक प्रशासनिक झमेलाहरु बढी थिए । कतिपय अवस्थामा अस्पतालले अगाडि बढाउन खोजेका काममा समेत अवरोध झेल्नुप¥यो । बिरामी संख्या कम हुँदा त्यसको असर अस्पतालको आयआर्जनमा देखिन थाल्यो । जसका कारण ६७ जनालाई पारिश्रमिक दिनसमेत हम्मे पर्ने अवस्था सिर्जना भएको अनुभव उनको छ ।

‘साढे दुई वर्ष जति निकै गाह्रो भयो । मैले पैसाभन्दा पनि राम्रो स्वास्थ्य संस्था चलाउने प्रयास गरे,’ डा. प्रकाश भन्छन्, ‘त्यही हिसाबले गुणस्तरीय सेवा दिदैं गयौं ।’ उद्यममा रुचि भएका डा. प्रकाशले विस्तारै आफ्नो डाक्टरीसँगै व्यवस्थापकीय स्कील पनि देखाउँदैं गए । त्यही स्कीलको कारण विस्तारै नेपाल नेशनल हस्पिटल राम्रो हुँदैं भयो । डा. प्रकाशसँग क्रमसः उनका साथीभाइहरु पनि जोडिए । भाडाको जग्गा र भवन भएपनि अस्पतालले गति लिन थाल्यो । अस्पतालमा उपलब्ध शैय्या, आईसीयुको सुविधासम्पन्न व्यवस्थापन गरे । विशेषज्ञ चिकित्सकहरु थपेर सेवाहरुमा व्यापक वृद्धि गरे ।

परिणाम नै मान्नुपर्छ, अहिले नेपाल नेशनल हस्पिटलमा ओपीडीमा नै दैनिक बिरामी संख्या १ सय बढी छ । १ सय ७० जना फुलटाइम कर्मचारी कार्यरत छन् भने फुलटाइम र पार्टटाइम गरी १ सय विशेषज्ञ चिकित्सकले अस्पतालमा सेवा दिन्छन् । ‘१२ जना त आफ्नै फुलटाइम कन्सल्ट्यान्ट चिकित्सकहरु हुनुहुन्छ,’ डा. प्रकाश सुनाउँछन्, ‘अहिले हामी राम्रै स्वास्थ्य संस्था भइसकेका छौं ।’ अस्पतालले २५ बेडको स्विकृती भएपनि सय बेडको पूर्वाधार विकास गरेको उनी बताउँछन् । एक सय शैय्याको स्वीकृती लिने प्रक्रिया पनि अस्पतालले अगाडि बढाइसकेको छ । उनकाअनुसार नेपाल नेशनल अस्पतालले अन्तर्राष्ट्रियस्तरको ट्रमा सेन्टर अवधारणाअनुरुप १२ शैय्याको इमर्जेन्सी सेवा अर्को महिनाबाट सुरु गर्ने तयारी गरेको छ ।

नेपाल नेशनल अस्पतालले सबै किसिमका सेवाहरु प्रदान गर्दै आएको छ । ‘सामान्य सेवादेखि आईसीयू, पीआईसीयु, एनआईसीयु, कार्डियाकबाहेकका सबै सर्जरीहरु, दुरविन पद्दति हुने सर्जरी पनि उपलब्ध छ,’ अस्पतालमा मेडिकल निर्देशकसमेत रहेका डा. प्रकाशले भने, ‘त्यस्तै, अर्थोपेडिकका सम्पूर्ण सर्जरी, पेडियाट्रिक सर्जरी पनि छ । डायलाइसिस पनि छ ।’ अहिले अस्पतालमा लगभग एउटा सुविधासम्पन्न अस्पताललाई चाहिने सबै सुविधा छ । ‘म आफै क्रिटिकल केसको एक्सपर्ट भएको हुँदा यसमा मेरो लगाव छ । आईसीयुमा म आफै पनि हेर्ने गर्छु,’ डा. प्रकाश पछिल्लो ६ वर्षमा अस्पतालले हासिल गरेको उपलब्धि सुनाउँदा प्रफुल्ल देखिएँ, ‘अहिले काठमाडौँको राम्रो क्रिटिकल केयर भएको अस्पतालको रुपमा नेपाल नेशनल हस्पिटल चिनिन्छ ।’

छोटो समयमै ठूलो उपलब्धि हासिल गरेपछि अब डा. प्रकाशको लक्ष्य भविष्यमा अस्पताललाई राम्रो एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्नेछ । ‘सजिलो छैन तर असम्भव पनि छैन्,’ उनी आत्मविश्वासी सुनिए, ‘सुरुवातमा सय बेड अस्पताल बनाउने योजना छ । अब आफै जग्गा लिएर आफ्नै भवन निर्माण कार्यमा पनि लागिरहेका छौँ ।’ उनकाअनुसार नर्सिङ कलेज हुँदै मेडिकल इन्स्टिच्युट जाने लक्ष्यअनुसार काम भइरहेको छ । ‘यात्रा कठिन त छ,’ कुराकानीको बिट मार्नुअघि उनले भने, ‘तर, असम्भव छैन । हामी हाम्रो लक्ष्यमा अगाडि बढिरहेका छौं ।’


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ