२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप‘क्लिनिक वान’को ७ वर्षे उडान : १५ जनाबाट १ सय जनालाई रोजगारी

‘क्लिनिक वान’को ७ वर्षे उडान : १५ जनाबाट १ सय जनालाई रोजगारी


७ वर्षअघि डा. प्रज्जवल ढुंगेल, सन्तोष पौडेल, रघुविक्रम राना, प्रसन्न ढुंगेल ४ जना साथीहरु मिलेर एउटा गुणस्तरीय क्लिनिक खोल्ने योजना बनाए । डा. प्रज्जवल अमेरिकामा थिए, त्यहीको शैलीमा सुविधाजनक अत्याधुनिक क्लिनिक खोल्ने उनको सोचमा अन्य साथीहरु जोडिएका थिए ।

नेपालमा त्यतिबेलासम्म प्रायःजसो क्लिनिकहरु फार्मेसीको पछाडिपट्टी पर्दा हालेर सञ्चालन गरिएका हुन्थे । केही स्कीन र डेन्टल क्लिनिक मात्रै कर्पोरेट टाइप हुन्थे । उनीहरुको टिम यो ट्रेण्डमा परिवर्तन चाहन्थ्यो । त्यसैले उनीहरुले जावलाखेलस्थित कर्पोरेट भवन नोरखाङ कम्प्लेक्समा २ हजार स्क्वायर फिट भाडामा लिए ।

०७२ सालको महाभूकम्पपछि क्लिनिकको सेटअप सकियो । क्लिनिकको नाम राखे—‘क्लिनिक वान’ । ‘बिरामीलाई सुविधायुक्त गुणस्तरीय क्लिनिक चाहिन्छ भन्ने सोच थियो,’ क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष भन्छन्, ‘त्यतिबेला राम्रो लगानी गरेर कर्पोरेट भवनमा जनरल क्लिनिक खोल्ने कमैमा  आँट थियो ।’

तर, सन्तोष र उनको टिमले त्यो आँट गरेर क्लिनिक स्थापनाको काम अगाडि बढायो । बिरामीका लागि सहज, सुविधायुक्त वातावरणमा बस्न सक्ने गरी क्लिनिकको सेटअप तयार पारियो । त्यसबोहक फराकिलो ठाउँ, अत्याधुनिक सेटअप, डाक्टरलाई कुर्न नपर्ने वातावरण, बिरामीलाई प्रशस्त समय, हाइजिन मेन्टेनजस्ता कुराहरुलाई यो टिमले क्लिनिकको विशेषता बनायो । बेड सिटदेखि हरेक कुरामा नवीनतम प्रयोगहरु क्लिनिक वानमा सुरु भए । यो सबैमा झण्डै ३ करोड रुपैयाँ खर्च भयो ।

मिड करिअर भएका युवा चिकित्सकहरुको टिम बनाए । जसले बिरामीलाई प्रशस्त समय दिन थाले । ‘अहिले बिरामीहरु यति चेतनशील भइसक्नुभयो । डाक्टरले बिरामी कुर्ने अवस्था छ,’ सन्तोष थप्छन्, ‘पहिला जस्तो डाक्टरले जे भन्यो त्यही बिरामीले नगर्ने समय छ । धेरै कुराहरु परिवर्तन भएका छन् । हामीले ती सबै परिवर्तनहरु समेटेर क्लिनिक अगाडि बढायौं ।’

डा. महेश दाहालले क्लिनिक वानको सुरुवाती दिनमा निकै सहयोग गरे । ७ वर्षअघि २ जना बिरामीबाट क्लिनिकको सेवा अगाडि बढाइएको सन्तोषलाई हिजैजस्तो लाग्छ । त्यो बेला बिरामीभन्दा बढी ७ जना डाक्टरसमेत गरी १५ जना कर्मचारी थिए । उनीहरु दुई सिफ्टमा काम गर्थे ।

क्लिनिक वान अर्को कन्सेप्ट डाक्टरले बिरामी ल्याउने, उपचार गर्ने र क्लिनिकको व्यवस्थापनमात्रै क्लिनिक वानले हेर्ने थियो । त्यसवापत डाक्टरलाई दिनुपर्ने पैसा दिएर बचेको १०/२० प्रतिशत क्लिनिक वानले राख्ने भन्ने थियो । ‘बाहिर लजिस्टीक कुरा व्यवस्थापन गर्न धेरै गाह्रो हुन्छ । डाक्टरले टाइम बुक गरेर उपचार गर्न सहज हुन्छ,’ सन्तोष भन्छन्, ‘तर, यो कन्सेप्ट फलप भयो ।’ त्यही कारण तीन वर्षसम्म क्लिनिक वानलाई दैनिक अपरेटिङ खर्च धान्नसमेत मुस्किल भयो ।

तीन वर्षसम्म खर्च धान्न मुस्किल परेपछि क्लिनिक वान टिम एक चरणमा क्लिनिक बन्द गर्नुपर्छ कि भन्नेतिर पनि नपुगेको होइन् । तर, उनीहरुको टिमले धैर्यता गुमाएन् । क्लिनिक वान टिमलाई धैर्यको डोरी बाँध्ने काम भने उनीहरुले आफूले सोचेको ‘नयाँ कन्सेप्ट’ले गरिरहेको थियो । ‘एकदिन न एकदिन चल्छ भन्ने टिमलाई विश्वास थियो,’ सन्तोषले अगाडि भने, ‘आर्थिक अभावका बीच ३ वर्षपछि बल्ल मेहनतको नतिजा देखिन थाल्यो ।’

क्लिनिक वानमा आएका बिरामीले नै क्लिनिकको सेवाबारेमा प्रचार गर्न थाले । यसले क्रमसः क्लिनिक वानमा बिरामीको संख्या थपिदैं गयो । बिरामीलाई प्रशस्त समय दिएर हेर्ने, चिनिएका डाक्टर भएपछि विस्तारै क्लिनिकले गति लियो । कर्पोरेट हाउसले पनि विश्वास गर्न थाले । कर्पोरेट हाउस र गैरसरकारी संस्थाहरुले समेत स्वास्थ्य सम्बन्धि सेवाहरु लिन थाले ।

त्यसपछि क्लिनिक वानले सेवाहरु थप्दै गयो । ‘बिरामी हुनुभन्दा अघिको स्वास्थ्यमा हामी बढी केन्द्रित भयौं,’ सन्तोष भन्छन्, ‘सर्भिकल क्यान्सर, स्तन क्यान्सर, वार्षिक स्वास्थ्य जाँच, रुटिन खोप, मानसिक स्वास्थ्यजस्ता कुरामा बढी केन्द्रित थियौं ।’ क्लिनिकको सेवा र चिकित्सकको टिम मन पराइएपछि सहज हुँदै गयो ।


अहिले क्लिनिकमा जनरल ओपीडी, अल्ट्रा साउण्ड, इसिजी, होलबडी चेकअप, विभिन्न खोप, माइनर सर्जरी र एस्थेटिक प्रोसिजरलगायतका सेवा दिइरहेको छ । क्लिनिक वानले केही समयभित्रै ग्यास्ट्रो विभाग पनि थप्दैछ । क्लिनिकको आफ्नै फार्मेसी छ भने सम्यम डाइग्नोष्टिकसँग प्रयोगशाला सम्बन्धी जाँचहरुमा सहकार्य छ । अहिले क्लिनिक वानमा दैनिक औसतमा ८० जना जति बिरामी हुन्छन् ।

जावालाखेलको क्लिनिक वान रुचाइएपछि यही टिमले ३ महिनाअघि मात्रै भक्तपुरको सुर्य विनायकमा क्लिनिक वानको शाखा खोलेको छ । दुई संस्था गरी झण्डै ७ करोड जति लगानी पुगेको छ । प्रबन्ध निर्देशक सन्ताेषकाअनुसार अहिले चिकित्सकसहित फुलटाइम र पार्टटाइम गरी १ सय बढी कर्मचारी छन् । निकट भविष्यमै थप सहरहरुमा पनि क्लिनिकको शाखा विस्तार गर्ने योजना उनीहरुको छ ।


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ