२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपनेपाली ब्राण्डको ‘एन्टी क्यान्सर ड्रग’ विदेशमा हुनेछ निर्यात, ३२ करोड लगानीमा शैलेसले खनेको बाटो

नेपाली ब्राण्डको ‘एन्टी क्यान्सर ड्रग’ विदेशमा हुनेछ निर्यात, ३२ करोड लगानीमा शैलेसले खनेको बाटो


शैलेस वैद्य । उमेरले ५ दशक पुग्दै गर्दा  उनमा अहिले पनि युवा जोश र उर्जा कायमै छ । बैकिङ क्षेत्रको ‘कन्फर्ट जोन’लाई छाडेर नेपालमै पहिलो पटक क्यान्सर विरुद्धको औषधि (एन्टी क्यान्सर ड्रग) उत्पादन गरेर देखाइसकेका छन्, उनले । अब ‘मेड इन नेपाल’ लेखिएको नेपाली ब्राण्डको ‘एन्टी क्यान्सर ड्रग’ विश्वबजारमा लैजाने सपना छ । शैलेस यो सपनाबाट अब केही खुडकिलामात्रै टाढा छन् ।

‘एन्टी क्यान्सर ड्रग’ उत्पादन गर्ने नेपालकै पहिलो फर्मा उधोग बनेको टिजिङ फर्मा प्रा.लि. को बनेपाको नालास्थित उधोगमा अहिले विदेश निर्यात गर्ने उद्देश्यका साथ उत्पादन सुरु भइसकेको छ । निकट भविष्यमै यी उत्पादनहरु विदेशी बजारमा नेपाली नाम बोकेर पुग्नेछन् । त्यसपछि हिमाली देशमा बनेको ‘एन्टी क्यान्सर ड्रग’ विदेशका मेडिसिन बजारमा नेपाली ब्राण्डका रुपमा चिनिनेछ । यो सानो र विकासोन्मुख नेपालजस्तो मुलुकका लागि पहिचान बन्न पनि सहयोगी बन्नेछ ।

टेक्नोलोजी ट्रान्सफर अग्रिमेन्टअन्तर्गत वैदेशिक लगानीसमेत रहेको यो प्रोजेक्ट सुरु गर्ने आँटिला शैलेस काठमाडौं महानगरपालिका-२७ कमलाक्षीमा जन्मिएमा हुन् । बुवा हरि हरानन्द वैद्य होलसेल फार्मेसी तथा क्यान्सरको औषधि  पनि आयात गरी बेच्ने काम गर्थे । वैद्य परिवार फार्मेसी व्यवसायमा राम्रै जमेको थियो ।

शैलेसको प्रारम्भिक शिक्षा दार्जिलिङमा भएको हो । उनले एसएलसी भने काठमाडौंबाट पास गरेका हुन् । वि.सं. २०४८ सालमा शैलेसले आईएस्सीको अध्ययन अस्कलबाट पूरा गरे । त्यसपछि उनले कमर्समा स्नातक तहको अध्ययन सकाए । थप उच्च शिक्षाका लागि उनी पाकिस्तानको इस्लामावाद पुगे । इस्लामावादको स्कुल अफ विजनेस एण्ड कमर्सबाट फाइनान्समा एमबीए गरे ।

पढाइ सकेर स्वदेश फर्किएपछि उनले बैंकिङ क्षेत्रमा आफ्नो करिअर सुरु गरे । बैंकमा केही समय काम गरे । सन् २००५ मा अमेरिकन कम्पनीको अनुरोधमा नेपालमा म्यानफ्याक्चरिङ कम्पनी सुरु गर्ने तयारी अगाडि बढाए । नेपालमा त्यतिबेला आन्तरिक द्वन्द्व चर्किरहेको थियो ।

‘मैले द्वन्द्वकालमा केही गर्न सकिन्छ कि भनेर अमेरिकन कम्पनीसँग मिलेर उद्योग स्थापना गरेर ६ वटा कम्पनीका लागि सहयोग गर्याै,’ उनले सुनाए । ती गार्मेन्ट उधोगहरु थिए । युद्धका कारण देशकै आर्थिक अवस्था चरम संकटमा परेका बेला त्यसले थोरै भएपनि नेपालमा रोजगारी सिर्जना गर्न भूमिका खेल्यो । ती गार्मेट उधोगहरुले अमेरिकामा सामाग्री निर्यात गर्थे ।

वि.सं. २०६३ सालपछि विभिन्न कारणले उद्योगमा अवरोध आयो । फ्याक्ट्री अघि बढ्ने वातावरण भएन् । वि.सं. २०६५ सालमा उनले पुनः उधोगलाई अगाडि लैजाने प्रयास गरे । २० घण्टा लामो लोडसेडिङ प्रमुख समस्याका रूपमा खडा भयो । जसका कारण त्यो प्रयासले पनि सार्थकता पाउन सकेन् ।

तर, उनमा केही फरक र नौलो गर्ने चाहना भने मरिसकेको थिएन् । त्यही कारण उनी निरन्तर कर्ममा जुटिरहे । बैंकको ज्ञान र पढाइ विजनेश नै भएकाले गर्दा उनी लगानीका थप क्षेत्रहरु खोज्न थाले । त्यही क्रममा उनले विभिन्न कानुन फर्मसँग अनुसन्धानमा काम गरे । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कन्सलट्यान्टका रुपमा पनि काम गरे । ‘६/७ वर्षसम्म मेडिकल क्षेत्रमा काम गरे,’ उनले भने ।

यही सिलसिलामा उनको ध्यान फर्मा उधोगतिर गयो । ‘फर्मा उद्योग गर्ने यात्रा चाहिँ विभिन्न कम्पनीमा काम गरेको अनुभवका आधारमा सुरु भएको हो,’ उनले हालैको एक मध्यान्ह हेल्थआवाजलाई सुनाए, ‘म विदेशी लगानी सम्बन्धि काम गर्थे । त्यहीक्रममा हैदरावादको एसपी एक्योर ल्याब प्रा.लि.का प्रबन्ध निर्देशक विजयप्रकाशज्यू भेट भयो ।’ विजयप्रकाशज्यूमार्फत नै टिजिङ फर्मा लिमिटेडका अध्यक्ष अब्बाते भनकाटेसमसँगको भेट जु¥यो ।

यो समूह नेपालमा लगानी गर्न इच्छुक थियो । त्यसका लागि भरपर्दो सहयोगी खोजिरहेको थियो । ‘उहाँहरुले चाहिएको मानिस पाइराख्नुभएको थिएन,’ उनी भन्छन् । त्यसैक्रममा ५ वर्षअघि शैलेसजस्ता भरपर्दो व्यक्ति भेटिए । नेपालमा वैदेशिक लगानीका लागि त्यति सहज नभएको हुँदा शैलेस भेटिसकेपछि उनीहरुको पनि आँट आयो । शैलेसलाई फर्मा उधोगमा हामफाल्नका लागि उनका बुवा फर्मा सेक्टरमै भएकाले सहज भएको हो । ‘हाम्रो परिवार राज वैध भनेर चिनिएको हो । बुवाहरूसम्मको जेनेरेशन सबै यही फिल्डमा भएपनि म बीचमा छोडेर गए । तर, संयोगबस फेरी समयले यतै ल्याइदियो,’ शैलेस भन्छन् ।

त्यसपछि नेपालमा उनीहरुले क्यान्सरको औषधी उत्पादन गर्ने योजना अगाडि बढाए । आखिर क्यान्सरको औषधि नै किन त ? ‘नेपालमा अरु औषधि बनेपनि क्यान्सरको औषधि उत्पादन भएको थिएन । क्यान्सर निवारणका लागि पनि क्यान्सरको औषधि नेपालमै उत्पादन हुन आवश्यक छ भन्ने लाग्यो,’ उनले कारण खोले, ‘किनभने, हाम्रो नेपालमा स्थिर औषधिको आपूर्ति छैन । औषधि नपाएपछि बिरामीलाई दुःख हुने भयो ।’ अर्को, मार्मिक पाटो पनि उनले सुनाए । केही वर्षअघि उनको मुमालाई ज्वरो आएपछि उपचारका लागि नयाँदिल्ली लगियो । त्यहाँ एक महिना उपचार गरियो । तर, बचाउन सकिएन् । कारण प्यानक्रियाज क्यान्सर थियो । ‘सबै आफन्त वरिपरी क्यान्सरका बिरामीहरु देखे,’ शैलेस भन्छन्, ‘नेपालमा क्यान्सरको जोखिम बढेको देखे । यसको रोकथाममा भूमिका खेल्नुपर्छ भन्ने लाग्यो । यसको औषधि उपचार निकै महंगो छ । त्यही कारण पनि म यसमा लागे ।’

टिजिङ फर्मा उधोग

यिनै कारणले थुप्रै अप्ठयारा र चुनौतीका बाबजुद उनी बैकिङ क्षेत्रको ‘कम्फर्ट जोन’ छाडेर फर्मामा उधोगमा बाटो खन्न तम्सिएका हुन् । ‘नयाँ क्षेत्रको विकास हुन्छ भनेर लागे,’ उनले थपे । सन् २०१८ पछि क्यान्सरको औषधि नेपालमै उत्पादन गर्ने योजनाका साथ फर्मा उधोग स्थापनाका कामहरु अगाडि बढाइए । सन् २०१९ बाट बनेपाको नालामा १६ रोपनी जग्गा लिएर उधोगको भौतिक पूर्वाधार निर्माणको काम थालियो । त्यही बेला कोभिड—१९ महामारी सुरु भयो । जसका कारण फर्मा स्थापनाको काम केही कठिनाइ भयो ।

कानुनी रुपमा सबै प्रक्रिया पूरा गर्दा थप केही समय लाग्यो । शैलेसले धैर्य राखे । यसमा सरकारी र गैरसरकारी क्षेत्रका धेरैबाट सहयोग पाइएको उनी सुनाउँछन् । भारतीय लगानीकर्ताको विश्वास, शैलेसको मेहनत र सबैको सहयोगको जगमा १० महिनाअघि टिजिङ फर्मा प्रा.लि.ले औषधि व्यवस्था विभाग (डिडिए)बाट क्यान्सर रोग विरुद्धको औषधि (एन्टी क्यान्सर ड्रग) उत्पादनको स्वीकृती पायो । गत अक्टोबरमा स्थानीयका लागि र जनवरीमा विदेशमा औषधि निर्यातका लागि टिजिङले लाइसेन्स प्राप्त ग¥यो । यससँगै विदेशमा औषधि निर्यात गर्ने बाटोसमेत खुला भयो ।

‘मेड इन नेपाल भनेर विदेशमा औषधि निर्यात गर्नु ठूलो उपलब्धि हो,’ शैलेस भन्छन्, ‘हाम्रो उद्देश्य भनेको सबैभन्दाअघि नेपालका क्यान्सरका बिरामीकै लागि उपलब्ध गराउने हो । त्यसपछि विभिन्न देशहरुमा पनि निर्यातका लागि काम भइरहेको छ ।’ टिजिङले उत्पादन गरेका ‘एन्टी क्यान्सर ड्रग’लाई औषधि व्यवस्था विभागले मार्केट लाइसेन्स पनि दिइसकेकाले बजारमा जान पनि सुरु भइसकेको छ ।

टिजिङ फर्माका उत्पादन

सुरुमा टिजिङले क्यान्सर सोसाइटीहरु, औषधि अफोर्ड गर्न नसक्ने क्यान्सरका बिरामीका लागि औषधि उपलब्ध गराएको छ । त्यसबाहेक भक्तपुर क्यान्सर अस्पताललाई पनि सिमित औषधि उपलब्ध गराएको उनले सुनाए । ‘नेपालका लागि ७ वटा औषधि उत्पादन हुन थालिसकेका छन्,’ उनले भने, ‘थप ६ वटा विदेश निर्यातका लागि बनाउँदैछौँ । अहिले बिरामीको मागअनुसार अलिअलि औषधि बेचिरहेका छौँ ।’ टिजिङले अहिले औषधि व्यवस्था विभागबाट २१ वटा मोलिक्युलका उत्पादन गर्न स्वीकृती पाइसकेको छ । जसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । नेपालमै उत्पादित क्यान्सरको औषधि विदेशी फर्मा कम्पनीको उत्पादनको तुलनामा नेपाली बिरामीका लागि केही सस्तो तथा गुणस्तरीय हुने उनले जानकारी दिए ।

टिजिङ फर्मा भारतको हैदरावादमा रहेको एसपी एक्युर ल्यावसँगको प्रविधि हस्तान्तरण सम्झौंता र वैदेशिक लगानीकासाथ स्थापना तथा सञ्चालनमा आएको हो । शैलेसकाअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्टार्डड र नेपालको प्रविधि हस्तान्तरण सम्बन्धि ऐनअनुसार फर्मा सञ्चालनमा ल्याइएको छ ।

गुणस्तरलाई उच्च महत्वमा राखेको टिजिङ फर्माको सुरुवाती लगानी नै ३२ करोड रुपैयाँ छ । अझ यो लगानी ठूलो स्केलमा हुने शैलेस बताउँछन् । अहिले फर्मामा ३० जनाभन्दा बढी कर्मचारी काम गर्छन् । केही समयमै यो संख्या ६० हाराहारीमा पुग्नेछ । टिजिङमा निकट भविष्यमै डेढ सय जनालाई रोजगारी दिन सकिने विश्वास उनको छ ।

‘हामीले औषधि विभागको मापदण्ड, अन्तर्राष्ट्रियस्तरको डकुमेन्टेसन अहिलेदेखि नै सुरु गरेका छौँ,’ उनले सुनाए, ‘म्यानिफ्याक्चरिङको सबै काम विश्वनीयता नै जित्ने किसिमले अगाडि बढेका छौं ।’ नेपाली औषधिको विश्वनीयता बढाउनका लागि भारतकै स्ट्यान्डर्ड हुबहु लागु गरिएको, उच्चस्तरको प्रविधी र मेसिन प्रयोग गरिएको उनले बताए । ‘भारतकै स्ट्यान्डर्ड, उपकरण र गुणस्तरमा विश्वस्तरीय औषधि नेपालमा उत्पादन हुन थालेको छ,’ उनले भने, ‘यो फर्मा अलि फरक किसिमको छ ।’

नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन गरेर बजारमा ल्याइसकेपछि शैलेसलाई केही आत्मसन्तुष्टि प्राप्त भएको छ । ‘क्यान्सरजस्तो भयावह रोगको उपचारका लागि मैले केही योगदान दिन सके कि जस्तो लागेको छ,’ उनले भने, ‘आफ्नो सहज क्षेत्र छाडेर साथीहरुसँग मिलेर स्थापना गरे । यो मेरो उपलब्धि हो भन्ने लाग्छ ।’ नेपालीलाई सुभल मूल्यमा औषधि उपलब्ध गराउन सकियोस् भन्ने सोच राखेका उनी नेपाली ब्राण्ड अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाओस् भन्ने चाहन्छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #अस्कल, #एन्टी क्यान्सर ड्रग, #एसपी एक्योर ल्याब प्रा.लि., #औषधि व्यवस्था विभाग (डिडिए), #काठमाडौं महानगरपालिका, #टिजिङ फर्मा, #विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), #शैलेस वैद्य


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ