२०७९ जेठ ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपसुदर्शनको ‘सुस्वास्थ’: ९ हजारबाट थालेका थिए करोड क्लबको व्यवसायिक यात्रा

सुदर्शनको ‘सुस्वास्थ’: ९ हजारबाट थालेका थिए करोड क्लबको व्यवसायिक यात्रा

जसले प्राकृतिक चिकित्सा ब्राण्डिङको अगुवाई गरे


लगाव, समय व्यवस्थापन र आदर । अध्ययनका क्रममा जापानिजहरुबाट सिकेका यही मुख्य विशेषताका कारण दोलखाको ग्रामीण किसान परिवारले ऋण खोजेर काठमाडौं पढ्न पठाएका किशोरले अहिले आफ्नै बाहुबलमा नाम र दाम दुवै कमाएका छन् ।

१६ वर्षको उमेरमा झण्डै ३० वर्षअघि आईएस्सी पढ्नका लागि काठमाडौं छिरेका सुदर्शन बस्नेत अकुंपन्चरिष्ट मात्रै बनेनन् । ९ हजार लगानीमा आफ्नै व्यवसाय गर्न तम्सिए । परिणाम सबैका अगाडि छ, ३ करोड बढीको नाम चलेको सुस्वास्थ हस्पिटल प्रा.लि. उनको एकल स्वामित्वमा छ । जसमा ३० जना कर्मचारी काम गर्छन् ।

त्यसबाहेक काठमाडौंमा उनले आधुनिक बंगला पनि जोडेका छन् । सधैं सकारात्मक हुने, निरन्तर खट्ने र परिश्रमी स्वभावले उनलाई आफ्नो क्षेत्रमा पनि उतिकै चिनाएको छ । नेचुरल थेरापी, अकुंपन्चरलगायत चिकित्सालाई संगठित, ब्राण्डिङ गर्न पनि उनको प्रमुख भूमिका छ ।

‘जापनिज लगाव त संसारभर नै प्रख्यात छ । मैले मेरा प्रोफेसरहरुबाट सिकेको त्यो लगाव ५० प्रतिशत आफ्नो जीवनमा लागु गरेजस्तो लाग्छ,’ उनी भन्छन्, ‘त्यही कुराले मलाई सफलता दिलाएको हो ।’ हरेक चीज पोजेटिभ रुपमा हेर्ने बानी, निरन्तर खट्ने र रिस्क लिने क्षमताकै कारण पनि उनले यो सफलता पाएका हुन् । ‘म रिस्क लिन डराउँदिन् । पछिल्ला २० वर्षमा हरेक दिन ११ घण्टा काम गरे,’ उनले भने । अक्सरबाहेक शनिबार पनि उनी कामबाट ब्रेक लिदैनन् ।

ऋण गरेर काठमाडौं पढ्न आउँदा….

दोलखाको कालिन्चोक गाउँपालिका–९ मा वि.सं. २०३३ सालमा जन्मिएका हुन्—सुदर्शन । उनका बुवा नैनबहादुर बस्नेत र आमा गायत्री बस्नेत दुवै खेती किसानी गर्थे । सामान्य किसान परिवारमा जन्मिएकाले उनको शिक्षादीक्षा पनि आम ग्रामीण बाललबालिकाकै जसरी अगाडि बढ्यो ।

सुदर्शनको प्रारम्भिक शिक्षा कालिका निमाविबाट अगाडि बढेको हो । घरबाट स्कुलसम्म पुग्न आधा घण्टा हिड्नुपथ्र्यो । ‘खोला नाला तर्दै जानुपर्ने बाध्यता थियो,’ उनी भन्छन्, ‘७ कक्षासम्म त्यही स्कुलमा पढे ।’ पढाइमा मात्रै केन्द्रीत हुने सुविधा उनलाई थिएन् । बुवाआमासँगै खेतीपाती र पशुपालनमा सघाउँदैं पढ्नुपथ्र्यो । स्कुलमा उनलाई गणित र विज्ञान मनपर्ने विषय थिए । अतिरिक्त क्रियाकलापमा उति रुचि नभएपनि नृत्य गर्न भने मन पराउँथे ।

कालिका निमाविबाट कक्षा ७ सम्म अध्ययन गरेपछि उनी थप शिक्षाका लागि डेढ घण्टा पैदलयात्रा गर्नुपर्ने क्षमावती माध्यमिक विद्यालयमा गए । जुन देशकै पूरानो स्कुलमध्येमा पर्छ । त्यहीबाट वि.सं. २०४९ सालमा एसएलसी उत्तीर्ण गरे । एसएलसी परीक्षा दिँदा उनी १५ वर्षका थिए । भनिन्छ, ‘हुने विरुवाको चिल्लो पात’ सुदर्शन सानैदेखि पढाइमा अब्बल थिए । परिणाम नै मान्नुपर्छ, स्कुलकै १० ब्याचको इतिहासमा पहिलोपटक उनी र उनका एकजना साथीले एसएलसीमा फष्ट डिभिजन ल्याएका थिए । ‘म घोकेर पढ्दिन, बुझ्ने गर्थे,’ उनले सुनाए, ‘१२ जनाले एसएलसी दिएकामा ३ जना पास भयौं ।’

एसएलसीपछि उनका आमाबुवाले ऋण गरेर केही रकम जोहो गरी काठमाडौं पढ्न पठाए । त्यो बेला काठमाडौंमा अस्कल, त्रिचन्द्र र पाटन कलेजमा मात्रै विज्ञान विषय पढाइ हुन्थ्यो । अस्कल सहरका राम्रा स्कुलमा पढेकाहरुका लागि थियो भने पाटनमा गाउँबाट आएकाहरु पढ्थे । त्यहीकारण सुदर्शन पाटन क्याम्पसमा आईएस्सी पढ्न थाले । वि.सं. २०५२ सालमा उनले पाटनबाट आईएस्सी उत्तीर्ण गरे ।

अकुंपन्चरिष्ट हुँदैं व्यवसायमा पाइला

आईएस्सी सकेपछि क्यानडाको युनिभर्सिटीका लागि सफ्टवेयर इन्जिनियरिङमा छात्रवृत्ति खुलेको थियो । सुदर्शनले त्यसमा ५० प्रतिशत छात्रवृत्ति पाए । त्यो बेला नेपालमा सफ्टवेयर, कम्प्युटरजस्ता कुराहरु त्यति धेरै चलनचल्तीमा आइसकेका थिएनन् । त्यसैले उनले अर्को विषय पढ्ने सोचिरहेका थिए ।

वि.सं. २०५२ सालतिर नै जाइका, अकुंपन्चर एमोगिनोकाई  र रेडक्रसले जापानको युनिभर्सिटीसँग मिलेर नेपालमा अकुंपन्चरको तीन वर्षे कोर्स चलाएको थियो । आईएस्सीपछि सुदर्शनले ध्यान पनि त्यसमा गयो । नाम निस्केपछि उनी वि.सं. २०५२ सालमा अकुंपन्चर पढ्न थाले ।

त्यतिबेला नेपाली विद्यार्थीलाई अकुंपञ्चर पढाउन जापानबाटै प्रोफेसरहरु आउँथे । पहिलो वर्ष पढाइमै केन्द्रीत गराइन्थ्यो । दोस्रो वर्षदेखि काम पनि गर्नुपथ्र्यो । ‘अकुंपन्चर पढ्ने क्रममा लुगा धुनेदेखि बाथरुम सफा गर्नेसम्मका काम गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘त्यसबापत पैसा दिन्थे ।’ तेस्रो वर्षमा विद्यार्थीलाई अकुप्रेसर गराउन पनि लगाइन्थ्यो । त्यसबापत विद्यार्थीको खातामा केही रुपैयाँ जम्मा हुन्थ्यो ।

वि.सं. २०५५ सालमा उनले अकुंपञ्चरको पढाइ सके । पढाइ सकेपछि जापनिजहरुले विद्यार्थीहरुलाई क्लिनिक खोल्न आवश्यक एक सेट सामान उपलब्ध गराउँथे । विद्यार्थीले आफ्नै क्लिनिक खोल्न प्रेरित गर्ने त्यसको उद्देश्य हुन्थ्यो । पढाइ सक्दा उनले ३०—४० हजार रपैयाँ कमाएका थिए । पढाइ गर्दागर्दै कमाएको त्यो रकमबाट उनले आफूलाई काठमाडौं पढाउँदा बुबालाई लागेको ऋण तिरे । त्यसबाट १५ हजार रुपैयाँ बचेको थियो ।

अकुंपञ्चरको डिग्री हात परेपछि उनको करिअर सुरु भयो । त्यही वर्ष उनले भिमसेनगोलास्थित ‘प्राकृतिक स्वास्थ्य संस्था’मा काम गर्न थाले । जुन नेपालकै प्राकृतिक चिकित्सातर्फको पहिलो संस्थागत अस्पताल थियो । सुदर्शनले नै त्यो अस्पतालमा पहिलो पटक अकुंपन्चर विभाग स्थापना गरेका हुन् ।

‘सबैभन्दा बढी २ हजार तलब मेरै थियो,’ उनले पहिलो तलबबारे भने, ‘७ देखि ११ बजेसम्म ४ घण्टामात्रै काम गर्थे ।’ त्यो बेला अकुंपन्चर पढेको एकदमै थोरैमात्र जनशक्ति थियो । जागिरसँगसँगै उनले पाटनको गाबहालमा ९ हजार लगानीमा २ शैय्याको ‘अकुंपन्चर सेवा केन्द्र’ खोले । जुन उनको व्यवसायिक यात्रातर्फको पहिलो पाइला थियो । त्यसका लागि आवश्यक सामाग्री उनले जापनिजहरुबाटै पाइसकेका थिए । भारतबाट थप ९ हजारमा अकुंपञ्चर स्टीमुलेटर किनेका थिए । त्यहीमात्र उनको पहिलो लगानी थियो ।

पूर्णकालीन व्यवसायको १ वर्षकै काठमाडौंमा जग्गा

जागिर सँगसँगै उनले गाबहालको क्लिनिक ९ महिना चलाए । अपेक्षित रुपमा त्यो क्लिनिक चल्न सकेन् । वि.सं. २०५६ असारमा उनले पूर्णकालीन रुपमा आफ्नै क्लिनिकलाई व्यवस्थित गर्ने योजना बनाए । त्यसका लागि सिनामंगलस्थित अस्पतालको जागिर छोडिदिए ।

२३ वर्षको उकालो हिड्दैं गरेका उनी राम्रो क्लिनिक चलाउने ठाउँको खोजीमा थिए । ‘हिड्दै जाँदा त्रिपुरेश्वरको आँखा केन्द्र नजिक घर भाडामा भनेर लेखेको देखें,’ उनले भने । घरबेटीसँग सम्पर्क गरेर त्यही वर्षको साउनमा क्लिनिक सुरु गर्ने योजनासहित ३—४ सय स्क्वायर फिटको फ्ल्याट भाडामा लिए । ‘वैकल्पिक उपचार सेवा केन्द्र’ नाममा क्लिनिक दर्ता गराए । त्यसका लागि रिसेप्सनमा एक जना स्टाफ राखे ।

क्लिनिक सुरु गर्दा सुदर्शनसँग भाडा तिर्ने पैसासमेत खल्तीमा थिएन । ‘राम्रो घरबेटी भएकोले १ महिनापछि दिए पनि हुन्छ भन्नुभयो,’ उनले भने, ‘क्लिनिकले विस्तारै रफ्तार लिन थाल्यो ।’ त्यतिबेला अनौठा हेडलाइन राखेर समाचार सनसनीखेज बनाउने ‘सन्ध्याकालीन’ र ‘महानगर’ पत्रिका खुबै चर्चित थिए । ‘ती पत्रिकामा क्लिनिकको विज्ञापन दिनुप¥यो भन्ने लाग्यो,’ उनले सुनाए, ‘सन्ध्याकालीनमा विज्ञापन दिए ।’ त्यसले उनको क्लिनिकलाई हिट गरायो ।

रोचक त के भने क्लिनिक पुगेका बिरामी नै युवा सुदर्शनलाई नै सोधिरहेका हुन्थे, ‘भाइ ! डाक्टर साब कहाँ हुनुहुन्छ ?’ उनी मुस्कुराउँदैं जवाफ दिन्थे, ‘म नै हुँ ।’ त्यतिबेला प्राकृतिक उपचार गर्ने पाका नै हुन्छन् भन्ने मानसिकता रहेको उनी बताउँछन् । सुदर्शन उपचार र पढाइ दुवैमा अब्बल भएकाले धेरैको रोजाइमा पर्दै गए ।

युवा उमेरमै नेपालका लागि जापानी राजदूतलाई उपचार गर्ने मौकासमेत पाए । ‘मैले पढ्दा नै जापनिज प्रोफेसरले लिंक गराइदिनुभएको थियो,’ उनले भने, ‘जापनिज राजदूतको झण्डावाला गाडी चढेर उपचार गर्न उहाँको क्वार्टरसम्म पुगे ।’ उनको आत्मबल र सीपलाई जापनिजहरुले कति पत्याएका थिए भन्ने कुराको यो एक प्रमाण हो । कतिसम्म भने सुदर्शनबाट प्रभावित भएका जापनिज राजदूत र उनकी पत्नीले जापान जाने प्रस्ताव पनि गरेका थिए । तर, सुदर्शनले त्यसलाई इन्कार गरिदिए ।

अथक मेहनत र कामप्रतिको उक्लै लगावका कारण सुरुवाती दिनहरुमा दैनिक ३ जना बिरामी आउने ‘वैकल्पिक उपचार सेवा केन्द्र’ प्रमुख रोजाइ बन्न थाल्यो । वि.सं. ०५७—५८ मा उनको क्लिनिक हिट नै भयो । दैनिक बिरामीको संख्या नै २५ भन्दा बढी हुन थाल्यो । बिरामीको चापसँगै सुदर्शनको आय पनि बढ्दैं गयो ।

‘बिरामीको चाप र कामले परिणाम राम्रै दिन थाल्यो,’ उनले स्मरण गरे, ‘त्यसपछि मैले काठमाडौंमा जग्गा किन्न सफल भए ।’ उनले ग्वार्कोमा ४ आना जग्गा आफ्नै कमाइमा जोडे । वि.सं. २०५७ सालमा उनले ३८ हजार रुपैयाँ आनामा झण्डै १ लाख ५२ हजारमा त्यो जग्गा किनेका थिए । तीन महिनामै त्यो जग्गा बेचेर उनले कलंकीमा ४ आना जग्गा किने ।

खोलाको छेउमा रहेको त्यो जग्गा किन्दा धेरैले उनललाई रिस्क नलिन भनेका थिए । तर, कलंकीबाट सेन्टरमै भएकाले उनले त्यो रिस्क लिए । ०५९ सालमा उनले त्यही जग्गामा आफ्नै कमाइमा घर पनि बनाए । ‘एक लाख रुपैयाँ मात्र थियो । दैनिक कमाएर विस्तारै तिर्छु भनेर घर बनाउन थाले,’ उनले भने । घर बनेपछि उनी आफ्नै घरमा सरे । सँगसँगै क्लिनिकलको व्यवसाय राम्रो हुँदै गयो ।

वेलनेसको नेतृत्वदेखि एकल स्वामित्वको सुस्वास्थसम्म

वि.सं. ०६५ सालमा ‘वैकल्पिक उपचार सेवा केन्द्र’लाई अस्पतालमा लैजाने सोच उनले बनाइरहेका थिए । त्यहीबेला बाँसवारीमा वेलनेस अस्पतालमा सञ्चालनमा आएको थियो । तर, वेलनेस अस्पताल डेढ वर्षदेखि चल्न सकेको थिएन । वेलनेसका मेडिकल निर्देशक डा. जनकबहादुर बस्नेत सुदर्शनका साथी हुन् । जनकले मिलेर वेलनेस अस्पताल चलाउने प्रस्ताव गरे ।

सुदर्शन पनि राजी भए । ‘पूरानो टिमको शेयर लिएर ६५ लाखको भ्यालुएसन ग¥र्यौं,’ उनले भने, ‘मैले ३२ लाख रुपैयाँ तिरिदिए ।’ डेढ वर्षको ऋण सबै जिम्मा लिदैं उनले नयाँ रिस्क लिए । एक करोड शेयर बनाएर डा. बस्नेत, सिर्जना शर्मा, सुदर्शन र अर्का एकजना मिलेर अस्पतालको सम्पूर्ण स्वामित्व लिए । ०६५ फागुनमा वेलसेन अस्पतालको सुदर्शनले कार्यकारी अध्यक्षका रुपमा नेतृत्व लिए । सुदर्शनले आफ्नो क्लिनिकका ५० प्रतिशत बिरामी वेलनेसमा ल्याए ।

नेतृत्व लिएको ७ महिनापछि सभामुख सुवासचन्द्र नेम्वाङबाट उद्घाटन गराए । ‘त्यसपछि देशका विशिष्ट व्यक्तिहरुको अस्पताललाई सहयोग मिल्यो,’ उनले भने, ‘नेचुरल थेरापी अस्पतालका रुपमा निकै राम्रोसँग चल्यो । वेलनेसले आधिकारिक रुपमा आयुर्वेद विभागबाट अनुमति समेत पायो । त्यसअघि बिरामी नै भर्ना गरेर नेचुरल थेरापी अस्पतालमा उपचार गराउने चलन थिएन । वेलनेससँगै त्यो कार्यपनि आरम्भ भयो ।

वेलनेसलाई चलाउनका लागि सुदर्शनले मिडियाको पनि सहयोग लिए । नेचुरल थेरापी, फिजियो थेरापी र अकुंपन्चरलाई समेटेर एबिसी टेलिभिजनबाट महिनाको २ वटा कार्यक्रम किने । यसले वेलनेस अस्पताललाई अझै माथि पु¥यायो । ‘डेढ वर्षदेखि चलाउन नसकेको अस्पताल हामीले लिएको ३ महिनामै गति लिएपछि मानिसहरु छक्क परे,’ उनले सुनाए ।’

सफलतातिरको यात्रा सुरु भएपछि वेलनेस टिमले ‘हेल्थ टुरिजम’ तिर लगानी गर्ने योजना अगाडि बढायो । ०६६ मा नेपालमा १ करोड ७० लाख लगानीमा तीन तारे क्याटागोरीको ‘चैतन्य वेलनेस हिलिङ स्पा’ सुरु ग¥यो । २ रोपनी क्षेत्रफलमा फैलिएको यो नेपालको पहिलो कर्पोरेट स्पा थियो । कुटनीतिक नियोगकाहरु अधिकारीहरु, कर्पोरेट हाउसका मानिसहरुको रोजाइमा चैतन्य परिहाल्यो ।

त्यसको नेतृत्व पनि सुदर्शनले नै लिए । अस्पताल र स्पा गरेर ६०—७० जना कर्मचारी, व्यवस्थापन सबैको नेतृत्व गरेर अगाडि बढाए । ‘बिहान ६ देखि ८ बजेसम्म दैनिक काम गर्थे,’ उनले भने, ‘३ वटा संस्थासँगै लगे । तर, पछि मैले ३ वटा लिएर जान सकिन् ।’ उनले क्लिनिकको टाइम कटौती गरे तर दुई संस्थालाई भने निरन्तर नेतृत्व दिए ।

०७२ सालसम्म आइपुग्दा वेलनेस हस्पिटल र चैतन्य स्पा दुवै नम्बर वानमा दरिन थालिसकेका थिए । सुदर्शन पनि आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्दै बृहत रुपमा अगाडि बढिरहेका थिए । विस्तारै पार्टनरहरुबीच विवाद देखिएपछि उनले वेलनेस हस्पिटल छोडे । ‘विवाद देखिन थालेपछि मैले कि मेरो शेयर लिएर चलाउनुहोस् कि तपाईंको शेयर दिनुहोस् म चलाउँछु भनेर प्रस्ताव राखे,’ उनले भने, ‘उहाँहरुले अस्पताल चलाउँछु भनेपछि मैले छोडे ।’ त्यसपछि केही समय उनले स्पाको मात्र कमाण्ड सम्हाले । त्यहाँ पनि पार्टनरहरुले एकजनाले मात्रै नचलेको धारणा सार्वजनिक गर्न थालेपछि सुदर्शनले आफूलाई परीक्षण गर्नुपर्छ भन्ने ठाने ।

त्यहीकारण वि.सं. ०७२ सालको भूकम्पपछि एउटा नेचुरल थेरापी अस्पताल एकल स्वामित्वमा चलाउन तम्सिए । त्यसका लागि मीनभवनमा एक रोपनी जग्गासहित आकर्षक गार्डेन भएको सिंगो घर नै भाडामा लिए । त्यसमै ०७२ माघ १ गते सञ्चालनमा आयो—सुस्वास्थ हस्पिटल प्रा.लि. । १५ बेडको सुस्वास्थ अस्पतालको पूर्ण सेटअप नहुँदैं उनले ९ माघमा एकै पटक ९ जना बिरामी भर्ना लिएर सेवा दिन सुरु गरेका हुन् ।

चरम लोडसेडिङ र नाकाबन्दीकाबीच उनले फागुनसम्म अस्पतालको सबै काम सके । ‘त्यतिबेला मैले १ सय रुपैयाँको डिजल ३ सय रुपैयाँमा किने,’ उनले भने । अस्पतालमा उनले फिजियोथेरापी, अकुंपन्चर र नेचुरल थेरापी तीन विभाग बनाए । ०७५ सालबाट उनले चैतन्य स्पाबाट पनि विदा लिए । सधैं काममा खटिरहने र संस्थालाई आफ्नो पूर्ण क्षमता दिने भएकाले सुस्वास्थ्यले लय समात्न धेरै समय लागेन् । ‘आफ्नो भिजन र लगावअनुसार काम गरिरहेको छु,’ उनले भने, ‘सुस्वास्थ हस्पिटलले चाडै फड्को मा¥यो । सधैं बिरामीले माया गर्नुभएको छ ।’

अहिले सुस्वास्थमा आयुर्वेद र योगा सुविधा पनि थपिएको छ । सुरुवाती लगानी नै १ करोड भएको सुस्वास्थ अस्पतालमा अहिले ३० जना कर्मचारी कार्यरत छन् । सुस्वास्थमा फिजियोथेरापिष्ट, अकुंपञ्चरिष्ट, नेचुरोप्याथी चिकित्सक, कविराजलगायतको जनशक्ति छ । ब्राण्डसमेत गर्ने हो भने सुस्वास्थ हस्पिटलको सम्पत्ति ३ करोड रुपैयाँ बढी छ ।

कोभिड महामारी नआएको भए ‘सुस्वास्थ्य मेडी स्पा’ पनि सञ्चालनमा आइसकेको हुन्थ्यो । तर, कोभिडपछि त्यो रोकिएको छ । सुदर्शनले भविष्यमा हेल्थ रिसोर्ट र  वृहत रिह्यालिबिटेसन सेन्टर चलाउने सपना देखेका छन् । ‘अब हामीले मेडिकल टुरिजममा पर्यटक भित्र्याउन सक्छौं जस्तो लाग्छ,’ उनले भने, ‘त्यसकारण हेल्थ रिसोर्ट खोल्ने मेरो सपना छ ।’ २२ वर्षअघि व्यवसायिक यात्रा सुरु गरिएको ‘वैकल्पिक उपचार सेवा केन्द्र’ लाई हस्पिटलका रुपमा विकास गर्ने सपना उनको छ ।

प्राकृतिक चिकित्सा ब्राण्डिङका अगुवा

उनको क्लिनिकमा डिटीआईपेजिङका तत्कालीन म्यानेजर उपचार गर्न आउँथे । त्यो संस्थाले रेडियोहरुमा विभिन्न कार्यक्रमहरु स्पोन्सर गरिरहेको हुन्थ्यो । त्यो समयमा अकुंपन्चरका बारेमा सचेतनाको अभाव थियो । त्यही कारण सुदर्शनले एचबीसी एफएममा अकुंपञ्चरबारे ‘उपचार’ नामक कार्यक्रम स्पोन्सर गर्न राजी गराए ।

०५९ मंसिरबाट सुदर्शन र रेडियो एचबीसीको टिम मिलेर ‘उपचार’ कार्यक्रम चलाउन थाल्यो । ‘अकुंपन्चरका बारेमा विस्तृत जानकारी, बिरामीको अनुभव, सल्लाहजस्ता कुरा कार्यक्रममा समावेस गरिन्थ्यो,’ उनले भने । कार्यक्रम निकै हिट भयो ।’ कार्यक्रमका कारण एकातिर अकुंपन्चरबारे मानिसहरुमा सचेतना वृद्धि भयो भने अर्कोतिर सुदर्शनलाई व्यवसायिक रुपमा पनि फाइदा भयो । बिरामीहरु त्यही कार्यक्रम सुनेर उनको क्लिनिकसम्म पुग्न थाले ।

समग्र अकुंपन्चर क्षेत्रको विकासमा पनि सुदर्शन सदैव चिन्तित रहे । त्यही कारण ०६० सालमा उनले साथीहरुसँग मिलेर अकुंपन्चर एसोसिएसनको परिकल्पना गरे । संस्थापक अध्यक्ष र त्यसपछि थप एक कार्यकाल एशोसिएसनको नेतृत्व गरेर संस्थालाई स्थापित गर्न भूमिका खेले । एशोसिएसनले प्रत्येक वर्ष सेमिनार, गोष्ठी गर्ने, विभिन्न कार्यक्रम गर्ने काम गर्छ । ‘स्वास्थ्यमन्त्री, शिक्षामन्त्रीलाई नै ल्याएर कार्यक्रम ग¥यौ,’ उनले भने, ‘उहाँहरुले हौसला दिनुभयो ।’

७ जना सदस्यबाट सुरु भएको एशोसियनमा अहिले ७० जनाभन्दा बढी सदस्य आवद्ध छन् । स्थापनाका पहिला दुई कार्यकाल गरेर ६ वर्ष नेतृत्व गरेका सुदर्शनले छैटौं कार्यकालमा साथीको आग्रहमा पुनः नेतृत्व गरे । ‘सरकारसँग विभिन्न काम गर्नुपर्छ भनेर साथीहरुले सर्वसम्मत रुपमा नेतृत्व गर्न भनेपछि मैले छैटौं कार्यकालमा पनि एशोसिएसनको नेतृत्व गरे,’ उनले भने । उनले खेलकुद मेडिसिनलाई पनि अकुंपन्चरलाई समावेस गर्नका लागि भूमिका खेले । अहिले राष्ट्रिय खेलकुद परिषद्ले अकुंपन्चरलाई खेलकूद मेडिसिनको मान्यता दिएको छ ।

सुदर्शन नेपाल युवा उद्यमी मञ्च आवद्ध भएर पनि काम गरे । त्यसको केन्द्रीय समितिमा रहेर उनले विभिन्न जिम्मेवारीहरु पूरा गरे । यहीबाट व्यवसायिक विकासमा भूमिका खेल्न र विभिन्न देशहरुको भ्रमण गर्ने अवसर पनि उनले पाए । सुदर्शन अहिले योग तथा नेचुरल थेरापी अस्पताल एशोसिएसन स्थापनामा जुटेका छन् ।

कामकै सिलसिलामा बिहे

भनिन्छ, जीवन संयोगहरुकै मेल हो । सुदर्शनको जीवनमा पनि त्यो लागु हुन्छ । कामकै सिलसिलामा काठमाडौं रैथाने उर्मिला श्रेष्ठसँग उनको भेट भयो । उर्मिला पेशाले ल्याब असिस्टेन्ट हुन् । त्यही भेट एकपछि अर्को गर्दै सामीप्यतामा बदलियो ।

सामीप्यता प्रेममा बदलिएपछि सुदर्शनले वैकल्पिक उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको ८ महिनापछि अर्थात वि.सं. २०५६ मा उर्मिलासँग लगनगाँठो कसे । ‘काठमाडौंको स्थानीय नेवार भएकाले उहाँलाई प्रायः सबै थाहा थियो,’ उनले भने, ‘व्यवसाय र करिअर दुवै अगाडि बढाउन साथ, प्रेरणा र हौसला दिनुभयो ।’ अहिले उनका दुई सन्तान छोरा सत्चित र छोरी कैवल्या छन् ।

सुदर्शनको सबै कुरा सेडयुलमा गर्ने बानी छ । साढे ५ बजे उठिसक्छन् । उठ्ने बितिकै सामान्य एक्ससाइज गर्छन् । फिट रहनका लागि उनी घरमै जिम गर्छन् । त्यसपछि उनी विहानको ब्रेकफास्ट आफै बनाउँछन् । जसमा कन्फेक्स, दुध, सातु र फलफूल हुन्छ । खाना बनाउने पनि उनको सौख हो ।

दिउँसो १२ देखि १ बजेभित्रमा लन्च खाइसक्छन् । जसमा दाल, भात, तरकारी हुन्छ । साँझ ८ देखि साढे ८ बजेसम्म डिनर खाइसक्छन् । डिनरमा सुप, रोटी र डिढो हुन्छ । १० बजे उनी बेडमा पुगिसक्छन् । खानपिनमा उनी फुडी हुन् । उनलाई सबैभन्दा मनपर्ने फुड मासु हो । तर, सबै खानाहरु उतिकै मन पराउँछन् । अहिले फलफूल र तरकारीमा बढी जोड दिन थालेका छन् ।

निट एण्ड क्लिन मन पराउने उनी हरेक दिन नुहाउने र नयाँ लुगा फेर्ने गर्छन् ।  उनलाई क्याजुअल पहिरन मन पर्छ ।

उनको राजनीति, अर्थतन्त्रमा पनि रुचि राख्छन् । युवाहरु र उद्यमसँग जोडिएका कार्यक्रममा पनि उनी सहभागी हुन्छन् । त्यसबाहेक देशविदेश घुम्ने पनि उनको रुचि छन् । अहिलेसम्म उनले एसिया, युरोप र अमेरिका गरी झण्डै दुई दर्जन देश घुमिसकेका छन् । आफूले हेरेका बिरामी निको हुँदा एवं छोराछोरी साथ र सफलतामा उनी खुसी हुन्छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #अकुंपन्चरिष्ट, #सुदर्शन बस्नेत


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)