२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप२९ वर्षीय युवा सिईओ उपेन्द्रले हाँक्दैछन् ५ करोड लगानीको ‘एक्सपर्ट क्लिनिक’

२९ वर्षीय युवा सिईओ उपेन्द्रले हाँक्दैछन् ५ करोड लगानीको ‘एक्सपर्ट क्लिनिक’


उपेन्द्र आचार्य । उर्जाशील युवा व्यवसायी हुन् । १६ महिनाअघि लगनखेलमा सञ्चालनमा आएको ‘एक्सपर्ट क्लिनिक’को अध्यक्ष तथा कार्यकारी अधिकृत (सिईओ)का रुपमा उनले संवेदनशील संस्थाको नेतृत्व सम्हालिरहेका छन् । २९ वर्षकै उमेरमा दुई दर्जन विशेषज्ञ चिकित्सकसहित ४० जनाभन्दा बढी कर्मचारी र मल्टीस्पेसियालिटी क्लिनिक व्यवस्थापनको जिम्मेवारी उनको काँधमा छ ।

तर, यी सबै चुनौतीका बीच पनि क्लिनिकको व्यवस्थापनमा युवा सोच झल्कन्छ । क्लिनिकको गुणस्तरीय स्वास्थ्य सेवा, सरसफाइजस्ता कुराहरुमा उनले विशेष ध्यान दिएका छन् । क्लिनिकले स्त्री तथा प्रसुति, नसा रोग, मानसिक रोग, बाल रोग, हाडजोर्नी, छाला रोग, आँखा, मुटु रोग एक दर्जन बढी रोगहरुको विशेषज्ञ परामर्श सेवा दिइरहेको छ । जसका लागि दुई दर्जन बढी डाक्टरहरुको रुटिङ र बिरामीसँगको टाइम व्यवस्थापन पनि उनले कुशल ढंगले मिलाइरहेका छन् ।

‘उर्जावान समय यही हो । अहिले काम नगरे कहिले काम गर्ने ?,’ युवा सिईओ उपेन्द्र भन्छन्, ‘युवाहरु भएको ठाउँमा केही नयाँपन पनि त हुनैप¥यो । त्यही कारण फुलटाइम आफै बसेर क्लिनिक हेरिरहेको छु ।’ त्यसबाहेक क्लिनिकले फार्मेसी र प्रयोगशाला पनि सञ्चालन गरिरहेको छ । इसिजी, अल्ट्रासाउण्ड, इको, सिटिस्क्यानलगायतका इमेजिङ सेवाहरु पनि क्लिनिकमा रहेको उनले जानकारी दिए । यी सबैलाई व्यवस्थित गर्ने, कर्मचारीलाई मोटिभेसन गर्ने काम पनि उनकै हो ।

एक्सपर्ट क्लिनिकमा अहिले दैनिक औसतमा ७०—८० जना बिरामी सेवा लिन आउँछन् । क्लिनिकले बिरामीको सुरक्षाका पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनी बताउँछन् । ‘यो क्लिनिक कोभिड—१९ को पहिलो लहरका बेला जन्मिएको हो,’ उनी भन्छन्, ‘त्यही कारण हामीले बिरामीको सुरक्षालाई पनि विशेष ध्यान दिएका छौं ।’ उपेन्द्रकाअनुसार बिरामीको सुरक्षालाई नै केन्द्रमा राखेर क्लिनिकमा एसीको ठाउँमा नराखी फ्रेस एयर भेन्टिलेसनको व्यवस्था गरिएको छ ।

एक्सपर्टले सर्वसाधारणलाई सुलभ मूल्यमा उत्कृष्ट हेल्थ प्याकेज दिइरहेको उनले बताए । राम्रो वातावरणमा गुणस्तरीय स्वास्थ्य सेवा दिने ध्ययेका साथ क्लिनिक सञ्चालनमा ल्याएको उनले सुनाए । दुई फल्याटको ४ हजार स्वाक्यर फिटमा फैलिएको क्लिनिकमा झण्डै ५ करोड लगानी भएको छ । अहिले क्लिनिकमा फुलटाइम र पार्टटाइम गरी ४० जनाभन्दा बढी कर्मचारीले काम गरिरहेका छन् ।

‘लगानी मात्रै करिब ५ करोड छ,’ उनी भन्छन्, ‘प्रत्यक्ष—अप्रत्यक्ष रुपमा ४० जना बढीले काम गर्छन् ।’ क्लिनिकबाट प्रवाह हुने सेवा थप्ने, सेवाहरुलाई गुणस्तरीय र उत्कृष्ट बनाउने काम निरन्तर जारी रहने उनले बताए । एक्सपर्टले निकट भविष्यमै देशभर सुविधासम्पन्न र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यका साथ शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।

६ वर्ष जागिर त्यसपछि व्यवसायी

२९ वर्षअघि काभ्रेको मण्डनदेउपुर—४ का २९ वर्षीय उनमा केही फरक र आफ्नै गर्ने हुटहुटी थियो । उनको प्रारम्भिक शिक्षा गाउँमै भएको हो । त्यसपछि १५ वर्षअघि उनी थप शिक्षाका लागि काठमाडौं आएका हुन् ।

वि.सं. २०७१ सालमा उनले त्रिचन्द्र कलेजबाट माइक्रोबायोलोजीमा बीएस्सी गरे । स्नातकपछि झण्डै ६ वर्ष फर्मास्युटिकल्स कम्पनीमा जागिरेका रुपमा बिताए । तर, जागिरे जीवनले उनको उर्जालाई त्यतिकै सिमित गरिरहेको विस्तारै बुझ्दैं गए ।

जागिरभन्दा आफ्नै व्यवसाय गर्ने सोच बनाइरहेका थिए । औषधि कम्पनीमा एमआरको काम गरिरहेकै बेला उनीसँग डाक्टर र अन्य केही साथीभाइहरु जोडिए । ‘व्यवसाय गर्ने सोच भएपनि ममा आँट आइसकेको थिएन् । टिम नभएकोले जागिर छाडेर बिजनेस गर्ने अन्योलमा थिए,’ हालैको भलाकुसारीमा उनले भने, ‘तर, साथीहरुसँग जोडिएपछि आत्मविश्वास पनि बढ्दै गयो । नयाँ भिजनले उत्साह पनि बढ्यो ।’ उनी पनि एक्सपर्टको टिममा आवद्ध भए ।

त्यही क्रममा एउटा सुविधासम्पन्न मल्टीस्पेसियालिटी क्लिनिक खोल्ने योजना बन्यो । त्यसका लागि लगनखेलस्थित आधुनिक कम्प्लेक्सको तेस्रो र चौथो तथाको करिब ४ हजार स्क्वायर फिट ठाउँ भाडामा लिइयो । वि.सं. २०७७ सालदेखि नै उक्त क्लिनिक निर्माणको काम अगाडि बढ्यो । क्लिनिक स्थापनाको काम अगाडि बढिरहेका बेला केही समयमै कोभिड—१९ को महामारी सुरु भयो । जसले क्लिनिकको यात्रामा २ वर्ष मार पु¥याएको उनले बताए ।

१६ महिनाअघि कोभिड—१९ अलि सामान्य अवस्थामा आएपछि एक्सपर्ट क्लिनिक सञ्चालनमा आयो । सुरुवाती समयमा थोरै बिरामीबाट सुरु भएको एक्सपर्टमा अहिले बिरामीको चाप पनि बढ्दै गएको छ ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #उपेन्द्र आचार्य, #एक्सपर्ट क्लिनिक, #त्रिचन्द्र कलेज, #मल्टीस्पेसियालिटी क्लिनिक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ