२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपडा. दीपमालाले ल्याइन् श्रीद्धि आईभीएफ, भन्छिन्, ‘निःसन्तानलाई सन्तान सुख दिन पाउँदा खुसी लाग्छ’

डा. दीपमालाले ल्याइन् श्रीद्धि आईभीएफ, भन्छिन्, ‘निःसन्तानलाई सन्तान सुख दिन पाउँदा खुसी लाग्छ’


डा. दीपमाला कार्की स्त्री तथा प्रजनन रोग विशेषज्ञ हुन् । चीनबाट स्त्री तथा प्रसुती रोगमा विशेषज्ञता हासिल गरेकी उनले भारतको नयाँदिल्लीबाट आईभीएफ एवं इनफर्टिलिटीमा फेलोसीप गरेकी छन् । महिला तथा निःसन्तानका क्षेत्रमा काम गर्दै आएकी ३८ वर्षीया युवा चिकित्सक डा. कार्कीले यो छोटै अवधिमा सयौं बिरामीलाई सेवा दिइसकेकी छन् ।

६ वर्षयता निःसन्तान दम्पत्तिहरुलाई पनि सेवा दिन थालेकी उनले विभिन्न समस्याका कारण निःसन्तान भएका झण्डै १ सय दम्पत्तिको उपचार गरिसकेकी छन् । ‘मैले झण्डै १ सय हाराहारीमा निःसन्तान दम्पत्तिको उपचार गरे,’ उनले सुनाइन्, ‘विविध समस्याका कारण निःसन्तान भएका दम्पत्तिको जीवनमा सन्तान सुख भर्न पाउँदा खुसी लाग्दो रहेछ ।’

महिला र निःसन्तानका क्षेत्रमा काम गर्ने रहरकै कारण अहिले श्रीद्धि इन्टरनेशनल अस्पतालसँग मिलेर ‘श्रीद्धि आईभीएफ’ सञ्चालनमा ल्याउने तयारी गरिरहेकी छन् । ‘प्रसुति र प्रजनन सम्बन्धी पढेकाले यसमा आफै केही गर्ने रहर र इच्छा पहिलेदेखि नै थियो,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँग उनले भनिन्, ‘तर, कोभिड—१९ महामारीका कारण दुई वर्ष कुर्नुप¥यो ।’

डा. कार्कीलाई विभिन्न अस्पतालबाट आईभीएफ सेवा सञ्चालनका लागि प्रस्ताव पनि आइरहेको थियो । यही क्रममा उनको भेट युवा व्यवसायी डा. गिर्वाणराज तिमिल्सिनासँग भयो । डा. तिमिल्सिनाले लाजिम्पाटमा सिद्धि इन्टरनेशल हस्पिटल सञ्चालनमा ल्याएका थिए । डा. दीपमाला पनि अस्पतालमा जान थालिन् । उनलाई त्यो लोकेसन र ठाउँले विस्तारै लोभ्याउँदैं गयो ।

‘यहाँ आउँदा—आउदैं मलाई राम्रो लाग्न थाल्यो,’ उनले भनिन्, ‘श्रीद्धिअन्तर्गत आईभीएफ सुरु गर्ने योजना बन्यो ।’ त्यही योजनास्वरुप श्रीद्धि आईभीएफ स्थापनाको काम अगाडि बढाइयो । आवश्यक उपकरणहरु जर्मनी र भारतबाट मगाइयो । ‘केही समयभित्रै श्रीद्धि आईभीएफबाट औपचारिक सेवा दिने तयारीमा छौं,’ उनले भनिन् । अहिले डा. दीपमालाले श्रीद्धिमा ओपीडी सेवा दिन भने थालिसकेकी छन् । आईभीएफका लागि उनले छुट्टै टिम पनि बनाइरहेकी छन् ।

आईभीएफमार्फत भएको कमाइको १० प्रतिशत फाउण्डेसनमार्फत गरिब तथा असहायको सेवामा खर्चिने उनको योजना छ । ‘श्रीद्धि हस्पिटलअन्तर्गत नै यो सेवा सुरु भएको हो, हाम्रो श्रीद्धि फाउण्डेसन पनि छ,’ उनले भनिन्, ‘हामीले आईभीएफको १० प्रतिशत फाउण्डेसनमार्फत दुर्गमका गरिब र विपन्न निःसन्तान दम्पत्तिहरुको उपचारका लागि खर्च गर्न योजना बनाएका छौं । यो मेरो पहिलेदेखिकै रहर पनि हो ।’

फरासिली स्वभावकी यी युवा चिकित्सकले जन्म सर्लाहीको हरिपुरमा भएको हो । उनका बुवा दिलिपकुमार कार्की सरकारी जागिरे थिए भने आमा उर्वसी कार्की हाउस वाइफ । दिलिप र उर्वसीका चार सन्तानमध्ये उनी जेठी हुन् । बुवा सरकारी जागिरे भएकाले बुवाको सरुवा जताजता भयो उनको पढाइ पनि त्यतैबाट हुन थाल्यो । ‘जताजता बुवाको सरुवा हुन्थ्यो,’ उनले भनिन्, ‘त्यतै–त्यतै हाम्रो पढाइ पनि सथ्र्यो ।’

कक्षा ६ पछि भने उनको पढाइ काठमाडौंको कालोपुलस्थित हिमालय विद्या मन्दिरबाट अगाडि बढ्यो । स्कुल जीवनमा भलिबल उनलाई खुबै मन पर्ने खेल थियो । त्यसबाहेक ब्याडमिन्टन पनि उनको रुचि छ । पढाइमा उत्तिकै अब्बल डा. दीपमाला विज्ञान र गणित विषय बढी रुचाउँथिन् । ‘अप्सनल म्याथका हिसाबहरु सल्भ गर्न रमाइलो लाथ्यो,’ उनी स्मरण गर्छिन्, ‘गणितमा मार्क पनि टन्नै आउने भएपछि थप आनन्द लाग्ने ।’

हिमालय विद्या मन्दिरबाटै उनले फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि आईएस्सी पढ्नका लागि सेन्ट मेरिज गइन् । सानैदेखि डाक्टर बन्ने सपना देखेकी उनलाई सेवाको भावनाले त्यतातिर मोडेको हो । अझ महिला भएकाले उनी महिलाकै डाक्टर बन्ने सपना बुन्थिन् ।

सेन्ट मेरिजबाट प्लस टु सकेपछि उनी आफ्नो डाक्टरी सपना पूरा गर्ने बाटोमा लागिन् । ‘पहिलेदेखि नै मनमा डाक्टर पढ्छु भन्ने थियो,’ उनले सुनाइन्, ‘नेपालमा भर्खर—भर्खर मेडिकल कलेज खुलेका थिए । त्यहीकारण धेरैजसो डाक्टर पढ्नेहरुको गन्तब्य बंगलादेश हुन्थ्यो । म पनि एमबीबीएस पढ्न बंगलादेश गए ।’

सन् २००६ मा उनले बंगलादेशबाट एमबीबीएस सकिन् । ‘त्यसपछि नेपाल फर्किए,’ उनले भनिन् । नेपाल फर्केपछि उनले हिमाल अस्पताल, मोडल अस्पताल, ओम अस्पतालमा सेवा दिइन् । उनको विशेषज्ञता हासिल गर्ने हुटहुटी कायमै थियो ।

चार वर्ष विभिन्न अस्पतालमा सेवा गरेपछि उनी विशेषज्ञता हासिल गर्न चीन गइन् । उत्तर पूर्वी चीनको हार्पिङ प्राप्तको जीयामुसी युनिभर्सिटीबाट उनले सन् २०१६ मा स्त्री तथा प्रसुति रोगमा विशेषज्ञता हासिल गरिन् । चीनबाट विशेषज्ञता हासिल गरेपछि स्वदेश फर्केर उनी परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीमा काम गर्न थालिन् । ‘त्यहाँ दुई वर्षजति काम गरे,’ उनले भनिन् ।

कोभिड—१९ महामारी पूर्व डा. दीपमालाले परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको जागिर छाडिन् । त्यसपछि उनी नयाँबानेश्वरस्थित एभरेष्ट हस्पिटलसँग आवद्ध भएर बिरामीको सेवामा सक्रिय रहिन् । यहीबीचमा उनले नयाँदिल्लीको इन्टरनेशल इन्स्टिच्युट अफ रिप्रडक्टीभ एण्ड फर्टिलिटीबाट फेलोसीप पनि गरिन् ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #डा. गिर्वाणराज तिमिल्सिना, #डा. दीपमाला कार्की, #श्रीद्धि इन्टरनेशनल अस्पताल, #सिद्धि आईभीएफ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ