२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप३९ वर्षीय डा. काजनले ५ करोड लगानीमा सञ्चालनमा ल्याए ‘प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक’

३९ वर्षीय डा. काजनले ५ करोड लगानीमा सञ्चालनमा ल्याए ‘प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक’


डा. काजन रानाभाट पेशाले इन्टरभेन्सन न्युरो रेडियोलोजिष्ट हुन् । इष्ट इभिन्यु मेडिकल सेन्टर मनिलाबाट रेडियोलोजीमा एमडी गरेका उनले सिरिराज सेन्टर अफ इन्टरभेन्सल रेडियोलोजी बैककबाट इन्टरभेन्सन न्युरो रेडियोलोजीमा फेलोसीप गरेका छन् । ३९ वर्षीय डा. काजन इन्टरभेन्सन न्युरो रेडियोलोजिष्टका रुपमा ठूला कर्पोरेट अस्पतालहरुबाट बिरामीलाई सेवा दिइरहेका छन् । कमाइ पनि राम्रै छ ।

तर, पनि यी युवा चिकित्सकको मन यतिमै अडिएन् । जागिरेका रुपमा रहँदा बिरामीलाई आफ्नो सोचअनुसारको सुविधासम्पन्न सेवा दिन नसकिने कुरा उनलाई खड्किरहेको थियो । त्यही कारण उनले अन्य तीन जना साथीहरुसँग मिलेर एउटै छानामुनिबाट सबै विशेषज्ञ सेवा दिने मल्टीस्पेसियालिटी सुविधासम्पन्न क्लिनिक खोल्ने योजना बनाए । एक वर्षअघि उनको दिमागमा बनेको त्यो अत्याधुनिक मल्टीस्पेसियालिटी क्लिनिकको सपना विस्तारै आकार लिदैं गयो ।

परिणाम, त्यही योजनाअन्तर्गत एक वर्ष अघिदेखि उनले मल्टीस्पेसियालिटी क्लिनिकको प्रोजेक्ट बनाएरै काम अगाडि बढाए । क्लिनिकको नाम राखे—‘प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक’ । स्लोगन दिए—‘किपस यु वेल’ । त्यसका लागि कुपण्डोलको मुल सडकमा ४ तलाको १३ हजार स्क्वायर फिटको एक भवन भाडामा लिएर काम अगाडि बढाए । ‘यो प्रोजेक्टमा काम गर्न थालेको एक वर्ष भयो,’ क्लिनिकका प्रबन्ध निर्देशकसमेत रहेका डा. काजन भन्छन्, ‘ड्युटी टाइमबाहेकको समयलाई दिएर काम ग¥यौं ।’

एउटै छानामुनि सबै मल्टीस्पेसियालिटी सेवाहरु सहज हिसाबले दिने उद्देश्यले प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक खोलेको उनले सुनाए । ‘बिरामीले खोज्ने र चाहेको सबै खालका गुणस्तरीय सेवा, पारिवारिक वातावरणमा, सुलभ शुल्कले दिने उद्देश्यका साथ हामीले क्लिनिक सुरु गरेका हौँ,’ उनले सुनाए, ‘बिरामीलाई अस्पताल गएकोजस्तो अनुभूति नहोस् । पारिवारिक, शान्त वातावरण र प्यासीफाइड अनुभव दिउ भन्ने हिसाबले प्यासिफिक नाम दिएका हौं ।’ नामजस्तै उनको प्यासिफिकको वातावरण पनि घरमा गएजस्तै अनुभव हुने बनाएका छन् ।

प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक औपचारिक रुपमा उद्घाटन नभएपनि दुई महिनादेखि सेवा भने दिन थालिसकेको छ । ‘ओपिडी सर्भिस सुरु भएको दुई महिना भयो,’ हालैको एक दिउँसो हेल्थआवाजसँग यी युवा चिकित्सक गफिए, ‘चुनाव र आचारसंहिताको कारण उद्घाटनमा ढिलाइ भयो ।’ सबै विशेषज्ञ सेवाका ओपीडीहरु, फिजियोथेरापीका सम्पूर्ण सेवा, अर्थोपेडिक्स, होमकेयर सेवा, डेन्टल सेवा क्लिनिकमा सञ्चालनमा छन् । डे केयरमा हुने इमर्जेन्सीको सुविधा पनि प्यासिफिक क्लिनिकले उपलब्ध गराइरहेको छ ।

डाइग्नोष्टिकतर्फ प्याथालोजी ल्याब, इमेजिङ सेवा (एक्सरे र अल्ट्रासाउण्ड), फिजियो थेरापी सेवा पनि क्लिनिकमा छन् । त्यसबाहेक केही समयमै प्यासिफिकले आफ्नै फर्टीलिटी सेन्टर पनि सञ्चालनमा ल्याउँदैंछ । ‘हाम्रो क्षमता र माग हेरेर सिटिक्यानलगायतका सुविधाहरु पनि थप्दै जान्छौं,’ डा. काजन भन्छन्, ‘हामी सकेसम्म सुविधासम्पन्न वातावरणमा बिरामीलाई धेरै सुविधा उपलब्ध गराउने योजनाका साथ काम गरिरहेका छौं ।’

क्लिनिकमा अहिले २१ जना विशेषज्ञ चिकित्सकले सेवा दिन्छन् । नर्सिङ, ल्याब र अन्यमा गरी २० जना कर्मचारी कार्यरत छन् । आकर्षक अत्याधुनिक शैली र बिरामीलाई उत्कृष्ट सेवा दिने उद्देश्यले खोलिएको क्लिनिकमा अहिलेसम्म ५ करोड लगानीमा भइसकेको छ । ‘पोलीक्लिनिकबाट हाम्रो सेवाहरु सबस्पेसियालिटी मोडलमा गैसकेको छ,’ डा. काजनले भने, ‘जनरल मेडिसिनबाट विशिष्ट सेवाहरु छन् । हामीसँग सबै विधाको सबस्पेसियालिटीहरु होस् भन्ने हाम्रो उद्देश्य छ ।’

हाल नर्भिक इन्टरनेशल हस्पिटल, बीएण्डबी अस्पताल, मनमोहन मेमोरियल अस्पताल र ग्रान्ड़ी अस्पतालमा इन्टरभेन्सन न्यूरो रेडियोलोजी सेवा दिइरहेको डा. काजनको टिममा चिकित्सकसँगै अन्य क्षेत्रका साथी पनि संलग्न छन् । अहिले प्यासिफिक क्लिनिकलाई उनले आफ्नो सोचअनुसार नै डिजाइन गरेर सेवा प्रवाह गरिरहेका छन् । ‘अरुको ठाउँमा काम गर्दा आफले चाहेकोजस्तो हुँदैन् । आफूले दिन खोजेको सेवा दिउ भन्ने हिसाबले काम गर्नको लागि आफ्नै एउटा केही सुरु गर्नुपर्छ भन्ने लागेर म इन्टरपेनरसीपतिर लागेको हो,’ उनले सुनाए ।

डा. काजनको भावि सपना नेपालमै पहिलोपटक प्रत्यारोपण क्लिनिक खोल्ने छ । ‘नेपालमा पहिलोपटक प्रत्यारोपण क्लिनिक सुरु गर्न लागेको छौँ । माग बढ्दो छ,’ उनले भने, ‘तर, के कसरी गर्ने भन्ने सेवा र खर्च बढी हुन्छ । हामी प्रत्यारोपण क्लिनिकबाट प्रत्यारोपण सम्बन्धमा आवश्यक सहजीकरणका सेवाहरु दिनेछौं ।’ उनले ट्रान्सप्लान्टको विस्तृत जानकारी दिने, कतिको आवश्यक छ र दाता भेटाइदिनेलगायतका कामहरु क्लिनिकबाट गर्ने बताए ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज, #डा. कजन रानाभाट, #प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक, #रेडियोलोजी, #सिरिराज सेन्टर अफ इन्टरभेन्सल रेडियोलोजी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ