२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपनेपालका पहिलो अकुलोप्लास्टिक सर्जन डा. रोहितको टिमले संचालनमा ल्यायो ‘काठमाडौं नेत्रालय’

नेपालका पहिलो अकुलोप्लास्टिक सर्जन डा. रोहितको टिमले संचालनमा ल्यायो ‘काठमाडौं नेत्रालय’


काठमाडौं—प्रा.डा. रोहित सैजु २१ वर्षदेखि तिलगंगा आँखा प्रतिष्ठानका बिरामी सेवामा सक्रिय छन् । अष्ट्रेलियाबाट फेलोसीप गरेका नेपालको पहिलो अकुलोप्लास्टिक सर्जन उनले यो अवधिमा हजारौं आँखामा बिरामीलाई सेवा मात्रै दिएनन्, तिलगंगाका अस्पताल निर्देशक भएर व्यवस्थापकीय जिम्मेवारी पनि पूरा गरे । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्रोफेसर उनी अहिले पनि अध्यापन र बिरामी सेवामा उतिकै रमाइरहेका छन् ।

आँखामा विशेषज्ञता प्राप्त गरेपछि तिलगंगामा जागिरे भएका उनी तिलगंगाको सफल यात्राको ग्रासरुटदेखिको साक्षी पनि हुन् । ‘सुरुवाती समयमा तिलगंगा मोतिविन्दुका लागि निकै कहलिएको थियो । तर, अहिलेसम्म डाइबटिज र बाथ रोगका कारण आँखा बिग्रने र अन्य विभिन्न रोगहरुका बिरामीलाई त्यो बेला रिफर गर्नुपथ्र्यो,’ उनले सम्झिए । पछि तिलगंगाले आँखामा अन्य सेवाहरु पनि विस्तार गर्दै गयो ।

कुशल लिडरको नेतृत्वमा तिलगंगा अहिले आँखाका बिरामीको विश्वासको केन्द्रमात्रै बनेको छैन्, रिफरल सेवा दिने अस्पताल प्रमुख अस्पताल पनि बनेको छ । ‘तिलगंगामा उपचार नभएपछि अहिले कतिपय बिरामीहरु यहाँ सम्भव नभएको उपचार कहाँ होला र ? भन्दैं सन्तोष लिएर फर्कन्छन्,’ डा. सैजु भन्छन् । तर, पछिल्ला दिनहरुमा तिलगंगामा बिरामीको तीब्र चाप छ । जसका कारण खोजिएको कुरा बिरामीको चाप गर्दा दिन नसकिएको उनी बताउँछन् । ‘त्यहाँ बिरामीका चापका कारण अहिले झण्डै आधा दिन खर्चिनुपर्छ,’ उनी भन्छन्, ‘अहिलेको समयमा यति धेरै समय मानिसहरुसँग छैन ।’

त्यहीकारण डा. सैजुको दिमागमा ४ वर्षदेखि आँखाको उत्कृष्ट स्वास्थ्य सेवा दिने, समय धेरै नलाग्ने, खोजेको सिनियर डाक्टरबाट जाँच गराउन पाउने केन्द्रको खाँचो महसुस भइरहेको थियो । ‘पैसा पनि तिर्छौ, राम्रो सेवा पनि खोज्छौं भन्नेहरु छन्,’ उनी भन्छन्, ‘त्यसै कारण धेरै मानिसहरु स्तरीय उपचार खोज्दै भारत र बैंकक पनि पुगिरहेका छन् ।’

ती भारत र बैंकक पुग्नेहरुलाई उनीहरुले चाहेको सेवा दिएर नेपालमै रोक्ने, भिडभन्दा बाहिरबाट थोरै मानिसलाई स्तरीय सेवा दिने सोच एक्लै पूरा गर्न सम्भव थिएन । त्यही कारण उनले साथीभाइको समूहमा छलफल चलाए । डा. सैजुको योजनामा साथ दिनेहरु बढ्दैं गए । त्यही कारण ४ वर्षअघिदेखि डा.सैजुले परिकल्पना गरेको अत्याधुनिक सुविधासम्पन्न सेन्टर स्थापनाको यात्रा गत बैशाखबाट मूर्त रुपमा अगाडि बढ्यो ।

८—९ जनाको टिम जुटेपछि बाँसबारीस्थित एक भवनको ३ हजार स्क्वार फिट क्षेत्रफल भाडामा लिए । त्यहाँ ‘काठमाडौं नेत्रालय’ स्थापनाको काम सुरु गरे । एक तलामा ओपीडीहरुको सेटअप सकिएपछि काठमाडौं नेत्रालयले दुई हप्ताअघिबाट ओपीडी सेवा सञ्चालनमा ल्याइसकेको छ । ‘भिडभन्दा बाहिर थोरै मानिसहरुलाई स्तरीय सेवा दिने उद्देश्यका साथ काठमाडौं नेत्रालय खुलेको हो,’ काठमाडौं नेत्रालयका प्रबन्ध निर्देशक डा. सैजु भन्छन्, ‘जुन अहिले सहरमा बसिरहेका मानिसहरुको चाहना पनि हो ।’ उनकाअनुसार लाइनमा नलाग्नुपर्ने, सिनियर चिकित्सकहरु, लेटेष्ट टेक्नोलोजी जाँच र सर्जरी गर्ने भन्ने सोच राख्ने मान्छेहरुलाई टार्गेट गरेर बनाएको सोच र गन्तव्य काठमाडौं नेत्रालय हो ।

अहिले काठमाडौं नेत्रालयमा नेपालका प्रख्यात रेटिना सर्जनहरु डा. गोविन्द पौडेल र डा. सन्यम बजियम, प्यास्टिक सर्जरी डा. रोहित सैजु, जलविन्दुका चिकित्सक डा. प्रगति गौतम अधिकारीको क्लिनिक टिम जोडिएको छ । डा. सैजुले केही समयमै विभिन्न विधाका थप ५ जना विशेषज्ञ चिकित्सकहरु पनि थप गरिने जानकारी दिए ।

काठमाडौं नेत्रालयले माथिल्लो तलमा ओपीडी ब्लक सेटअप भइसकेको छ । अब तल्लो तलामा सर्जिकल ब्लक सेटअप एक महिनाभित्र सक्नेगरी काम भइरहेको छ । ‘हामीले विस्तारैं अगाडि जाने सोचका साथ काम सुरु गरेका छौं,’ उनले भने, ‘सर्जिकल ब्लक पनि हामी एक महिनाभित्रै सुरु गर्छौ । डा. सैजुकाअनुसार काठमाडौं नेत्रालयले एकदमै सिनियर चिकित्सकहरुबाट सेवा प्रवाह गर्नेछ । उनकाअनुसार अहिले भएका सबै चिकित्सकहरु पनि आ—आफ्नो विधामा पोख्त छन् । ‘क्याट्रयाक्ट, रेटिना, अकुलोप्यालास्टिक र ग्लूकोमा यो चार वटा हाम्रो स्ट्रेन्थ हो,’ उनले भने, ‘हामी जे गर्छौ राम्ररी गर्छौ । सकेसम्म बिरामीलाई सन्तुष्ट पार्ने गरी गर्छौ ।’

काठमाडौं नेत्रालय अहिले प्रारम्भिक चरणमा छ । यो पूर्ण रुपमा सञ्चालनमा आउँदा ५० जनाको टिम हुने आँकलन व्यवस्थापनको छ ।  ‘एक वर्षदेखि दुई वर्षभित्र हामी धेरै विस्तृत भइसक्छौं,’ डा. सैजुले भने, ‘हाम्रो सेवामा पनि विविधता आउँछ । अरु स्ट्रेन्थहरुमा पनि भेराइटिजहरु आउँछ ।’

अहिले नेत्रालयमा कार्यरत रहेकामध्ये डा. पौडेल र डा. सैजु प्राध्यापक हुन् भने डा. सन्यम र डा. प्रगति एसिस्टेन्ट प्रोफेसर हुन् । एकेडेमिक व्यक्तिहरुको टिम नै रहेकाले काठमाडौं नेत्रालयलाई भविष्यमा एकेडेमिक टच दिने योजना पनि व्यवस्थापनको छ । ‘एकेडेमिक फिल्डमै रहेकाले आफूले जानेको कुरा देशलाई आवश्यक जनशक्तिका लागि काठमाडौं नेत्रालयबाट छोटो तालिम अथवा फेलोसीप सञ्चालन गर्ने योजना पनि छ,’ उनले भने । त्यसका लागि बिरामी र रिसोर्सको आवश्यक पर्ने उनले बताए ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #काठमाडौं नेत्रालय, #तिलगंगा आँखा प्रतिष्ठान, #प्रा.डा. रोहित सैजु


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ