२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपएपोलो ल्याबकी प्रमुख डा. मनिषा, जो आकर्षक जागिर छाडेर व्यवसायमा चुनौती लिन तम्सिइन्

एपोलो ल्याबकी प्रमुख डा. मनिषा, जो आकर्षक जागिर छाडेर व्यवसायमा चुनौती लिन तम्सिइन्


डा. मनिषा शर्मा पेशाले माइक्रोबायोलोजिष्ट हुन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी गरेकी उनले यो क्षेत्रमा एक दशक लामो अनुभव हासिल गरिसकेकी छन् । दाङमा जन्मेर काठमाडौंमा हुर्के बढेकी उनले पढाइ सकेपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा काम गरिन् । ग्राण्डीसँगै उनी काठमाडौं मेडिकल कलेजमा कामसँगसँगै एसोसिएट प्रोफेसरका रुपमा अध्यापनमा पनि सक्रिय भइन् ।

विशेषज्ञता हासिल गरेको झण्डै १० वर्ष जागिरे र अध्यापनमा जीवन बिताइन् । तर, जागिर र अध्यापनलै मात्रै रोकिरहन सकेन् । त्यही कारण आफ्नै केही फरक र नौलो गर्ने योजना बनाउन थालिन् । ‘दश वर्षको अनुभवपछि आफ्नै केही गरौँ भन्ने लाग्यो । एउटा राम्रो सेन्टरको स्थापना गरौं भन्ने सोचे,’ डा. मनिषा भन्छिन्, ‘प्रायजसो सेन्टरहरु प्याथोलोजिष्टहरुबाट संचालित हुन्छन् । त्यसैले मैले माइक्रोबायोलोजीलाई अलिक प्राथमिकता दिने गरी सेन्टर स्थापना गर्न खोजे ।’

एक वर्षअघि उनको दिमागमा बनेको यो सपनाले विस्तारै मूर्त रुप लिन थाल्यो । उनीसँगै जोडिए प्रबन्ध निर्देशक विनोद रेग्मीसहितका साथीहरु । ९ जनाको टिम बनेपछि गत मंसिरमा उनले ग्राण्डी र केएमसी दुवैतिरको जागिर छाडिन् । त्यसपछि ठाउँ खोज्न र अन्य तयारीहरु अगाडि बढाउन झण्डै दुई महिना लाग्यो । गत वर्ष माघदेखि ए ग्रेडको प्रयोगशला स्थापनाका सबै कामहरु अगाडि बढे ।

धुम्बाराहीको मीना भवनमा राम्रो प्रयोगशालाका लागि आवश्यक पर्ने पूर्वाधारहरु तयार गर्न थालियो । त्यही क्रममा ३—४ वटा छानिएका नामबाट उनको टिमले ‘एपोलो डाइग्नोष्टिक सेन्टर’ नाम चयन गर्‍यो । माघदेखि लगभग तीन महिनामा ४३ सय स्वाक्यर फिट क्षेत्रमा अत्याधुनिक ‘ए’ ग्रेडको एपोलो डाइग्नोनिष्ट सेन्टर तयार पारियो । ‘मेसिनरी जाँचदेखि टिम निर्माणसम्मका कुरा सबै समयमै सक्यौं,’ एपोलोकी ल्याब निर्देशक ३७ वर्षीषा डा. मनिषा सुनाउँछिन्, ‘पिसिआर टेष्टहरु सम्पूर्ण तवरमा माइटोकोन्ड्रममा पर्छ । त्यस्तै, कल्चरहरुको पनि खासै वास्ता गरिँदैन्, त्यसैले मल्टीस्पेसियालिटीलाई ध्यान दिँदै माइक्रोबायोलोजीलाई केन्द्रित गर्न उद्देश्यसहित ल्याब सुरु गर्‍यौं ।’

एपोलो डाइग्नोष्टिक औपचारिक रुपमा गत बैशाखबाट संचालनमा आएको हो । अहिले एपोलोले विस्तारै डाइग्नोष्टिक क्षेत्रमा आफूलाई स्थापित गर्दैछ । ‘हामी सुरुवाती चरणमै छौं,’ उनी भन्छिन्, ‘यो लामो दौडको घोडा हो । हामीले एपोलोको गुणस्तरमा विशेष ध्यान दिएका छौं ।’

अहिले एपोलोमा तीन जना प्याथालोजिष्ट, २ जना माइक्रोबायोलोजिष्टसहित ३० जनाभन्दा बढीको टिम सक्रिय छ । एपोलोले ५ सयभन्दा बढी जाँच सेवा प्रदान गरिरहेको छ । ‘ए ग्रेडको ल्याब भएकाले पनि हाम्रो क्षमता राम्रै छ । स्थापना भएर काममा लागेको थोरै समय भएकाले अझै पनि बजार बुझ्न र लिन केही समय लाग्छ नै,’ डा. मनिषा भन्छिन्, ‘तर, पनि हाल ५ सयभन्दा बढी जाँचहरु उपलब्ध छन् । यो जाँचहरुको संख्या अझ बढाउँदैं लैजान्छौं ।’

अहिलेसम्म आधुनिक सेटअप, अत्याधुनिक उपकरणहरुसमेत गरेर एपोलोमा झण्डै ८ करोड बढी लगानी भइसकेको छ । अझ सेवा विस्तार र अन्य काममा केही थप रकम खर्च हुने भएकाले यो लगानी केही बढ्न सक्ने उनी बताउँछिन् । डा. मनिषाकाअनुसार ‘ए’ ग्रेडको ल्याबलाई मल्टीस्पेसलाइज्ड गरेर एपोलोमा कामहरु भइरहेका छन् । ‘विशेषतः धेरै नमुनाहरु जाँचका लागि नेपालबाट बाहिर पठाइन्छन् । ती जाँच नेपालमै सम्भव गर्नका लागि यो सेन्टर खोलिएको हो,’ यी युवा उद्यमी चिकित्सकले प्रष्टयाइन्, ‘धेरै विधाका रोगहरुको पहिचान तथा उपचारलाई सहज बनाउन विभिन्न सेवा संचालनमा छन् र केही थपिने क्रममा छन् ।’

नेपालमा फंगस र त्यसको सेन्सेटीभिटीका परीक्षण कम हुने भएकाले मनिषाको ध्यान पनि त्यता गएको छ । ‘फंगसको सेन्सेटिभिटीसँग जोडिएका जाँचहरु नेपालमा बिरलै हुन्छन् । त्यसैले मलाई त्यो सेवा निकट भविष्यमै थप्ने मन छ,’ उनले भविष्यको योजना खोलिन्, ‘हामीसँग नेपालमा हुँदै नहुने जाँचहरु पनि यही उपलब्ध गराउने उद्धेश्य छ । पिसिआर भन्नासाथै मानीसहरुले कोभिडको भन्ने बुझ्छन् । तर, पिसिआरबाट क्षयरोगलगायतका अन्य कुराको पनि जाँच हुन्छ, अब यसलाई विस्तृत गर्दै जाने सोच पनि छ ।’

जागिरको कन्फर्ट जोनबाट आफ्नै व्यवसायमा गर्ने चुनौतीपूर्ण बाटोमा अंगालेकी उनका लागि यो नयाँ क्षेत्र हो । तर, उनी आत्मविश्वासी बनेर कामलाई अगाडि बढाइरहेकी छन् । जागिर गर्दा रिपोर्ट तयार गर्ने लगायतका कार्यहरु गर्नुपथ्र्यो भने हाल मानिसहरुसँग प्रत्यक्ष अन्तक्रिया गर्नेदेखि बजार बुझ्नेजस्ता कामहरुमा पनि थपिएका छन् । जनशक्ति परिचालन, गुणस्तर कायम गर्नमा पनि उनको प्रमुख जिम्मेवारी छ । ‘मेरा लागि एकदमै नयाँ पाटो हो, त्यसैले चूनौतीपूर्ण पनि छ,’ उनले कुराको बिट मार्नु पूर्व भनिन्, ‘यहाँबाट मैले धेरै नयाँ कुराहरु सिकिरहेकी छु ।’


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #एपोलो डाइग्नोष्टिक सेन्टर, #डा. मनिषा शर्मा, #माइक्रोबायोलोजिष्ट, #विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ