२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपयुवा उद्यमी निखिल : जो नेपाली उत्पादन ‘डिभा’लाई ग्लोबल ब्राण्ड बनाउन खोज्दैंछन्

युवा उद्यमी निखिल : जो नेपाली उत्पादन ‘डिभा’लाई ग्लोबल ब्राण्ड बनाउन खोज्दैंछन्


निखिल खण्डेलवाल नेपालकै ठूलो आयुर्वेद औषधि उत्पादक कम्पनी भाष्कर हर्बोस्युटिकल्सको इमर्जिङ विइङ ‘भाष्कर वेलनेस’का कार्यकारी निर्देशक हुन् । सन् २०१९ मा जापानबाट फर्केर नेपाल आएका ३८ वर्षीय उनले आफ्नै अग्रसरतामा ‘भाष्कर वेलसेन’ स्थापना गरेका छन्।

जापानमा लामो समय जागिर गरेपछि उनमा आफ्नै केही गर्ने हुटहुटी सुरु भयो । त्यही हुटहुटीकै कारण उनले जागिर छाडेर एक जना साथीसँगको सहकार्यमा सन् २०१७ मा जापानमै आयुरवर्ल्ड  नामक कम्पनी स्थापना गरे । जसको काम नेपाल र भारतबाट आयुर्वेद औषधिलगायतका सामाग्री जापान आयात गर्ने थियो । त्यसको व्यवस्थापकमा रुपमा केही समय काम गरेपछि उनले अनेकन समस्या देखें । कहिले नेपाल र भारतका आयुर्वेद प्रडक्टको गुणस्तर नपुग्ने, कहिले प्याकिङ नमिल्ने, कहिले के कहिले के ?

‘जापानको गुणस्तरलाई समेट्ने प्रोडक्ट चाहिएको थियो,’ निखिल भन्छन्, ‘नेपाल र भारतबाट उत्पादन मगाउँदा गुणस्तरलाई मेल खाएन् । केही न केही कम हुने भयो ।’ यो अवधिमा उनी पटक-पटक नेपालसमेत आए । अरुले गरेका उत्पादन आफूले खोजेजस्तो गुणस्तर र प्याकिङमा नपाएपछि नेपालमा फर्केर आफै उत्पादन किन नगर्ने भन्ने प्रश्न उनमा उब्जियो ।

‘आफूले पनि धेरै अनुभव पाइसकेको थिए । बरु नेपालमै फर्केर केही गर्न सकियो भने नेपालमा पनि राम्रो गुणस्तरको उत्पादन भयो भने सबैतिरको लागि राम्रो हुन्छ भन्ने लाग्यो,’ उनले भने, ‘नेपाललाई पनि भिन्न रुपमा चिनाउन सकिन्छ कि सोचेर सन् २०१९ मा फर्किए ।’ लामो जापान बसाइँलाई बिट मारेर नेपाली माटोमै केही गर्ने योजनाका साथ उनी नेपाल फर्किएका थिए ।

नेपाल फर्केर अध्ययन गरेपछि वेलनेस सम्बन्धि प्रडक्टहरु उत्पादन गर्ने उधोग खोल्ने योजना बनाए । उनका बुवाले त्यसअघि नै सन् २००९ तिरबाटैं भाष्कर हर्बोस्युटिकल्स स्थापना गरेका थिए । जुन पर्साको वीरगन्जमा रहेको नेपालको एकमात्र जिएमपी मान्यताप्राप्त आयुर्वेद औषधि उत्पादक हो । निखिलले बुवाले सुरु गरेको त्यही भाष्करकै एउटा विङ्गको रुपमा सन् २०१९ मै ‘भाष्कर वेलनेस’ स्थापना गरे ।

‘मैले १५ जना कर्मचारीका साथ भाष्कर वेलनेस विइङ सुरु गरें,’ निखिल भन्छन्, ‘सुरुमा ७–८ वटा साबुन, स्याम्पु, बामलगायतका उत्पादनहरु गर्न थाल्यौं ।’ उनले आफू नेतृत्वको ‘भाष्कर वेलनेस’ले उत्पादन गरेका साबुनलगायतका केही सामाग्री विदेश पनि पठाए । तर, साबुनलगायतका वेलनेस प्रडक्टमा सोचेजस्तो रिजल्ट प्राप्त गर्न सकिरहेका थिएनन् ।

एकदिन उनलाई एकजना युवतीले भनिन्, ‘मलाई साबुनको गुणस्तर राम्रो लाग्यो । तर, यो भाष्कर भन्ने नाम नै नकिनु–नकिनु लाग्ने खालको छ ।’ यो कुरा निखिललाई पनि स्ट्राइक भयो । ‘भाष्कर’ पुरुषको नामजस्तो लाग्ने भएकाले पनि धेरैले नरुचाएको निचोडमा उनी पुगे । त्यसपछि साथीहरुसँग सल्लाह गरेर ‘डिभा’ नाम राखे ।

पाँच वर्ष नपुग्दै भाष्कर वेलनेसअन्तर्गत ‘डिभा’ नामक झण्डै ४० वटा उत्पादन बजारमा छन् । जसअन्तर्गत साबुन, स्याम्पु, कडिन्सनर, हेयर ओइल, लिप बाम, मोइस्चराइजर, सिरम, टोनिङ, हाइड्रेटिङ मिस्ट, फेसवास आदि छन् । यसबाहेक भाष्कर वेलनेसले अन्य आधा दर्जन कम्पनीलाई उनीहरुकै नाममा प्रडक्टहरु उत्पादन गरेर दिन्छ । जापान र अमेरिकामा पनि नेपाली उत्पादन पुगेका छन् । ‘यी उत्पादनहरु धेरैजसो नेपालकै कच्चा पदार्थहरु प्रयोग गरेर बनाइएका छन्,’ निखिल भन्छन् । हाल भाष्कर वेलनेसमा ३५ जनाभन्दा बढी कर्मचारी कार्यरत छन् ।

लामो समय जापानमा बिताएका यी युवा उद्यमीलाई हामीले सोध्यौं, ‘यो पाँच वर्षको अनुभव कस्तो रह्यो ?’ उनले उत्तर फर्काए, ‘नेपालीहरुमा अझै पनि विदेशमा उत्पादन भएको सामान मात्र राम्रो हुन्छ भन्ने सोचाइ छ । यसलाई कसरी परिवर्तन गर्ने भन्नेछ । हाम्रो उत्पादनलाई जापान र अमेरिकाले स्वीकार्दा नेपालमा अलिक गाह्रै भइरहेको छ ।’

स्वदेशमा विद्यमान तमाम चुनौतीका बाबजुद पनि निखिल ‘डिभा’लाई नेपालको ग्लोबल ब्राण्ड बनाउने सपना देखिरहेका छन् । ‘यसअन्तर्गत धेरै राम्रा उत्पादनहरु छन् । ‘प्रकृति’ भन्ने ब्राण्ड पनि बाहिर बनिरहेको छ,’ उनले भने, ‘यसलाई पनि विस्तार गर्नुछ । नेपालका जति पनि होटल छन्, त्यहाँ नेपालको उत्पादनहरु पुर्‍याउने प्रयास जारी छ ।’ हिमालयन च्युरीको घिउ, ढटेलोको तेललगायतका नेपालमा पाइने प्राकृतिक कच्चा पदार्थबाट प्रडक्ट नेपालमात्रै नभएर अन्य मुलुकहरुमा निर्यात गर्ने भाष्कर वेलनेसको योजना छ ।

अहिले नेपाली होटलमा प्रयोग गरिने टुथपेष्ट, ब्रस, साबुन, स्यापुजस्ता प्रडक्टलाई भाष्करले आफ्ना अग्र्यानिक नेपाली प्रक्डटले रिप्लेस गर्ने योजनामा काम गर्दैछ । साथै, अमेरिका, जापान, क्यानडालगायतका देशहरुमा पनि हिमालयको देश नेपालका प्रडक्टहरु पु¥याउने सपना निखिलले देखिइरहेका छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ