२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपफोल्लिडर्ममा युवा चिकित्सक डा. प्रमोदको उडान

फोल्लिडर्ममा युवा चिकित्सक डा. प्रमोदको उडान

८० लाख लगानीमा सुरु भएको फोल्लिडर्मको ६ वर्षमै १० करोडसम्म यात्रा


काठमाडौंमै जन्मे हुर्केका डा. प्रमोद अग्रवालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस गरे । त्यसपछि उनी थप विशेषज्ञता हासिल गर्न भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित अल इण्डियन इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) गए । एम्समा डर्माटोलोजीमा एमडी अध्ययन सुरु गरे । सन् २०१४ मा एमडी सकेपछि उनी नेपालमै फर्केर केही गर्ने योजनामा थिए ।

तर, उनकी श्रीमती डा. खुश्बु खेतान एम्समै प्याथालोजीमा एमडी गरिरहेकी थिइन् । त्यसैले तत्काल नेपाल फर्कन सम्भव भएन् । ‘त्यसपछि मैले भिएलसीसीको (कस्मेटिक चेन)को हेयर ट्रान्सप्लान्ट डिभिजनको प्रमुखमा नियुक्ति पाएँ,’ उनी भन्छन्, ‘मैले नै त्यहाँ यो डिभिजनको स्थापना गरे ।’ उनले त्यहाँ रहँदा भारतमै लगभग १८ वटा सेन्टरमा यो सेवा विस्तार गरे । विश्वभरका ३०० वटा सेन्टरको हेयर ट्रान्सप्लान्ट युनिटको कमाण्ड गर्ने जिम्मेवारी उनको थियो ।

नाम र दाम राम्रो भएपनि डा. प्रमोद आफू जन्मेकै ठाउँमा केही गर्न चाहन्थे । ‘त्यहाँको जागिर राम्रो भएपनि मलाई नेपालमै आएर केही गर्न मन थियो,’ उनले भने । उनले आफ्नो योजना श्रीमती डा. खुश्बुलाई पनि बताए । उनको योजनामा श्रीमतीले साथ दिइन् । तर, उनले श्रीमतीको पढाइ सकिने समय कुर्नुपर्ने भयो । बीचकै केही समय नेपाल आएर आधार बनाउन उनी लागि परे ।

सन् २०१६ मा उनले पार्टटाइम रुपमा नेपाल फर्केर काम गर्न सुरु गरे । त्यसका लागि आफ्ना केही साथीभाइहरुसँग मिलेर विशालनगरमा झण्डै ८० लाख रुपैयाँ लगानीमा क्लिनिक स्थापना गरे । २७ वर्षमा एमडी सकेर फोल्लिडर्म सुरु गरेका उनले सुरुमा १५ जना कर्मचारीहरुबाट सेवा दिन थाले ।  त्यतिबेला नेपालमा हेयर ट्रान्सप्लान्ट सेवाहरु अहिलेजस्तो विस्तार भइसकेको थिएन् । ‘हामीले यहाँ कपाल प्रत्यारोपण क्लिनिक खोल्दा सायद कसैको थिएन । धुलिखेलमा सुरु हुन लागेको थियो,’ डा. प्रमोद सम्झन्छन्, ‘नेपालबाट कपाल प्रत्यारोपणका लागि धेरै जना बाहिर जानुहुन्थ्यो ।’

सन् २०१७ मा डा. प्रमोद श्रीमतीको एमडी सकिएपछि परिवारसहित नेपाल फर्किए । यो बीचमा उनले नयाँदिल्लीमै पनि पार्टनरसीपमा हेयर ट्रान्सप्लान्ट क्लिनिक खोलिसकेका थिए । जुन अहिले पनि सञ्चालनमै छ । ‘सुरु–सुरुमा त म दुवैतिर हेर्थे । तर, सन् २०१७ पछि यहाँ फोल्लिडर्मले बिरामीहरुको विश्वास जित्दैं गएपछि पूर्णकालीन रुपमा खट्नुपर्ने अवस्था आयो,’ उनले भने । अहिले उनी अधिकांश समय नेपालमै हुन्छन् ।

आकर्षक कमाइ हुने जागिर मोहबाट कसरी उम्किए उनी ? डा. प्रमोदलाई नेपालमा बसेर आफै केही गर्नु थियो । संयुक्त पारिवारिक विरासत भएको उनको परिवारको चाहना पनि स्वदेशमै आफ्नै केही गर्नुपर्छ भन्ने नै थियो । ‘अरुको जागिर खाँदा सिस्टमले पनि आफूअनुसारको अवसर र साथ दिन सकिँदैन्, सम्झौता गर्नपर्ने हुन्छ,’ प्रमोद सुनाउँछन्, ‘कर्पोरेटले दिने दबाब भिन्नै हुन्छ । तर, आफ्नै गर्दा आफ्नो इच्छाले बिरामीलाई गणस्तरीय सेवा दिन सकिन्छ साथै कुनै दबाब पनि हुँदैन् ।’

सुरुमा फोल्लिडर्ममा कपाल प्रत्यारोपण सम्बन्धि सेवालगायत थोरै मात्र सेवाहरु थिए । विस्तारै सेवाग्राहीहरुले राम्रो प्रतिक्रिया दिन थाले । क्लिनिकले क्वालिटी सर्विस प्रवाह गरेपछि बिरामीको चाप पनि बढ्दैं गयो । फोल्लिडर्मले आफ्ना सेवाहरु पनि थप्दै गयो । अहिले बालुवाटारस्थित फोल्लिडर्मले अत्याधुनिक प्रविधीबाट हेयर ट्रान्सप्लान्ट, आईब्रो ट्रान्सप्लान्ट, जुँगा र दाह्री ट्रान्सप्लान्ट, पुरानो ट्रान्सप्लान्ट रिपेयर, एन्टी हेयर लस थेरापी (पीआरपी, मेसोथेरापी, एलएलएलटी) सम्बन्धी सेवाहरु दिइरहेको छ ।

डा. प्रमोदले हेयर ट्रान्सप्लान्टसँगै फोल्लिडर्मको अर्को विइङका रुपमा ‘एलारा’ सुरु गरेका छन् । एलाराले स्कीन एण्ड लेजर सम्बन्धि सेवाहरु दिइरहेको छ । ‘लेजर, बोटक्स, फिलरलगायत जे—जे सुविधाहरु छन् ती सबै उपलब्ध छन्,’ उनी भन्छन्, ‘फोल्लिडर्म भनेर हेयर ट्रान्सप्लान्ट गर्ने ब्राण्ड छ । र, छालासम्बन्धी एलारा भन्ने ब्राण्ड छ ।’ अहिले फोल्लिडर्म र एलारामा प्लाज्मा ट्रिटमेन्ट (पिआरपी), ट्रान्सप्लान्ट, कोठी हटाउने, लेजर, चाउरीपनाको लागि बोटोक्स, फिलर, टयाटू हटाउने, डण्डीफोरको समस्या सम्बन्धि ट्रिटमेन्ट, सेतो दुबी हटाउनेलगायतका धेरै सेवाहरु छन् ।

फोल्लिडर्म र एलारामा स्वदेशी विरामीहरु मात्रै आउँदैनन् । विदेशका विभिन्न ठाउँहरुबाट पनि बिरामीहरु सेवा लिन आउँछन् । ‘हामी कहाँ विदेशमा बस्ने नेपाली र विदेशी गरी हालसम्म ४२ वटा देशमा बस्ने मानिसहरु सेवा लिन आउनुभएको छ,’ डा. प्रमोद भन्छन्, ‘हामीले गुणस्तरीय सेवामा विश्वास गर्छौं ।’ यसले थोरै नै सही विदेशी मुद्रा आर्जनमा नेपाललाई टेवा पु¥याइरहेको छ । फोल्लिडर्म र एलारामा बिरामीहरुलाई राम्रो परामर्शदेखि ट्रिटमेन्टमा उच्चस्तरीय प्रविधि तथा सामानको प्रयोग हुन्छ । फोल्लिडर्मले हेयर ट्रान्सप्लान्टका लागि प्रयोग गरेको प्रविधि विश्वमा पनि कमैले प्रयोग गर्छन् ।

‘विश्वमा नै यो प्रविधीको प्रयोग गर्ने जम्मा ६–७ जना हुनुहन्छ होला,’ उनी दावी गर्छन्, ‘यो प्रविधिलाई डाइरेक्ट हेयर ट्रान्सप्लान्ट टेक्नोलोजी भनिन्छ ।’ नेपालमा अहिले पनि कतिपयलाई विदेशमा गएर उपचार गरेमा राम्रो सेवा पाइन्छ भन्ने सोच छ । तर, नेपालमै पनि सुविधासम्पन्न क्लिनिकहरुले विश्वस्तरीय सेवा दिन्छन् । ‘कस्मेटिक सर्जरीको लागि बाहिर जानुपर्दैन भन्ने विश्वास दिलाउनु छ,’ डा. प्रमोद भन्छन् ।
सुरूवाती टिम
उनी नेपाललाई स्कीन र हेयर ट्रान्सप्लान्टका लागि विदेशीसमेत उपचार गर्न आउने डेस्टिनेस कसरी बनाउन सकिन्छ भन्नेमा लागेका छन् । ‘विश्वमा हेयर ट्रान्सप्लान्टको लागि मानिसहरुको गन्तब्य टर्की हो,’ डा. प्रमोद भविष्यको योजनाबारे खुल्छन्, ‘अमेरिका, अस्ट्रेलिया, युरोप र अन्य मध्य एसियाका प्रायः मानिसहरु टर्की जान्छन् ।

त्यस्तै, भारत दास्रो ठूलो गन्तब्य भइसकेको छ । नेपाल पर्यटकहरुको गन्तब्य हो । हामीले यी ट्रिटमेन्हरु सुलभ, गुणस्तरीय र विश्वासयोग्य तरिकाले दिन सक्यौं भने मेडिकल टुरिज्मको प्रचुर सम्भावना बढ्छ ।’ सरकारले पनि नेपालमा प्रोटोकलअनुसार काम गरिन्छ, सुरक्षित सेवा प्रदान गरिन्छ भन्ने कुराको प्रमोसन गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

विदेशीमाझ कपाल र छाला उपचारका लागि प्रचार गर्न सकिएमा घुम्नका लागि आउने पर्यटकहरुले थाइल्याण्डमा जस्तै घुमघामसँगै यस्ता ट्रिटमेन्ट र सर्जरीहरु सेवाहरु पनि लिएर जान्छन् । ‘नेपालीसँगै विदेशीका लागि पनि राम्रो गर्न सकिन्छ,’ उनी भन्छन् ।

अहिलेको टिम

डा. प्रमोद र उनको टिमको मेहनतले फोल्लिडर्म र एलारा दिनप्रतिदिन सफलताको बाटोमा हिडिहरेका छन् । परिणाम नै मान्नुपर्छ, सुरुवाती दिनहरुमा २०–२५ जना बिरामीबाट सुरु भएको क्लिनिकमा अहिले औसत दैनिक ६०–७० बिरामी सेवा लिन्छन् । पाँच जना विशेषज्ञ चिकित्सकसहित ५४ जना कर्मचारीले फोल्लिडर्म र एलारामा काम गर्छन् । अहिले क्लिनिकमा झण्डै १० करोड बढी लगानी भइसकेको छ । सुरुवाती दिनहरुमा व्यवस्थापनसमेत डा. प्रमोद आफैले सम्हालेका थिए तर अहिले उनी बिरामीको सेवामात्रै फोकस भएका छन् ।

पुर्खौली घर मोरङ भएका उनी आफ्नो कामले मान्छेहरुले चिनुन भन्ने सोचाइ राख्छन् । ‘मलाई मेरो कामले नै मान्छेहरुले चिनुन् भन्ने लाग्छ,’ कुराको विटमार्नुपूर्व उनी भन्छन्, ‘सानो ठाउँमा तपाईँले राम्रो काम गर्नुहुन्छ भने मानिसहरुले चिन्छन् ।’ उनी युवाहरुलाई जुनै काम गरे पनि मेहनतका गर्दा सफल भइन्छ भन्ने सुझाव दिन चाहन्छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #एम्स, #एलारा, #कपाल प्रत्यारोपण, #डा. खुश्बु खेतान, #डा. प्रमोद अग्रवाल, #फोल्लिडर्म


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ