वि.सं. २०८२ मंसिर पहिलो साताबाट युवा व्यवसायी राजेन्द्र शर्माले मोफसलबाट काठमाडौं उपत्यकामा व्यवसायिक यात्रा सुरु गरेका छन् । सुदूरपश्चिम र मध्यपश्चिममा प्राविधिक शिक्षा व्यवसायमा हासिल गरेको अनुभवसहित उनी ‘राजधानी सहरमा’मा व्यवसाय गर्ने योजनासहित आएका हुन् । ललितपुरको ग्वार्कोस्थित नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजी (निम्स्ट) र १०० शय्याको ग्लोबल हस्पिटलको शैक्षिक कार्यक्रम र सेटअपको डिल टुंग्याएर सुर्खेतका ३२ वर्षीय युवा व्यवसायी राजेन्द्र अहिले ती संस्थालाई नयाँ ढंगले ब्राण्डिङ गर्दैछन् ।
निम्स्टमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)का पिसिएल नर्सिङ, एचए, फार्मेसी, ल्याब र रेडियोग्राफी कार्यक्रम सञ्चालनमा छन् । जहाँ झण्डै दुई दर्जन कर्मचारी र ४०० बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । कुनै समय बेग्लै ब्राण्ड बनाएको तर पछिल्लो समय थला परेको १०० शय्याको ग्लोबल अस्पताललाई उनी नयाँ ढंगले रिब्राण्डिङ गर्दैछन् । अहिले ग्लोबल हस्पिटलमा ४० जनाभन्दा बढी कर्मचारी छन् ।
‘नर्स, डाक्टर, पारामेडिक्स कर्मचारीहरुको विज्ञापन गरिरहेका छौं,’ उनले भने, ‘पूर्ण रुपमा अस्पताल सञ्चालनमा आउँदा १२० देखि १५० जना कर्मचारी पुग्नेछन् ।’ पछिल्ला केही वर्षदेखि सुर्खेतलाई व्यवसायिक कर्मथलो बनाएका राजेन्द्रले त्यहाँका आफ्ना शैक्षिक संस्थाहरु बेचेर १० करोड रुपैयाँ लगानीमा निम्स्ट र ग्लोबल हस्पिटलको स्वामित्व लिएका हुन् ।

मेहनतको बलमा व्यापारिक सफलता हासिल गरेका राजेन्द्र अब यी दुवै संस्थाको परिचय फेर्ने प्रयासमा छन् । निम्स्टका शैक्षिक कार्यक्रमबाट गुणस्तरीय जनशक्ति उत्पादन गर्ने, ग्लोबल हस्पिटलमा विशेषज्ञ सेवा थप गर्ने र सस्तोमा गुणस्तरीय सेवा दिने उनको लक्ष्य छ । ‘निम्न वर्ग र मध्य वर्गका मानिसहरुले शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मान्यताका साथ न्यून शुल्क राखेर सेवा दिने योजना छ,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँग उनले भने ।
प्राविधिक शिक्षाको क्षेत्रको हासिल गरेको अनुभवका कारण आफूले निम्स्ट र ग्लोबल हस्पिटलमा लगानी गरेको उनले बताए । ‘लामो समयदेखि शिक्षा क्षेत्रमै अनुभव र स्वास्थ्यका कार्यक्रमसमेत चलाइरहेको हुटहुटीले मैले यो किनेको हुँ,’ उनले भने, ‘नर्सिङ, एचए, फार्मेसीजस्ता सिटीईभिटीका डिमान्डिङ कार्यक्रम चलाउन रुचि भएकाले यो लिएको हुँ ।’
पूर्वाधार, सेवा र गुणस्तरलाई प्रभावकारी बनाउँदैं उनी निम्स्ट कलेज र ग्लोबल हस्पिटललाई अगाडि बढाउने बताउँछन् । ‘शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तरलाई केन्द्रमा राखेर दुवै संस्थालाई अगाडि बढाउने योजना छ,’ राजेन्द्र थप्छन्, ‘शैक्षिक जनशक्ति उत्पादनमा मात्रै केन्द्रीत नभएर गुणस्तर र रोजगारीमा ध्यान दिने गरी काम गर्छौ ।’ स्वरोजगारमूलक दक्ष जनशक्तिको देशलाई खाँचो रहेको उल्लेख गर्दै उनले बजारमा अहिले नर्सिङ जनशक्ति क्राइसिस रहेको बताए । त्यसमा पनि योगदान गर्ने उनको चाहना छ ।
सानै उमेरमा परिकल्पना र सोचले आफूलाई व्यवसायी बनाएको उनले बताए । ‘परिकल्पना, सपना र सोच विचार सबै कुरा मैले यसैमा मिलाएको छु,’ उनले भने, ‘मैले पढाइमा कमर्स रोज्नुको कारण पनि व्यवसायी बन्नका लागि नै थियो ।’ नत्र काठमाडौंको बोर्डिङ स्कुलमै फष्ट डिभिजन ल्याएका उनका लागि विज्ञान पढ्ने ढोका पनि खुला नै थियो ।
तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज
को हुन् राजेन्द्र ?
वि.सं. २०५१ सालमा सुर्खेत भेरीगंगा—१३ रामघाटमा जन्मिएका हुन्—राजेन्द्र । बुवा लक्ष्मीप्रसाद शर्मा र आमा मानकुमारी शर्माका तीन सन्तानमध्ये उनी जेठा हुन् । उनका बुवा सरकारी शिक्षक हुन् ।
राजेन्द्रको शिक्षादीक्षा कक्षा ५ सम्म रामघाटको शिखर माविमा भएको हो । त्यसपछि उनी थप उच्च शिक्षाका लागि काठमाडौंको कपनस्थित चाहना इंग्लिस बोर्डिङ स्कुलमा आए । वि.सं. २०६४ सालमा उनले चाहनाबाटैं फस्ट डिभिजनमा एलएलसी उत्तीर्ण गरे ।

एसएलसीपछि राजेन्द्र सुर्खेत फर्किए । सुर्खेतमा उनका काकाको नेशनल कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर सिके । आफूले सिकेपछि उनले अरुलाई पनि कम्प्युटर सिकाउने काम गरे । त्यही रहँदा उनले वीरेन्द्रनगर इगरब्रीज माध्यमिक विद्यालयबाट कमर्सबाट प्लस टु सके । वि.सं.२०६७ सालमा प्लस टु सकेपछि उनी बीबीए—बीआई अध्ययनका लागि धनगढी गए ।
धनगढीमा बीबीए—बीआई पढ्दा—पढ्दैं उनले सुर्खेतमा हासिल गरेको कम्प्युटर सम्बन्धि ज्ञान अरुलाई बाँड्न थाले । त्यही क्रममा उनले धनगढीको एडभान्स इन्स्टिच्युटमा पढाए । त्यसपछि राजेन्द्रले आफैले अल्पाइन एजुकेशन फाउण्डेसन खोलेर कम्प्युटर सिकाउन थाले । ‘म पढ्ने कलेजको प्रिन्सिपल दुर्गा जोशी सर हुनुहुन्थ्यो,’ राजेन्द्र कम्प्युटर इन्स्टिच्युट खोल्नुको कारण खोल्छन्, ‘उहाँले सपोर्ट र प्रेरित गरेपछि नै त्यो सम्भव भएको हो ।’ सुर्खेतमा कम्प्युटर इन्स्टिच्युटमा पढाएको अनुभवले नै आफूलाई व्यवसायमा हात हाल्न तयार पारेको राजेन्द्र बताउँछन् ।
‘त्यो बेला कम्प्युटर इन्स्टिच्युटको राम्रो व्यवसाय थियो,’ उनी सम्झन्छन्, ‘त्यसपछि यसैमा गरौं भनेर लागे ।’ राजेन्द्रसँग इन्स्टिच्युट खोल्नका लागि पर्याप्त लगानी समेत थिएन । उनले गहना सुन पसलमा राखेर ऋण निकालेर झण्डै एक लाख रुपैयाँ लगानीमा अल्पाइन खोलेका थिए । ‘त्यो पैसाले न्यूरोड आएर एउटा सीपीयु किने र पाँच वटा मनिटर किनेर मल्टीपीसी सिष्टमबाट इन्स्टिच्युट चलाए,’ उनले भने, ‘सुरुमा मैले वि.सं. २०६८ साउनमा एलएन चोकमा अल्पाइन इन्स्टिच्युट खोले ।’ त्यही इन्स्टिच्युटबाट कमाउँदैं उनले सुन फिर्ता ल्याए ।
सुरुवाती केही समय अल्पाइनले राम्रै ग¥यो । तर, विस्तारै भाडा तिर्नै समस्या हुन थाल्यो । राजेन्द्रले अल्पाइनको कार्यलय धनगढी चौराहमा सारे । ‘चौराहामा भाडा पनि कम थियो,’ उनले भने, ‘आफू पढ्दैं इन्स्टिच्युट पनि चलाउँदैं गए ।’ त्यही बेला उनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)का सर्ट टर्म कोर्सहरुका बारेमा थाहा पाए । ‘काठमाडौं आएर सर्ट टर्म भोकेसनल ट्रेनिङहरु लिएर गएँ,’ उनले भने, ‘भोकेसनल ट्रेनिङ चलाउँदा विद्यार्थी संख्या बढ्दैं गयो ।’ तीन महिने, छ महिने र एक वर्षे इलेक्ट्रीसियन, कम्प्युटर टेक्नीसियन, बिल्डिङ इलेक्ट्रीसियन, एसी फ्रिज मेकानिक्सलगातयका भोकेसनल कार्यक्रमहरु चलाए ।
वि.सं. २०७२ सालमा ६ लाख रुपैयाँमा अल्पाइनमै पढाउने साथीहरुलाई अल्पाइन बेचेर उनी दैलेख गए । राजेन्द्रले दैलेख बजारमा पञ्चकोशी प्राविधिक शिक्षालय किने । घनश्याम भण्डारी र उपेन्द्र खड्काहरुले चलाइरहेको उक्त प्राविधिक शिक्षालय २८ लाख रुपैयाँमा किन्दा उनले घरजग्गा राखेर थप ऋणसमेत निकालेका थिए । पञ्चकोशीमा कृषि जेटीए र सिभिल सब ओभरसियर पढाइ हुन्थ्यो । त्यसपछि वि.सं. २०७८ मा उनले पञ्चकोशी प्राविधिक शिक्षालय सुर्खेतमा सारे । वि.सं. २०७९ सम्म उनले उक्त शिक्षालय चलाए ।
वि.सं. २०७५ मा राजेन्द्रले पश्चिम सुर्खेतको घाटगाउँमा ४ कक्षासम्म पढाइ हुने दोभान स्कुल किने । वि.सं. २०८१ सालमा उनले सुर्खेतमा मिडवेस्टर्न कलेज लिए । उक्त कलेजमा सिटीईभिटीको सम्बन्धन प्राप्त कलेजमा डिप्लोमा इन फार्मेसी, सिभिल र जियोम्याट्रिक्स कार्यक्रम सञ्चालनमा थियो । वि.सं. २०८२ सम्म आइपुग्दा दोभान स्कुलमा कक्षा ९ सम्म पढाइ हुन्थ्यो भने ४७५ जना विद्यार्थी थिए । काठमाडौं आउने निश्चित भएपछि वि.सं. २०८२ मा उनले दोभान स्कुल र मिडवेस्टर्न कलेज बेचेर निम्स्ट र ग्लोबल हस्पिटल सेटअप किने ।