२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु


धनगढी—सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ । प्रदेशका ७ जिल्लामा यस अगाडि नै सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम डोटी र डडेल्धुरामा विस्तार भएपछि ९ वटै जिल्लामा बिमा कार्यक्रम विस्तार भएको हो ।

स्वास्थ्य विमा बोर्डले बुधबार डोटी र बिहीबार डडेल्धुरामा शुभारम्भ गरेसँगै प्रदेशभर बिमा कार्यक्रम लागु भएको बोर्डले जनाएको छ । स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउँदैं नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने र सेवाको उपयोगमा वृद्धि गर्ने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

एउटा परिवारले अधिकतम एक लाख रुपैयाँसम्म उपचार सुविधा लिनसक्ने स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउँदले बताए । उनका अनुसार बिमा कार्यक्रम लागु भएको सुदूरपश्चिम पहिलो प्रदेश भएको छ । सात जिल्लामा स्वास्थ्य बिमितको संख्या हालसम्म दुई लाख ६० हजारभन्दा बढी पुगेको उनको भनाइ थियो । वि.सं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात भएको थियो ।

देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको सो कार्यक्रम चालु आ.व. २०७६/७७ भित्र ७७ जिल्लामा कार्यान्वयन गर्ने सरकारको लक्ष्य छ । त्यसैगरी सन् २०२० सम्ममा बिमितको संख्या ५० र सन् २०३० सम्ममा शतप्रतिशत पु¥याउने लक्ष्य छ । बिमित परिवारका सदस्यको सदस्यता क्रियाशील भएपछि उपचारका लागि आफ्नो परिचयपत्र लिएर आकस्मिक उपचारका लागि सधैं तोकिएको प्रथम सेवा विन्दु स्वास्थ्य संस्थामा नै जानुपर्ने प्रावधान बिमा कार्यक्रमले अनिवार्य गरेको छ ।

स्वास्थ्य बिमा नियमावली, २०७५ अनुसार अति गरिबको परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोग पीडित, एचआईभी संक्रित, जटिल खालका क्षयरोग पीडित (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बिमा कार्यक्रममा रहेको छ ।

त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप एक लाख रुपैयाँको सेवासुविधा दिने व्यवस्था छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ