२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशविशेषज्ञ चिकित्सकको पदस्थापनापछि रित्तिदैं सुदूरपश्चिमका अस्पताल

विशेषज्ञ चिकित्सकको पदस्थापनापछि रित्तिदैं सुदूरपश्चिमका अस्पताल


कैलाली–कर्मचारी समायोजनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदस्थापनको काम अगाडि बढाएपछि सुदूरपश्चिमका अस्पतालहरू विशेषज्ञ चिकित्सकबिहीन बनेका छन् । ९, १० र ११ औं तहका चिकित्सकको पदस्थापन भएसँगै सुदूरपश्चिमका अस्पतालहरु विशेषज्ञ चिकित्सकबिहीन बनेका हुन् ।

प्रदेशको सेती अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल र मालाखेती अस्पतालमा नवौं तहभन्दा माथिका अर्थात विशेषज्ञ चिकित्सकहरु रहेकोमा अधिकांश चिकित्सकहरुको पदस्थापन प्रदेश बाहिरका अस्पतालमा भएको छ ।

सुदूरपश्चिमको डडेल्धुरा अस्पतालबाहेक अन्य सबै अस्पताल र स्वास्थ्य चौकीहरु प्रदेश तथा स्थानीय सरकारको मातहतमा राखिएको छ । यस क्षेत्रमा कार्यरत डाक्टरको समायोजन संघीय सरकारमा गरी अस्पतालका सबै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरेपछि सुदूरपश्चिमका अस्पतालहरु चिकित्सकबिहीन हुने अवस्थामा पुगेका हुन । अब आठौं तहको पदस्थापन पनि भएपछि सामान्य सेवाका लागि पनि अन्यत्र धाउनुपर्ने बाध्यता आउन सक्ने सम्भावना बढेको छ ।

सुदूरपश्चिमबाट ११ जना विशेषज्ञ चिकित्सकको अन्य प्रदेशमा पदस्थापन भएकोमा सुदूरपश्चिम प्रदेशमा भने अन्यत्रबाट एक जनामात्रै विशेषज्ञ चिकित्सकको पदस्थापन हुने सूची प्रकाशन भएको छ । प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको सेती अस्पतालमा ११औं तहका तीन, १० औं तहका चार तथा नवौं तहका ४ जना गरी ११ जना विशेषज्ञ चिकित्सक सरकारी दरबन्दीमा कार्यरत रहेकोमा स्वास्थ्य मन्त्रालयले समायोजनपछि पदस्थापन गरेसँगै अब तीन जना विशेषज्ञ चिकित्सक मात्रै सेती अस्पतालमा बाँकी रहेका छन् ।

अस्पतालका अनुसार ११ औं तहका डा. हेमराज पाण्डेय, १० औं तहका डा. खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशीले प्रदेश रोजेका कारण उनीहरु प्रदेशकै अस्पतालमै रहनेछन् भने भदौंमा सेवानिवृत्त हुने डा. बिसन सिंह बोहरालाई अहिले फाजिलमा राखिएको छ। चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डा. प्रमोद जोशीले सेती अस्पतालमा पनि वार्डहरु नै बन्द हुने अवस्था आइसकेको बताए।

करारमा अस्पतालमा कार्यरत ११ औं तहका डा. अशोक श्रीपाईली, १० औं तहका डा. शेरबहादुर कमर, नवौं तहका डा. दिनेश सिवाकोटी, नवौं तहका डा. होम प्रसाद पन्त र नवौं तहका डा. सुरेन्द्र बस्नेतको भेरी अस्पतालमा पदस्थापन भएको छ भने १० औं तहका डा. कपिल गौतमको पोखारा स्वास्थ्य विज्ञान प्रतिष्ठान र डा. प्रमोद जोशीको कान्ति बाल अस्पतालमा पदस्थापन भएको छ ।

उता महाकाली अस्पतालमा भने तीन जना विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा दुई जनाको प्रदेश बाहिरका अस्पतालमा पदस्थापन भएको छ । नवौं तहका डा. शम्भुदत्त जोशीको प्रदेशमै पदस्थापन भए पनि नवौं तहका डा. हरिकुमार श्रेष्ठलाई पुल दरबन्दीमा राखिएकोले उनको पनिअन्यत्र पदस्थापन हुनेछ भने १० औं तहका डा. श्रीकृष्ण भट्टको कान्ति बाल अस्पतालमा पदस्थापन भएको छ।

स्थापनाकालदेखि नै भएकै दरबन्दी समेत नपाएको महाकाली अस्पतालले भएका डाक्टरको समेत अन्यत्र पदस्थापन भएपछि सेवा सचालनमै मुस्किल हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताए।

प्रदेशकै सबैभन्दा ठूलो डडेल्धुरा अस्पतालमा भने विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि सबै रिक्त छ । अस्पतालमा मेसुको जिम्मेवारी समेत मेडिकल अधिकृतले पाएका छन् । सो अस्पताल संघीय सरकारको मातहतमा रहेकोले दरबन्दीअनुसार विशेषज्ञ डाक्टरको पदस्थापन होला भन्ने आशा गरिएको थियो ।

तर, दशौं तहका डा. बद्री रिजालको मात्रै अस्पतालमा पदस्थापन गरिएको छ भने नवौं तहका डा. शोभित थापाको पदस्थापन भएपनि उनी असाधारण विदामा छन् भने नवौँ तहका अर्का डा. अमर पौड्याललाई ३० दिने काजमामात्रै डडेल्धुरा पठाइनेछ । अस्पतालका मेसु डा. जितेन्द्र कडेलले आठौँ तहका डाक्टरको पनि पदस्थापन भएपछि सेवा सञ्चालन गर्न नै मुस्किल हुने बताए।

सेती, महाकाली र डडेल्धुरा अस्पतालबाहेक मालाखेती अस्पताल र टीकापुर अस्पतालमा पनि विशेषज्ञ डाक्टरको दरबन्दी छ । टीकापुर अस्पतालमा कार्यरत १० औँ तहका डा. नरेन्द्र खनालको स्वास्थ्य सेवा विभागमा पदस्थापन भएको छ भने मालाखेती अस्पतालका नवौं तहका डा. शिवराज पनेरुले पनि संघीय सरकार नै रोजेकाले उनको समेत संघीय सरकारको मातहतमा रहेकै अस्पतालमा पदस्थापन हुने देखिएको छ। यद्यपि, अहिले नै उनको पदस्थापन भने भएको छैन् । सबै अस्पताल विशेषज्ञबिहीन भएपछि सुदूरपश्चिमवासीले स्वास्थ्य सेवाका लागि झनै परनिर्भर हुनुपर्ने देखिएको छ ।

यता, प्रदेश सरकारले अस्पतालमा रहेको चिकित्सकको पदपूर्तिका लागि बजेट त विनियोजन गरेको छ तर प्रक्रिया अगाडि बढाउन सकेको छैन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गगनबहादुर हमालले अर्को विकल्प नहुँदासम्म यस क्षेत्रबाट अन्यत्र चिकित्सक नलैजान स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको बताए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ