२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना हुँदै

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना हुँदै


धनगढी—सुदूरपश्चिम प्रदेशमा नेपालमै पहिलो स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना हुने भएको छ । कन्चनपुरमा रहेको महाकाली आयुर्वेद औषधालयको खाली जग्गामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना हुन लागेको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेर प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाउने योजना अगाडि बढाएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले बताए । ‘स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको योजना प्रत्येक जिल्लामा लागु गर्ने योजनाअनुरुप प्रदेशमा कन्चनपुरमा रहेको महाकाली आयुर्वेद औषधालयको खाली जग्गामा प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्र स्थापना गर्दैछौं,’ उनले भने ।

उक्त केन्द्र स्थापनाका लागि प्रदेश सरकारले ९० लाख रुपैयाँ विनियोजन गरेको छ । केन्द्रमा हाललाई भौतिक संरचनामा प्रि–फ्याबका भवनहरु बन्ने र आवश्यक समाग्री खरिदका लागि योजना बनेको वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत खड्काले बताए । केन्द्रका लागि आवश्यक पर्ने कर्मचारीको अस्थायी दरबन्दीको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट स्वीकृती भएर सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

के हो स्वास्थ्य प्रवर्द्धन ?

पछिल्लो समय विश्वभर सरुवा रोगजस्तै नसर्ने रोगको प्रकोप पनि बढ्दो क्रममा छ । स्वास्थ्य प्रवर्द्धन केन्द्र सम्बन्धि अवधारणा हरेक व्यक्तिलाई रोग लाग्नुभन्दा पनि रोग लाग्न नै नदिनको लागि आफ्नो स्वास्थ्य तन्दुरुस्त राख्न, जीवनशैली परिवर्तन गर्न, आनीबानी परिवर्तन गर्न, खानपानको व्यवहार परिवर्तन गर्न मानिसको हरेक क्रियाकलापको सामाजिक उत्तरदायित्व बहनदेखि लिएर स्वास्थ्यलाई कसरी समृद्ध गर्न सकिन्छ भन्ने अभिप्रायले लागु गर्न लागिएको हो ।

मानिसको विलासी जीवनशैलीका कारण मोटोपनाको समस्या बढ्दैं गएको छ । जसले विभिन्न किसिमका नसर्ने रोगको बढाइरहेको छ । यस्तै, बालबालिकामा प्रविधिको प्रयोगले मानसिक तथा शारीरिक समस्या बढिरहेको छ । स्वस्थ्य रहँदारहँदै पनि स्वास्थ्यमा भएका विभिन्न रोकावट, अबरोधलाई पनि सुल्झाउनका लागि अनेक किसिमका प्रयासहरु गरिन्छ । जसलाई स्वास्थ्य प्रवद्र्धन भनिन्छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ