२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा जनस्वास्थ्य ऐन विपरित सरकारी अस्पताल नजिकै निजी अस्पताल सञ्चालनको अनुमति दिइदैं

सुदूरपश्चिममा जनस्वास्थ्य ऐन विपरित सरकारी अस्पताल नजिकै निजी अस्पताल सञ्चालनको अनुमति दिइदैं

मापदण्ड स्वीकृत नहुँदा कार्यान्वयनमा सकस


काठमाडौं—सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश जनस्वास्थ्य ऐन, २०७६ ल्याएको दुई वर्ष भइसकेको छ । ऐन ल्याएको लामो समय बितिसक्दा पनि कार्यान्वयनमा भने समस्या देखिन थालेका छन् ।

प्रदेश जनस्वास्थ्य ऐन, २०७६ को परिच्छेद २ को २७ मा निजी अस्पताल तथा स्वास्थ्य संस्था संचालनमा सरकारी अस्पताल वा सरकारी स्वास्थ्य संस्था परिसरको ३ सय मिटर वरिपरीको दूरी भित्र निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिङ, नर्सिङ होम, प्रयोगशालालगायतका स्वास्थ्य सम्बन्धी निजी व्यवसाय संचालन गर्न रोक लगाइएको छ ।

निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिङ, नर्सिङ होम प्रयोगशालालगायतका स्थानान्तरण गर्नका लागि ६ महिनाभित्र मापदण्ड बनाएर निश्चित समय दिइने उल्लेख गरेको छ । जनस्वास्थ्य ऐनमा उल्लेख भएअनुसार स्थानान्तरणका लागि ६ महिना भित्र मापदण्ड बनाएर निश्चित समय दिइने उल्लेख छ । १८ भदौं २०७७ मा ऐन प्रमाणिकरण भएको हो । ऐन प्रमाणीकरण भएको २ वर्ष पुग्न लाग्दासमेत मापदण्ड ल्याउन अझै अलमल छ ।

सामाजिक विकास मन्त्रालय मापदण्ड तयार पारेपनि स्वीकृत हुन सकेको छैन । यसबारेमा सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेसँग सम्पर्क गर्दा उनले झन राम्रा समाचार बनाउन आग्रह गरे । ‘राम्रा कामको समाचार बनाउनुस्, यो विषय छाडिदिनुहोस्,’ उनले भने । मन्त्रालय स्रोतकाअनुसार उक्त मापदण्डमा सरकारी स्वास्थ्य संस्थाका बीच भागबाट दूरी नाप्ने गरी सहमति भएको र स्वीकृत हुन मात्रै बाँकी रहेको छ ।

तर, मापदण्ड नबेको यही अवस्थाको फाइदा उठाउँदैं सेती प्रादेशिक अस्पतालको सेवा प्रभावित गर्ने तरिकाले अस्पतालकै कर्मचारी चिकित्सककै संलग्नतामा ऐन विपरीत निजी स्वास्थ्य संस्था स्थापना हुने प्रक्रिया भने जारी छ । सामाजिक विकास मन्त्रालय नै आफैले निर्माण गरेकोे कानुन कार्यान्वयनमा उदासिन देखिएपछि यस्तो समस्या देखिन थालेको हो ।

त्यसैको परिणाम मान्नुपर्छ, स्वास्थ्य कार्यालय कैलालीले ८ माघमा सेती प्रादेशिक अस्पताल नजिकै गरिमा पोलिक्लिनिकलाई संचालनको अनुमति दिएको छ ।

यस्तै, मापदण्ड ल्याउन नसक्दा धनगढी उपमहानगरपालिका सेती अस्पताल नजिकै संजीवनी अस्पताललाई भौतिक संरचना निर्माणका लागि अनुमति दिएको छ । संजीवनी अस्पताललाई प्रारम्भिक चरणमा १५ शैय्याको अस्पतालको लागि भौतिक संरचना निर्माणको पत्र दिइएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. कृष्ण बोहराले बताए ।

सेती प्रादेशिक अस्पताल नजिकै विगत २–३ महिनादेखि धर्मरुद्र सेवा अस्पताल प्रा. लि. संचालनको प्रक्रियामा छ । तर, उक्त अस्पतालको अनुमतिको बारेमा धनगढी उपमहानगरपालिकालाई कुनै जानकारी नभएको डा. बोहराले बताए । धर्मरुद्र सेवा अस्पतालकी निर्देशक कल्पना गैरेले अस्पताल संचालनका भौतिक पूर्वाधार निर्माणको क्रममा रहेको बताइन् । उक्त अस्पतालबाट स्वास्थ्य उपकरण ब्यवस्थापन भइरहेको बताइन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ