२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसंजिवनी अस्पताल : संचालन स्वीकृत नपाएरै दुई ठाउँबाट संचालन

संजिवनी अस्पताल : संचालन स्वीकृत नपाएरै दुई ठाउँबाट संचालन

फेरि पनि सुकुटे नाला किनारमा अस्पताल


धनगढी—गत वर्ष असारबाट संचालनमा आएको संजिवनी अस्पतालले हालसम्म पनि संचालन स्वीकृती पाउन सकेको छैन । तर, स्वीकृत नपाएपनि सजिवनी अस्पतालले दुई ठाउँबाट सेवा प्रदान गरिरहेको छ ।

सेती प्रादेशिक अस्पतालको नजिकैबाट सेवा संचालन गरेको अस्पतालले सोही ठाउँबाट संचालन स्वीकृती नपाउँदा राष्ट्र बैक नजिकबाट पनि सेवा संचालन गरिरहेको छ ।

संजिवनी अस्पतालले गत वर्ष संचालन स्वीकृतीका लागि धनगढी उपमहानगर पालिकामा निवेदन दिएको थियो । उपमहानगरले पूर्वाधार निरीक्षण गर्दा उपयुक्त नदेखिएपछि अनुमति प्रक्रिया रोकेको थियो ।

धनगढी उपमहानगरले अनुमति नदिएपछि संजिवनी अस्पतालका संचालकहरु सोही भौतिक संरचना र ठाउँमै २५ शैय्याको संचालन अनुमति लिन स्वास्थ्य कार्यालय कैलाली पुगेका थिए । स्वास्थ्य कार्यालय कैलालीले प्रदेश सरकारले सरकारी स्वास्थ्य संस्थाको ३ सय मिटरभित्र निजी स्वास्थ्य संस्थालाई अनुमति नदिने कानुन बनाएको बताएपछि त्यहाँबाट पनि अस्पताल संचालन अनुमति पाउन सकेनन् । तापनि, उक्त अस्पतालले अनुमति बिनै दुई ठाउँबाट नै सेवा संचालन गरिरहेको छ ।

अस्पतालका संचालकहरुले ४ साउनमा पुनः अनुमतिका लागि धनगढी उपमहानगर निवेदन दर्ता गराएका छन् । तर, दोस्रो पटक अस्पताल संचालन गर्न खोजेको ठाउँ पनि खोला किनारमा रहेको छ ।

धनगढी उपमहानगरको तारानगर र हसनपुरबाट आउने सुुकुटीनाला किनारमा अस्पताल संचालन भइरहेको छ । उक्त अस्पतालबाट निस्किने अस्पतालजन्य फोहोर नालामा मिसिने खतरा छ ।

संजिवनी अस्पतालका संचालक दुष्यन्त बस्नेतले संचालन अनुमति प्रक्रियोमा रहेको बताए । अस्पताल दुई ठाउँबाट संचालन नभएको र सेती प्रादेशिक अस्पताल नजिक फार्मेसी मात्रै संचालनमा रहेका उनको दावी छ ।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ मा उपमहानगरपालिकाले नगर क्षेत्रमा संचालित सबै स्वास्थ्य संस्था अनुगमन गर्न सक्नेछ भनी उल्लेख गरिएको छ । तर, हालसम्म पनि उपमहानगरले नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था अनुगमन गरेको छैन ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ