२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशबाजुरामा भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु, तीन सय बिरामी

बाजुरामा भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु, तीन सय बिरामी


धनगढी—बाजुरामा भाइरल ज्वरोका कारण दुईजनाको मृत्यु भएको छ । बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका–१ जोरुमा ज्वरोका कारण ५५ वर्षीया मिमा कडारा र ९० वर्षीय दलबहादुर रावलको मृत्यु भएको हो । बाजुरामा भाइरलका कारण बिरामी हुनेको संख्या तीन सय पुगेको छ ।

खापर गाउँपालिकामा बिरामी हुनेको संख्या ५० पुगेको छ भने हिमाली गाउँपालिकाको वडा नम्बर ६ को बाल्डिक गाउँमा बिरामीको संख्या दुई सय ५० पुगेको छ । भौगोलिक विकटता र सिंगो गाउँ नै बिरामी भएकाले स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको जनाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भाइरल ज्वरो देखिएका ठाउँमा चिकित्सक सहितको टोली पठाइसकेको र थप सहयोगका लागि समाजिक मन्त्रालयमा पत्राचार गरेको बताए ।

रोग नियन्त्रणमा स्वास्थ्यकर्मीको टिम परिचालन

बाजुराको हिमाली गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाले माहामारीको रुप लिएपछि गाउँपालिका केन्द्र आसपासका क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टिम परिचालन गरिएको छ । गाउँपालिकामा फैलिएको भाइरलजन्य रोगले विद्यालय समेत बन्द भएपछि स्वास्थ्यकर्मी टिम परिचालन गरिएको हो ।

हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीकाअनुसार रोग नियन्त्रणको लागि स्थानीयस्तरमा ४ जनाको छुट्टै स्वास्थ्यकर्मीहरुको टिम गठन गरि उपचारमा खटाइएको हो । स्वास्थ्य कार्यालय बाजुराबाट एक जना डाक्टरसहित दुई जना स्वास्थ्यकर्मीको टिम उपचारमा खटिएका छन् ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लको बिशेष पहलमा गाउँपालिका आफैले एक ट्रक औषधी खरिद गरी नेपालगञ्जबाट गाउँपालिकामा ढुवानी गरी सकिएको जानकारी दिएको छ । बिरामीहरुको उपचार भैरहेको साथै रोग नियन्त्रणमा नै रहेको दाबी गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीका अनुसार गत हप्ता शुक्रबार सम्म जम्मा १ सय २० जनाको उपचार गरिएको छ । त्यसैगरी, २० माघमा ५५ जना , २१ माघमा १ सय ३ जना , २२ माघमा ५९ र २३ माघमा १२५ जना बिरामीको उपचार गरिएको छ । १ सय ४ डिग्री फरेनहाइड भन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने श्वास फेर्न गाह्रो हुने साथै बच्चाहरुमा झाडापखाला पखालासमेत देखापर्ने यस रोगका मुख्य लक्षण भएको जनाइएको छ ।

यसबाट बच्न खोक्दा हाँच्छिउ गर्दा सफा कपडाले वा रुमालले वा पाखुराले नाक मुख छोप्ने, साबुन पानीले मिचिमिची हात धुने, पोषिला झोलिला खानेकुराहरु प्रशस्तमात्रामा खाने, अनावश्यक भीडभाडमा नजाने, सकभर अरु व्यक्तिसँग हात नमिलाउने, नमस्कार गर्ने, अरुले प्रयोग गरेका कपडा रुमाल प्रयोग नगर्ने, चिसोबाट बच्न न्यानो कपडाहरु लगाउने र समयमै नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गरेमा रोग लाग्नबाट तथा लागिहाले रोगको जटिलताबाट बचाउन सकिने चिकित्सकहरुले बताएका छन् । उपचार निरन्तर भै रहेको र रोग नियन्त्रमा नै रहेकोले नआत्तिन सर्वसाधारणलाई अनुरोध गरिएकोस्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ