२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोरोना जितेर फर्किए बुटवलबाट १० जना

कोरोना जितेर फर्किए बुटवलबाट १० जना


बुटवल—बुटवल कोरोना अस्पतालमा उपचाररत १० जना निको भएर घर फर्किएका छन् । दुई साताअघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि शनिबार डिस्चार्ज गरिएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिए ।

कोरोना संक्रमण बढी देखिएको प्रदेश ५ मा निको हुनेको संख्या पनि बढ्दै गएको हो । यसअघि शुक्रबार बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोनो जितेर घर फर्किएका थिए । बुटवलबाट शनिबार साँझ घर फर्किएकाहरु सबै कपिलवस्तुका हुुन् । प्रदेश नं. ५ मा कपिलबस्तु र बाँके कोरोनाको ‘हट स्पट’ बनेका छन् ।

प्रदेश ५ मा आइसोलेसन अस्पतालमा बेडको संख्या कम हुँदा संक्रमितलाई व्यवस्थित गर्न गाह्रो बन्दै गएको छ । धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए । यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन् । प्रदेश पाँचको कोरोना संक्रमितको संख्या २ सय ७१ छ । जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए । धागो कारखानामा २ सय बेड थप गरिदैछ । त्यस्तै बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमीमा पनि ५० बेडको आइसोलेसन सेन्टर बनाइएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ