काठमाडौं—नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट एक जना गम्भीर कोरोना संक्रमितको सफल उपचार भएको छ । शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका एक जनामा उक्त उपचार पद्धतिबाट सफल उपचार भएको हो ।
अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासकाअनुसार ६५ वर्षीय ती कोरोना संक्रमित बिरामीमा तीन दिनअघि प्लाज्मा थेरापी गरिएको हो । कोरोना संक्रमणबाट फोक्सो जटिल समस्या देखिएका ती बिरामीलाई आईसीयु विद अक्सिजनमा राखेर ९० प्रतिशत अक्सिजन दिनु परेको डा. दासले बताए ।
प्लाज्मा थेपारी गरिएपछि तीन दिनमै अक्सिजन दिनुपर्ने मात्रा घटाएर २४ प्रतिशतमा झारिएको छ । ती बिरामीलाई अब सामान्य बेडमा सार्ने तयारी भैरहेको डा. दासले बताए । यो पद्धतिबाट कोरोना संक्रमित बिरामीमा नेपालमै गरिएको पहिलो उपचार हो ।
विराटनगरका ती संक्रमितलाई केही दिनअघि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । उनलाई २६ वर्षीय कोरोना संक्रमणबाट निको भएका युवकले प्लाज्मा दिएका थिए ।
के हो कन्भालेसेन्ट प्लाज्मा थेरापी ?
सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोकाअनुसार कन्भालेसेन्ट प्लाज्मा थेरापी भनेको कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरुको रगतबाट प्लाज्मा छुट्याएर कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुलाई दिइन्छ । उक्त प्लाज्मामा रोग प्रतिरोधात्मक क्षमता विकास भैसकेको हुँदा संक्रमितमा भएको भाइरसलाई न्युट्रलाइज वा कन्ट्रोल गर्न सक्ने उनी बताउँछन् ।
यो उपचार पद्धति विश्वका विभिन्न देशहरुमा परीक्षणका रुपमा रहेको छ । नेपालमा पनि यो उपचार पद्धतिलाई केही बिरामीहरुमा प्रयोग गरिरहेको उनको भनाइ छ ।