काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड—१९ संक्रमणको जोखिम बढेकाले सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल चेम्बर्स अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ओलीले दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना तीब्र रुपमा फैलिरहेकाले अहिले नै सावधानी नपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउने बताए ।
‘कोभिड—१९ विरुद्ध सावधानी अपनाएनौं भने बाध्य भएरै ठप्प पार्नपर्ने स्थिति आउन सक्छ,’ प्रधानमन्त्री जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै भने, ‘हामी अहिलेदेखि सावधान हुनुपर्छ । दुरी कायम गर्ने, मास्क लगाउने । हामी किञ्चित पनि काभिड–१९ लाई अवसर नदिऔं ।’
प्रधानमन्त्री आफूले पटक—पटक हात धुन जोड दिएको पनि उल्लेख गरे । ‘मैले भन्ने गरेको छु, यहाँबाट फर्किएपछि हातमुख साबुन पानीले राम्रोसँग धोऔं,’ उनले भने ।
ओलीले तातोपानी खाने, बाफ लिने कुरामा पनि जोड दिए । ‘अलिकति धारामा तातोपानी आउँछ, तातोपानीले नाक सफा गरौं,’ उनले भने, ‘पहिले गएर कोरोना नाकमा बस्ने हो, त्यहाँबाट फालिदिएपछि चट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ । अम्बाका दुईवटा पात उमाल्दिउँ, बेसरी गालगुल गरिदिउँ । घाँटीमा बसेको चट । स्टिम लिइदिउँ फोक्सोबाट चट । त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।’
प्रधानमन्त्रीले हन्ड्रेड पर्सेन्ट सुरक्षित भ्याक्सिनले पनि पनि गर्न नसक्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले अहिले देश कोभिड—१९ ले आक्रान्त रहेको बताउँदैं सरकारले निःशुल्क परीक्षणको व्यवस्था गरेको बताए । तर पनि सरकारको आलोचना भएको भन्दैं प्रधानमन्त्री भने, ‘निःशुल्क खोप लगातार चलाइएको छ । तर, पनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ । कोभिड जहाँ लागे पनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेटनु परेन ? प्रधानमन्त्रीले पनि कोभिडलाई लखेट्छ ।’