२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा अक्सिजन प्लान्ट जडान, एक सातापछि दैनिक ११० सिलिण्डर उत्पादन हुने

कोशीमा अक्सिजन प्लान्ट जडान, एक सातापछि दैनिक ११० सिलिण्डर उत्पादन हुने


विराटनगर—सम्झौताभन्दा तीन महिना ढिलो गरी विराटनगरस्थित कोशी अस्तपालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्ट जडानको ठेक्का पाएको काठमाडौंस्थित डाइनोक्यामले तीन महिना ढिलो गरेर आइतबार अक्सिजन प्लान्ट जडान गरेको हो ।

अमेरिकामा रहेका नेपाली चिकित्सकहरूको संस्था अमेरिका—नेपाल मेडिकल फाउन्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोशी अस्पतला परिसर भित्र अक्सिजन प्लान्ट निर्माण भएको हो । जडान गरिएको प्लान्टबाट एक साता भित्रमा अक्सिजन उत्पादन हुने निर्माण कम्पनी डाइनोक्यामका एमडी विज्ञान अर्यालले जानकारी दिए ।

अक्सिजन उत्पादन गर्ने उपकरण ढिलो आएकोले कोशीमा अक्सिजन प्लान्ट जडान गर्न ढिलो भएको उनले बताए । ‘अक्सिजन उत्पादन गर्ने उपकरण स्लोभाकियाबाट आउन नै समय लाग्यो । भारतको कलकत्ता आइपुगेपनि केही समय लाग्यो,’ उनले भने, ‘शुक्रबार कोशी अस्पतालमा उपकरणहरु सबै आयो । आइतबारसम्म परीक्षण पूरा गरेर एक साता भित्रदेखि उत्पादन सुरू हुनेछ ।’

मंसिरमा सम्झौता भएर २५ वैशाखभित्र कोशी अस्पतालमा अक्सिजन जडान गर्ने समझदारी भएको थियो । तर, सम्झौता अवधि सकिएर तीन महिना ढिलो अक्सिजन प्लान्ट जडान भएको हो । हाल जडान भएको अक्सिजन प्लान्टबाट दैनिक ९० देखि १ सय १० सिलिण्डरसम्म अक्सिजन उत्पादन हुने बताइएको छ ।

अहिले कोशीमा १ सय ५० अक्सिजन सिलिण्डरको माग रहेको अस्पतालका सुपरिटेन्डेन्ड (मेसु) डा. चुमनलाल दासले जानकारी दिए । ‘तीव्र रूपमा दोस्रो लहरको फैलिदा दैनिक ३ सय ५० सिलिण्डरको माग रहेको थियो । अहिले संक्रमण दर घटदै जाँदा अक्सिजन सिलिण्डरको माग पनि घटदै गएको छ,’ मेसु दासले भने, ‘कोशीको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भएपछि अस्पताललाई राहत हुनेछ ।’

अबको एक सातापछि कोशी अस्पतालले आफ्नै प्लान्टबाट उत्पादन भएको अक्सिजन अस्पतालमा खपत गर्ने मेसु दासले जानकारी दिए । ‘अक्सिजन प्लान्टमान उपकरणहरू जडान भइसकेको छ । अब परीक्षण गरिन बाँकी रहेको छ । सम्भवतः आउँदो शुक्रबारदेखि नियमित रूपमा अक्सिजन उत्पादन हुनेछ ।’ कोशीको प्लान्टबाट अक्सिजन उत्पादन भएपछि सिलिण्डर बोकेर निजी उद्योगमा जानुपर्ने समस्या पनि अन्त्य हुने उनले बताए । अहिले अस्पतालले निजी उद्योगसँग सम्झौता गरेर अक्सिजन खरिद गर्दै आएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ