२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए

त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए

भन्छन्, ‘डर्माटोलोजी वा इन्टरनल मेडिसिनमा एमडी गर्छु’


डा. उज्ज्वल प्रकाश खनाल । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वि.संं. २०७७ का एमबीबीएस टपर । त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट ८०.३ प्रतिशत ल्याएर उनले एमबीबीएस टप गरेका हुन् । वि.सं. २०७७ सालको एमबीबीएस ब्याचमा उनले टप गरेर गोल्ड मेडल मात्रै पाएनन्, थप २ वटा विधामा पनि गोल्ड मेडल पाए । ‘सबैगरी तीन विधामा ६ वटा गोल्डमेडल पाए,’ उनले भने । उनले सर्जरी र कम्युनिटी मेडिसिन विषय पनि टप गरेर २/२ गोल्ड मेडल पाएका हुन् ।

‘मैले टप गर्छु भन्ने सोचेको थिइन्ँ, त्यो उद्देश्य राखेर पढेको भए सफल हुने पनि थिइन होला,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँगको कफी गफमा उनले सुनाए, ‘तर, आफ्नो राम्रो दिन्छु भन्ने थियो । पहिलो वर्ष टप हुँदा अन्य कलेजमा पनि त्यति स्कोर आएको रहेनछ । त्यसपछि सकिने रहेछ भन्ने त लाग्यो । तर, म टप नै गर्छु भन्नेमा चाहिँ थिइनँ ।’

रोचक त के भने उनले गोल्डमेडल पाउनुभन्दा अघिल्लो दिन मात्रै आफूले टप गरेको थाहा पाएका थिए । त्यो पनि उनले गोल्डमेडलिष्ट भएको भनेर साथीहरुले बधाईं दिएपछि मात्रै । ‘आफ्नो बेस्ट दिदैँ गए । एमबीबीएस टप गरेर गोल्डमेडल आएछ भनेर अघिल्लो दिन साथीहरुले बधाई दिँदा मात्र थाहा भयो,’ २५ वर्षीय उज्ज्वल भन्छन् । स्कुल जीवनदेखि नै पढ्नमा उस्ताद उनले एसएलसीमा ९२.६३ प्रतिशत ल्याएका थिए । प्लस टू ८८ प्रतिशत ल्याएर उत्तीर्ण गरेका थिए ।

तस्विर सौजन्यः उज्ज्वल

भनिन्छ, हुने विरुवाको चिल्लो पात । डा. उज्ज्वलले प्रारम्भिक पढाइमै देखाएको यो लोभलाग्दो प्रदर्शन एमबीबीएस ‘टपर’का रुपमा पुँजीकृत भयो । पुख्र्यौली घर तेह्रथुम भएका उनको जन्म वि.सं. २०५४ साल ४ साउनमा काठमाडौंमा भएको हो । पछि उनको परिवार तेह्रथुमबाट इटहरी बसाइँ स¥यो । उज्ज्वल भने कीर्तिपुरमा हुर्किए, पढे, बढे ।

उनका बुवा गणेशप्रसाद खनाल र आमा माधवा भट्टराईका दुई सन्तानमध्ये उनी कान्छा हुन् । बुबा पेशाले शिक्षक हुन् भने आमा पहिले त्रिविको अंग्रेजी विभागमा जागिरे थिइन । अहिले भने त्रिविको पुस्तकालयमा जागिर गर्छिन् । बुवाआमा नै शैक्षिक क्षेत्रमा सक्रिय रहेकाले उनीहरुले छोराछोरीको पढाइमा विशेष ध्यान दिए । त्यही कारण उज्ज्वल र उनकी दिदी दुवैले पढाइमा अब्बल नतिजा हासिल गर्दै गए ।

कीर्तिपुरको पागा सेकेण्डरी स्कुलबाट उज्ज्वलको शिक्षादीक्षा अगाडि बढेको हो । ‘दिदीले मलाई सधैँ मैले नजानेको र नपढेको कुराहरु सुनाउने,’ स्कुल जीवनलाई स्मरण गर्दै उनी भन्छन्, ‘मलाई पनि छिट्टै ठूलो क्लासमा पुगेर सबै कुरा जानु भन्ने हुन्थ्यो ।’ उनलाई स्कुल जीवनमा नयाँ—नयाँ कुराहरु सिक्न पाइने भएकाले विज्ञान विषय बढी मन पथ्र्यो । खेलकुदमा भने उनको खासै सक्रियता थिएन । ‘पछि गएर साहित्यमा पनि रुची भयो,’ उनले सुनाए ।

डा. उज्ज्वलले वि.सं. २०६९ सालमा पागा सेकेण्डरी स्कुलबाटै एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी थप उच्च शिक्षाका लागि काठमाडौं मोडल कलेज बागबजार आए । वि.सं. २०७२ मा उनले केएमसीबाट बायोलोजीमा प्लस टु उत्तीर्ण गरे । त्यसो भए उनलाई डाक्टर बन्ने सोच कसरी पलायो त ? ‘डाक्टर बन्छु भन्ने सोच पहिला थिएन । तर, बुबाआमाको इच्छा चाहिँ रहेछ भन्ने थाहा भयो,’ उनले कारण खोले, ‘किनभने नाम राख्दिने बेलामा उज्ज्वल राख्दा प्रकाश पनि थप्नुभएछ डाक्टर बन्यो भने डा. यूपी खनालभन्दा सुहाउँछ भन्ने भएछ ।’ तर, डाक्टर नै बन भनेर चाहिँ कहिल्यै आफूलाई प्रेसर नदिएको उनी बताउँछन् ।

प्लस टु सकेपछि उनलाई लाग्यो—मैले त्यस्तो विषय पढ्नुपर्छ, जुन विषय पढेकोमा भविष्यमा पछुतो मान्नु नपरोस्, केहि यस्तो पढु जसले लिन पनि सकियोस् र दिनपनि सकियोस् । त्यही सोचका साथ उनले एमबीबीएसको तयारी थाले । उसो त कक्षा १२ मा पढ्दा नै केएमसी विद्यार्थीको एमबीबीएसको तयारी सुरु भइसक्छ । रिजल्ट भएपछि उनी ३ महिना कोचिङ क्लास धाए । ‘विहान कलेज बेलुकी नेम गरेर दिनभर नै पढाइ हुन्थ्यो,’ उनले इन्ट्रान्स तयारीबारे भने, ‘मेहनत गरेर नै पढे । मेहनतपछिको फलमा मेरो विश्वास छ ।’ त्यही कारण उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को एमबीबीएस इन्ट्रान्स दिए । १३ हजार सहभागी इन्ट्रान्समा उनले २६ औं नम्बरमा नाम निकाले ।

मेडिसिन किन प्रयास नगर्ने त भन्ने हिसाबले इन्ट्रास दिएका उनले छात्रवृतिमै मुलुककै प्रतिष्ठित संस्थानमा नाम निकाले । त्यसपछि उनको चिकित्सा अध्ययनको यात्रा सुरु भयो । सन् २०१५ मा एमबीबीएस अध्ययन सुरु गरेका उनले सन् २०२१ मा एमबीबीएस अध्ययन पूरा गरे । गत वर्ष ग्राजुएट भएका उनी अहिले त्रिवि शिक्षण अस्पतालमा इन्टर्नसीप गर्दैछन् ।

आईओएमको ५ वर्ष एमबीबीएस अध्ययन गर्दाको समयलाई उनी आफ्नो जीवनको ‘स्वर्ण समय’ मान्छन् । ‘आईओएममा धेरै जनाबाट छानिएर, निखारिएर आउनुभएको हुनुहुन्छ । सबै तीक्ष्ण दिमाग, आदर्श बोकेको, नयाँ–नयाँ सोच, बसाइ, हिडाइ, आचरण सबै भिन्न थियो । उहाँहरुको बीचमा बस्न पाउँदा भाग्यशाली ठान्छु,’ डा. उज्ज्वल भन्छन्, ‘उहाँहरुबीच बस्दा आफ्नो व्यक्तित्व पनि राम्रो भएकोजस्तो महसुस हुन्छ ।’

मेडिकल शिक्षा एकदमै गाह्रो हुने अनुभव उनको छ । सुत्ने, खाने, बस्ने ठेगान पनि नहुने उनी बताउँछन् । ‘संसारभर नै ‘मिलेको बेला खाउ, मिलेको बेला सुत, नत्र पढ’ भन्ने स्लोगन नै छ,’ उनले मेडिकल शिक्षाबारेको एउटा भनाइ उदृत गर्दै भने । त्यही कारण एमबीबीएस पढ्न चाहने विद्यार्थीलाई उनी निकै सोचविचार गरेर मात्रै एमबीबीएस रोज्न आग्रह गर्छन् । ‘धेरै कुरा बलिदान दिन तयार हुनुहुन्छ भने मात्र यो रोज्नुहोस् । सेतो कोट, राम्रो कमाइको हिसाबले मात्र नसोच्नुहोस् । पुरा समय जान्छ, युवा उमेर सबै जान्छ,’ डा. उज्ज्वल सुझाव दिन्छन्, ‘खर्चको पाटो आफ्नै ठाउँमा छ ।’ तर, पनि डाक्टरी शिक्षा जीवन बचाउने पेशा भएकाले पढ्न पाउनु पनि भाग्य नै हुने उनी सुनाउँछन् । ‘रिवार्ड पाइन्छ । डाक्टर बनिसकेका व्यक्तित्वहरुसँग संवाद गर्नुहोस् । जिन्दगी कस्तो रहेछ बुझ्नुहोस् । सहज हुने लाग्छ भने जोरडारसँग तयारी गर्नुहोस्,’ उनले थपे ।

डा. उज्ज्वल भविष्यमा डर्माटोलोजीमा पिजी गर्न चाहन्छन् । ‘डर्माटोलोजीमा इन्ट्रेस्ट छ किनभने रातदिन खट्न परेन्,’ उनले कारण खोले, ‘सजिलो विषय भएकोले यसमा जान्छु भन्ने पनि छ । फेरि चिकित्सा विज्ञान सागर भएकाले इन्टरनल मेडिसिन नै पनि छान्न सक्छु ।’ यी दुई मध्ये एक विषयमा पिजी गर्ने सोच बनाएकी उनी चिकित्साशास्त्र यी विषयमा अवसर नपाए अन्य विषय पनि पढ्न सक्ने बताउँछन् । डा. उज्ज्वलाई पढाइबाहेक कला, साहित्य, सिनेमा र आर्किटेक्चरमा पनि रुचि छ । अहिले उनलाई लाग्छ—म डाक्टरी नपढेको भए कि आर्टस् पढ्थे, कि त आर्किटेक्ट ।

‘पढाइमा कुनै रामवाण हुँदैन्’

डा. उज्ज्वलमा टपर हुन मेहेनत गरेर पढी राख्नुपर्छ भन्ने सोच छैन । पढ्नका लागि केही न केही प्रेरणा भने आवश्यक पर्ने उनको सुनाउँछन् । उनी स्वयंम पनि धेरै समय पढेर नै टपर भएका होइनन् । कि डेडलाइन र कि परीक्षाको अघिल्लो दिनमा भने रातभर पढेको उनको अनुभव छ । ‘दिनको ३—४ घण्टा पढ्ने गर्थे,’ उनले भने, ‘परीक्षाको अघिल्लो रात त रातभर पनि पढिन्थ्यो ।’

तस्विर सौजन्यः उज्ज्वल

पढाइको रामवाण नहुने बताउने उनी सबैको आ—आफ्नो पढ्ने एउटा टेक्निक हुने बताउँछन् । ‘त्यो थाहाँ पायो भने सफल भइन्छ । म पढेको कुराको नोट बनाउने गर्थे, जुन मैले केएमसीबाट सिके,’ उनले आफ्नो पढाइ फर्मुला सुनाए, ‘सबै कुरा दिमागमा रहि रहँदैन् भन्ने हिसाबले नोट बनाउने गर्थे । नोट रिभ्यु गर्दा समय पनि बच्थ्यो, मैले यसरी नै पढे ।’


क्याटेगोरी : समाचार
ट्याग : #एमबीबीएस टपर, #चिकित्साशास्त्र अध्ययन संस्थान, #डा. उज्ज्वल प्रकाश खनाल, #त्रिभुवन विश्वविद्यालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ