२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी, सेवा पाउनै मुस्किल

सेती अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी, सेवा पाउनै मुस्किल


धनगढी—सुदूरपश्चिम प्रदेशकै रेफरल मानिएको सेती प्रादेशिक अस्पतालमा बिरामीहरुको संख्या बढ्दै गएपछि सेवा पाउनै मुस्किल हुन थालेको छ । पछिल्लो समय अस्पतालमा भाइरल ज्वरोलगायतका बिरामीहरुको संख्या बढ्दै गएको छ ।

३६ वर्षदेखि स्तरोन्नतीको पर्खाइमा रहेको अस्पतालमा बिरामीको चापअनुसार न जनशक्ति छ न त शैय्या नै । जसले गर्दा आर्थिक अवस्था मजबुत भएकाले निजी अस्पतालबाट सेवा लिएपनि विपन्न वर्गलाई भने उपचार पाउन पनि समस्या हुन थालेको छ ।

सेती प्रादेशिक अस्पतालमा अहिले दैनिक औसत ३ सय नयाँ बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा आउने अधिकांश बिरामी भाइरल ज्वरो, हात खुट्टा दुख्ने, सर्पदंसका रहेका छन् ।

अस्पतालमा बिरामीको चाप बढेसँगै सामान्य चेकजाँचका लागि पनि घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो बिरामीको छ । घण्टौसम्म लाइनमा पालो कुरेर बस्दा पनि ओपिडी वार्डमा डाक्टर नहुँदा झनै समस्या भएको उनीहरुले बताएका छन् । कैलाली र कञ्चनपुरसँगै ७ पहाडी जिल्लाका धेरै सर्वसाधारणले उपचार सेवा लिने धनगढीको सेती प्रादेशिक अस्पतालमा आवश्यकता अनुसार जनशक्ति, उपकरण र शैय्या नहुँदा विरामीलाई सेवा पाउनै मुस्किल भइरहेको धनगढी उपमहानगरपालिका वडा—१५ का जनकराज जोशीले बताए ।

सेती प्रादेशिक अस्पतालका कन्सलटेन्ट फिजिसियन डा. निराजनदत्त शर्माले पहिलेभन्दा अहिले अस्पतालमा आउने बिरामीको संख्या बढेको जानकारी दिए । उनले नियमित उपचारका लागि आउने बिरामीको संख्या एक सय भएपनि ३ सय नयाँ प्रकृतिका बिरामी उपचारका लागि अस्पताल आउने गरेको बताए । पछिल्लो समय सेती प्रादेशिक अस्पतालमा डेंगु, भाईरल ज्वरो, स्क्रब टाइफसका बिरामी चेकजाँचका आउने संख्या बढेको डा. शर्माको भनाइ छ ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले अस्पतालमा विरामीको चाप बढेसँगै छुट्टै ज्वरो क्लिनिक स्थापना गरिएको बताए । उनले अस्पताल प्रशासनले बिरामीको अवस्थाअनुसार ब्यवस्था गरिरहेको बताए । ओपिडीमा वस्ने डाक्टर कहिलेकाहीँ अप्रसेनमा जानुपर्ने बाध्यता भएका कारण डाक्टर नभेटिनुको स्वभाविक भएको उनले बताए ।

विरामीको चापअनुसार दरबन्दी नथपिदा सेती अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय बन्न सकेको छैन् । सिमित कर्मचारीले तीन गुणाभन्दा बढी काम गर्नु पर्दा समस्या हुँदै आएको छ । अझै भएको दरबन्दी पनि केहि महिनापछि खाली हुने हुँदा अस्पतालमा थप समस्या नआउला भन्न सकिन त्यसैले समयमै यस विषयमा गम्भीर बन्न जरुरी छ ।

स्वास्थ्य बिमा गरे पनि महंगोमा औषधि

सरकारले नागरिकलाई स्वास्थ्य बिमा गराएपनि औषधि भने पु¥याउन सकेको छैन । मासिक रुपमा सुगर रोगको उपचार गर्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–५ झलारीका पदमराज जोशीले बिमामा भने अनुसारको औषधि नपाएको गुनासो गरे । ‘दुई वर्ष स्वास्थ्य विमा गरेको भयो,’ उनले भने, ‘तर, सरकारी फार्मेसीबाट औषधि नकिनेर निजी क्लिनिकमा किन्नुपर्ने बाध्यता छ ।’

हरेक महिना सुगरको उपचार गराएपनि भने अनुसारको औषधि नपाउँदा निजी क्लिनिकका महंगो पैसामा औषधि किन्नुपर्ने बाध्यता छ । ‘बिमा गराउँदा ७० भन्दा बढी प्रकारको औषधीमा छुट पाइने भनेको हो,’ उनले भने, ‘तर सरकारी फार्मेसीमा औषधि कहिले हुँदैन् ।’

अस्पतालले वार्षिक रुपमा खरिद गर्ने हुँदा नियमित सरकारी फार्मेसीबाट औषधि नपाइने गरेको सेती प्रादेशिक अस्पतालमा विमा हेर्ने श्रीराम चौधरीले बताए । ‘अस्पातलमा औषधि भएको कुरा सबैलाई थाहा छ,’ उनले भने, ‘तर, समस्याको समाधान कसैले पनि गर्न सकेको छैन ।’ बिमा कार्यालयका अनुसार कैलालीमा मात्र एक लाख बढी बिमा गरेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ