२०८३ असोज १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोट कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या

जाजरकोट कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या


जुम्ला—जाजरकोटको जिल्ला कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी भएपनि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । एक जना अहेबको दरबन्दी रहेको कारागारमा झण्डै डेढ वर्षदेखि दरबन्दीअनुसारका स्वास्थ्यकर्मी छैनन् ।

कारागारमा कार्यरत अहेब उद्घवकुमार कार्कीको ०७८ फागुनमा शिवालय गाउँपालिकामा सरुवा भएपछि नयाँ अहेब नआउँदा अहिले स्वास्थ्यकर्मीको रिक्त रहेको जिल्ला कारागार शाखाका सहायक कर्मचारी लोकराज शाहीले बताए ।

कारागारमा स्वास्थ्यकर्मी नहुँदा सामान्य स्वास्थ्य समस्याका लागि पनि कैदीबन्दीलाई जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको कैदीबन्दी नाइके कुशबहादुर महताराले बताए । ‘कारागारमै स्वास्थ्यकर्मी हुँदा सामान्य स्वास्थ्य समस्या आएपनि देखाउथ्यौं, निकै सजिलो थियो,’ उनले भने, ‘अहिले केही भयो कि जिल्ला अस्पताल लैजानुपर्छ ।’ प्रेसर, सुगर, ढाड तथा घुडाजस्ता दीर्घरोगका बिरामी कारागारमा छन् ।

कारागारमा हालसम्म ६२ जना कैदीबन्दी रहेका छन् । ६० वर्ष नाघेका कैदीबन्दी २ जना रहेको समेत कारागार कार्यालयले जनाएको छ । जेलर चन्द्रबहादुर गिरी स्वास्थ्यकर्मी नहुँदा समस्या परेको बताए । ‘दरबन्दीको स्वास्थ्यकर्मी पठाउनका लागि पटक—पटक अनुरोध गरेका छौं,’ उनले भने, ‘अहिले लोकसेवाबाट माग भएको छ, छनौट भएपछि प्रदेशले पठाउने कुरा भएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ