धनगढी—सुदूरपश्चिममा १०० शय्याको ६ वटा निजी अस्पतालमा सञ्चालनमा छन् । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार अन्य २ वटा अस्पताललहरुले १०० शय्याको स्वीकृतीका लागि आवेदन दिएका छन् ।
अहिले सबैभन्दा धेरै १०० शय्याका ४ वटा निजी अस्पतालहरु धनगढीमा सञ्चालनमा रहेका छन् । त्यसबाहेक डोटीमा एक र अत्तरियामा एक वटा निजी १०० शय्याका अस्पताल सञ्चालनमा रहेको तथ्यांकमा देखिन्छ ।
जसमा धनगढीमा नवजीवन अस्पताल, निसर्ग अस्पताल, माया मेट्रो अस्पताल र सिपी अस्पताल १०० शय्या सञ्चालनमा छन् । डोटीको राजपुरस्थित सुजुङ्ग हस्पिटल र कैलालीको अत्तरियास्थित अत्तरिया अस्पताल १०० शय्या सञ्चालनमा छन् । अत्तरिया अस्पतालले हालै सुदूरपश्चिममै पहिलोपटक क्याथ ल्याब सेवा पनि सुरु गरेको छ ।
सुदूरपश्चिमको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश मलासीकाअनुसार १०० शय्याको स्वीकृतीका लागि मन्त्र अस्पताल र कैलाली अस्पताल प्रक्रियामा छन् । ‘मन्त्रको अन्तिम निर्णय हुन बाँकी छ तर सबै प्रक्रिया पूरा भएर अन्तिम चरणमा पुगेको छ,’ मलासीले भने, ‘कैलाली अस्पतालको पनि प्रक्रिया सुरु भएको छ ।’
त्यसबाहेक सुदूरपश्चिममा निजी क्षेत्रका दुई वटा ५० शय्याका अस्पताल पनि धनगढीमै सञ्चालनमा छन् ।
सुदूरपश्चिममा नेपालकै पहिलो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउँदैंछ भने विश्वविद्यालयको शिक्षण अस्पतालले सेवा सुरु गरिसकेको छ । त्यसबाहेक सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल रेफरल अस्पतालका रुपमा रहेको छ भने डडेल्धुरा अस्पताल संघीय अस्पतालका रुपमा छ । महाकाली अस्पताल, टीकापुर अस्पताल, बयलपाटा अस्पताल, लम्की चुहा अस्पताल, जोगबुढा अस्पताल प्रादेशिक अस्पतालका रुपमा रहेका छन् ।