चरिकोट—गाउँमा स्वास्थ्य संस्था नजिक नहुँदा सामान्य रोगसमेत सहेर बस्ने बाध्यता धेरैको थियो । उकालो–ओरालोको कठिन यात्रा, घण्टौं पैदल हिँड्नुपर्ने अवस्था र आर्थिक अभावका कारण ग्रामीण भेगका ज्येष्ठ नागरिकहरू उपचारभन्दा रोग नै सहेर बस्न बाध्य हुन्थे ।
तर, अहिले तामाकोशी गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालनमा आएका सामुदायिक स्वास्थ्य इकाईहरूले गाउँमै स्वास्थ्य सेवा पु¥याउन थालेपछि स्थानीयको जीवनशैलीमा सकारात्मक परिवर्तन देखिन थालेको छ । तामाकोशी गाउँपालिका–१ भीरकोट डडुवाका ८४ वर्षीय भीमप्रसाद काफ्ले त्यसका एक उदाहरण हुन् ।
उनलाई उच्च रक्तचापको समस्या भएको करिब छ वर्ष भयो । पहिले गाउँमै स्वास्थ्य सेवा नहुँदा नियमित स्वास्थ्य परीक्षण गर्ने बानी थिएन । रोगले थला पार्दासम्म जाँच गर्नुपर्छ भन्ने चेतनासमेत कम थियो ।
डडुवामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि भने उनी स्वास्थ्य परीक्षणका लागि पुग्न थाले । परीक्षणका क्रममा उनलाई उच्च रक्तचाप भएको पत्ता लाग्यो । अहिले उनी नियमित रूपमा यही स्वास्थ्य इकाईबाट औषधी सेवन गरिरहेका छन् । ‘पहिला सामान्य जाँच गर्न पनि धेरै टाढा जानुपथ्र्यो, अहिले घर नजिकै सेवा पाउँदा सहज भएको छ,’ काफ्लेले भने ।
डडुवाकी शान्ता कार्की पनि सामुदायिक स्वास्थ्य इकाईबाट लाभ लिनेमध्येकी एक हुन् । उनलाई उच्च रक्तचाप र मधुमेह भएको १५ वर्ष भयो । विगत पाँच वर्षदेखि भने उनी नियमित रूपमा यही स्वास्थ्य इकाईबाट औषधी सेवन गर्दै आएकी छन् ।
औषधी लिन जाँदा उनीहरूले रक्तचाप, तौल, ज्वरो, मधुमेह परीक्षण तथा दम सम्बन्धी जाँचसमेत गराउने गरेका छन् । यसले दीर्घरोगका बिरामीलाई नियमित स्वास्थ्य निगरानीमा राख्न ठूलो सहयोग पुगेको स्थानीय बताउँछन् ।
तामाकोशी गाउँपालिकामा प्रत्येक वडामा स्वास्थ्य चौकी रहेको छ भने १० शय्याको तामाकोशी सामुदायिक अस्पताल पनि सञ्चालनमा छ । साथै, गाउँपालिकाभित्र ६ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा रहेका छन् । तर, दुर्गम वस्तीका नागरिकका लागि स्वास्थ्य चौकी वा अस्पताल पुग्नु अझै चुनौतीपूर्ण छ । डडुवाबाट स्वास्थ्य चौकी पुग्न डेढ घण्टा लाग्छ भने उपचारपछि उकालो चढ्दै घर फर्किन करिब तीन घण्टा लाग्ने स्थानीय बताउँछन् । यही कठिनाईका कारण धेरैले सामान्य रोग लुकाएर बस्ने गरेका थिए । ‘पहिला टाढा जानुपर्छ भनेर सानातिना रोग सहेरै बस्थ्यौं,’ शान्ता कार्कीले भनिन्, ‘अहिले गाउँमै स्वास्थ्य सेवा पाएपछि धेरै सहज भएको छ ।’

विशेषगरी जेष्ठ नागरिकहरूका लागि सामुदायिक स्वास्थ्य इकाई वरदानजस्तै बनेको छ । हिँडडुल गर्न गाह्रो हुने वृद्धवृद्धाले अहिले गाउँमै नियमित स्वास्थ्य जाँच, औषधि र परामर्श सेवा पाउन थालेका छन् । यसले उनीहरूको आत्मविश्वास बढाएको छ भने परिवारलाई पनि राहत पुगेको स्थानीय बताउँछन् ।
हाल डडुवा सामुदायिक स्वास्थ्य इकाईमा पर्याप्त जनशक्ति र उपकरण भने छैनन् । एक जना अनमीले दैनिक नौ जनाभन्दा बढी बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । महिनामा १ सय ३० भन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् ।
स्वास्थ्य इकाई प्रमुख तथा अनमी रुपिला खड्काका अनुसार डडुवा, असारे, हिले, जाउले, गैरीचौर, बाघखोर, राउतगाउँ, भतेरे, झुले, पयुबोटे र वैतेश्वरलगायतका स्थानबाट बिरामी उपचारका लागि आउने गरेका छन् । यस स्वास्थ्य इकाईबाट औषधि वितरण, गर्भवती जाँच, घाउमा टाँका लगाउने, ड्रेसिङलगायतका सेवा प्रदान हुँदै आएको छ । हाल सात जना दीर्घरोगका बिरामीले नियमित रूपमा यही स्वास्थ्य इकाईबाट औषधी लिएर सेवन गरिरहेका छन् । स्वास्थ्य इकाईसम्म ल्याउन नसक्ने बिरामीको घरमै गएर स्वास्थ्य जाँच तथा उपचार पनि गर्ने गरेका छन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि दीर्घरोगका बिरामीका लागि निःशुल्क औषधी वितरण कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीकाअनुसार कार्यपालिकाको बैठक र कार्यविधि बनाएर मधुमेह, उच्च रक्तचाप, दमलगायत रोगका बिरामीको तथ्यांक संकलन गरी निःशुल्क औषधी उपलब्ध गराइनेछ । कतिपय रोगको भने १० प्रतिशतसम्म गाउँपालिकाले अनुदान तथा सहयोग गर्ने योजना बनाइएको छ ।
स्थानीयकाअनुसार सामुदायिक स्वास्थ्य इकाईले गाउँमै आधारभूत स्वास्थ्य सेवा पु¥याएर ग्रामीण बस्तीका नागरिक, विशेषगरी ज्येष्ठ नागरिकको जीवन सहज बनाउँदै गएको छ । गाउँमै उपचार, नियमित जाँच र परामर्श सेवा पाउन थालेपछि अहिले धेरैले ‘रोग लुकाएर होइन, समयमै उपचार गरेर’ बाँच्ने बानी बसाल्न थालेका छन् ।