विश्वसनीय र सुरक्षित रक्तसञ्चार सेवा कुनै पनि आधुनिक स्वास्थ्य प्रणालीको मुख्य आधार हो । नेपालमा दुर्घटना पीडित, शल्यक्रिया गराइरहेका बिरामी, प्रसूति, जटिलतामा परेका आमा, केही इन्फेक्सन तथा दीर्घकालीन रोगहरू जस्तैः सिकलसेल एनिमिया, हेमोफिलिया, थेलेसिमियाबाट ग्रस्त व्यक्तिहरू—थुप्रै बिरामीहरू—सुरक्षित र समयमा प्राप्त हुने रगत र रक्त तत्त्वहरूमामा निर्भर छन् ।
नेपालको रक्तसञ्चार सेवामा विगतका वर्षहरूमा महत्वपूर्ण र काफी परिवर्तन भएका छन् । तर, ब्लड बैंक परीक्षणमा रहेका कमजोरीले अझै पनि सुरक्षा तथा सेवा विश्वास दुवैलाई असर पारिरहेको छ । यो प्रणाली सुदृढ गर्नु अब विकल्प होइन्, अत्यावश्यक राष्ट्रिय स्वास्थ्य प्राथमिकता बनिसकेको छ ।
नेपालभर परीक्षण गुणस्तरमा असमानता हुनु ठूलो चिन्ताको विषय हो । ठूला सहरी तथा केन्द्रीय रक्त बैंकहरूले शुद्ध स्थापित मापदण्डहरू अपनाएका छैनन्, झन् अझै धेरै साना केन्द्रहरू त सीमित स्रोत, अनियमित जनशक्ति र पुरानो उपकरणका साथ सञ्चालन भइरहेका छन् । जसको परिणामस्वरूप रक्त समूह निर्धारण, एन्टिबडी स्क्रिनिङ, तथा सङ्क्रामक रोगहरूको परीक्षणमा असमान र कहिलेकाहीँ गलत नतिजा देखिन्छ, जुन प्राप्तकर्ताहरूका लागि जीवनघातक हुन सक्छ।
उन्नत इम्युनोहेमाटोलोजी परीक्षणको आवश्यकता अझ बढ्दैं गएको देखिन्छ। एन्टिबडी स्क्रिनिङ, एलोएन्टिबडी पहिचान तथा विस्तारित फेनोटाइप मिलान—धेरै देशमा नियमित रूपमा प्रयोग हुने परीक्षण—नेपालका लगभग ९८ प्रतिशत ब्लड बैंकहरूमा अझै पनि नियमित रूपमा उपलब्ध छैनन् । यी परीक्षणबिना बारम्बार रक्तसञ्चार आवश्यक पर्ने बिरामीहरूमा एलोइम्युनाइजेशनको जोखिम अत्यन्त उच्च हुन्छ, जसले भविष्यका रक्तसञ्चारहरू खतरनाक वा अप्रभावकारी बनाउन सक्छ । यस्तो जोखिम विशेषगरी थालासेमिया पीडित, क्यान्सरका बिरामी र प्रजनन उमेरका महिलामा बढी हुन्छ । उन्नत परीक्षण विधिहरू लागू गर्न सकेमा यी जोखिमहरू उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।
सङ्क्रामक रोगहरूको परीक्षण पनि एक महत्वपूर्ण चुनौती हो । नेपालका लगभग ९५ प्रतिशत रक्त सञ्चार केन्द्रहरूमा ¥यापिड प्रविधि र केही ठाउँमा ELISA र CLIA प्रविधिहरू अपनाए पनि एउटै रक्त सञ्चार केन्द्रमा पनि अझै स्वचालित प्लेटफर्म वा NAT (Nucleic Acid Testing) जस्ता उच्च—संवेदनशील परीक्षण पहुँचमा छैनन् । म्यानुअल विधिमाथिको निर्भरता कायम रहँदा मानवीय त्रुटिको सम्भावना बढ्छ र HIV, हेपाटाइटिस B तथा हेपाटाइटिस C जस्ता सङ्क्रमणहरूको समयमै पहिचानमा बाधा पुर्याउँछ ।
प्रशिक्षित जनशक्तिको अभावले समस्यालाई झनै गम्भीर बनाएको छ । रक्तसञ्चार सेवाका लागि जटिल परीक्षण गर्न सक्ने, उन्नत उपकरण चलाउन सक्ने, र समस्या समाधान गर्न सक्षम दक्ष प्राविधिक आवश्यक हुन्छन् । तर, उपलब्ध जनशक्ति अत्यधिक व्यस्त, पर्याप्त प्रशिक्षित छैनन्, र निरन्तर तालिम आवश्यक छ । संरचित तालिम कार्यक्रम, प्रमाणित मापदण्ड तथा अनुभवी जनशक्ति सुरक्षित राख्ने नीतिमा लगानी गर्न सके परीक्षणको विश्वसनीयता उल्लेखनीय रूपमा बढ्नेछ ।
यी कमजोरी हुँदाहुँदै पनि अघि बढ्ने मार्ग स्पष्ट छ । नेपालले कडा सरकारी प्रतिबद्धता, पर्याप्त आर्थिक स्रोत, देशभर एकरूप मापदण्ड, तथा आधुनिक परीक्षण प्रविधिको विकेन्द्रीकरण आवश्यक छ । अन्तर्राष्ट्रिय संस्थाहरू, पेशागत संघ–संस्था, तथा शैक्षिक संस्थासँगको सहकार्यले क्षमता अभिवृद्धिमा ठूलो भूमिका खेल्न सक्छ । त्यसैगरी सुरक्षित रक्त अभ्यासको महत्वबारे जनचेतना वृद्धि र नियमित स्वैच्छिक रक्तदान प्रवर्द्धन त्यतिकै महत्वपूर्ण छ ।
नेपालमा ब्लड बैंक परीक्षण सुधार गर्नु केवल प्राविधिक काम मात्र होइन—यो जनस्वास्थ्य, समान पहुँच, र राष्ट्रिय स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय हो । देशले आफ्नो स्वास्थ्य लक्ष्यहरू अघि बढाउँदै जाँदा प्रत्येक युनिट रगत उच्च वैज्ञानिक मापदण्डअनुसार परीक्षण गरिएको सुनिश्चित गर्नु अत्यावश्यक छ । सुरक्षित रगतले जीवन बचाउँछ र परीक्षण प्रणाली सुदृढिकरणले आउने पुस्तासम्म अनगिन्ती बिरामीहरूको जीवन सुरक्षित राख्नेछ।
(डा. नेपाल एभाइजर, एडभोकेटर र रक्तसञ्चार कन्सल्ट्यान्ट हुन् ।)