काठमाडौं—सुदूरपश्चिम प्रदेशको कैलाली गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा रहेको गेटा अस्पतालले खरिद गरेको नयाँ गाडी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तानेको पाइएको छ । गेटा अस्पताल स्रोतकाअनुसार अस्पताल नेतृत्वले गत चैतमा स्वास्थ्य सचिव डा. विकास देवकोटालाई खुसी पार्न उक्त गाडी मन्त्रालय पठाएको हो ।
गेटा अस्पतालले उक्त गाडी केही समयअघि मात्रै ७१ लाख रुपैयाँमा खरिद गरेको थियो । सु.प. ०१ झ ०५९६ नम्बरको उक्त गाडी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तानिएपछि सचिव डा. देवकोटा प्रयोग गर्ने गरेका छन् ।
‘अस्पतालले भर्खरै साधन स्रोत जोडिरहेको छ । अस्पताल निर्देशकले नयाँ गाडी चैत्रमा नै काठमाडौंमा लगेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई हस्तान्तरण गर्नुभएछ,’ अस्पतालका एक कर्मचारीले भने, ‘अस्पतालमा सवारी साधन अभाव रहेका बेला सचिवलाई चढ्नका लागि गाडी हस्तान्तरण गरिएको रहेछ ।’
यस विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. देवकोटाले भने मन्त्रालयले गाडी नतानेको तर मौखिक निर्देशनका आधारमा गेटा अस्पतालका प्रमुखले आफै मन्त्रालयमा गाडी बुझाएको बताए । ‘मन्त्रालयमा मैले चढ्ने गाडी जलेको थियो । मौखिम निर्देशनको आधारमा गाडी ल्याइएको हो,’ उनले भने, ‘केही इस्यु हो र ?’ उनले गेटा अस्पताललाई गाडी आवश्यक परेमा फिर्ता लैजान समेत आग्रह गरे । ‘फिर्ता लैजाने भए लगे भइहाल्यो नि,’ उनले थपे ।
अस्पतालको नयाँ गाडी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई हस्तान्तरण गरिएको विषयमा बुझ्दा गेटा अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा रहेका डा. प्रमोदकुमार यादवले आफूलाई यस विषयमा थाहा नभएको बताए । ‘गाडी अस्पतालमै छ,’ छोटो प्रतिक्रिया दिदैं उनले भने, ‘यो भन्दा बढी विषय तपाईंलाई नै थाहा होला ।’ जबकी डा. यादवले नै उक्त गाडी काठमाडौं ल्याएर स्वास्थ्य सचिवलाई चढ्नका लागि मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् ।