२०८३ असार ३१, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द


काठमाडौ—नेपालकै एक मात्रै स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा रहेको कैलाली गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका छन् । बुधबार शिक्षा तथा खेलकूद मन्त्रालयमा बसेको  विश्वविद्यालयको सिनेटले उपकुलपतिमा प्रा.डा. जोशीलाई नियुक्त गरेको हो ।

जोशी विश्वविद्यालयका संस्थापक उपकुलपति पनि हुन् । संस्थापक उपकुलपतिका रहँदा उनले सक्रियताका साथ काम गर्दै विश्वविद्यालय सञ्चालनका लागि बलियो आधार तयार पारेका थिए । जसमा विश्वविद्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार, ९ वटा आवश्यक कानुन पनि उनकै पालामा बनाइएको थियो । त्यसबाहेक प्रा.डा. जोशीले एमबीबीएससहित चिकित्सा शिक्षाका ४ वटा कार्यक्रम सञ्चालनका लागि पनि तयारी अगाडि बढाएका थिए ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति हुनुअघि प्रा. डा. जोशी काठमाडौं मेडिकल कलेजका कम्युनिटी मेडिसिनका प्राध्यापक थिए ।साथै, विभिन्न विश्वविद्यालयहरुमा भिजिटिङ प्रोफेसरका रुपमा समेत काम गर्दै आएका छन् । यसका अलावा डा. जोशीसँग लामो अनुसन्धानको अनुभव समेत छ । उनका अनुसन्धानहरु विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् ।

यस्तै, विश्वविद्यालयको राजिष्ट्रारमा डा. भीम चन्द नियुक्त भएका छन् । काठमाडौं मेडिकल कलेज स्थापना गर्न भूमिका खेलेका डा. चन्दले हस्पिटल म्यानेजमेन्टमा पिएचडी गरेका छन् । उनले काठमाडौं मेडिकल कलेजमा १६ वर्षसम्म प्रशासन प्रमुख, लेखा प्रमुख र प्रशासकीय प्रमुखका रुपमा काम गरेका थिए ।

डा. चन्दसँग एक कार्यकाल मेडिकल काउन्सिलको सदस्य भएर इथिकल कमिटीको संयोजकका रुपमा समेत काम गरेको अनुभव छ । उनी पछिल्ला १२ वर्षदेखि पिपुल्स डेन्टल कलेजको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को भूमिकामा थिए ।

उनले आफू शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुरुवाती समय शंकाराचार्यको समयदेखि नै गेटामा विश्वविद्यालयसँग जोडिएको बताए । ‘पछि मैले भौतिक पूर्वाधार निर्माणको टेक्नीकल कमिटीमा रहेर पनि काम गरे,’ उनले भने । पछिल्लो समय गेटालाई विश्वविद्यालयका बनाउनका लागि आफूले पहलकदमी लिएको पनि उनले जानकारी दिए ।

यसअघि डा. चन्द विश्वविद्यालयको कार्यकारी परिषद्मा समेत थिए । त्यहाँ रहँदा विश्वविद्यालयको ओएनएम र ९ वटा कानुन बनाउन पनि महत्वपूर्ण भूमिका निभाएका थिए ।

गत बैशाखमा सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारी पदमुक्त गरेको थियो । त्यसपछि सरकारले ढिलो गरी नयाँ पदाधिकारी नियुक्तिको लागि सिफारिस समिति गठन गरेको थियो । विश्विद्यालयको ऐनअनुसार गठित सिफारिस समितिमा प्रा.डा. जयराज अवस्थी, प्रा. डा. लोचना श्रेष्ठ र प्रा.डा. दिनेशकुमार लम्साल सदस्य रहेका थिए । उक्त समितिबाट प्रा.डा. लोचना श्रेष्ठले राजीनामा दिएपछि प्रा.डा. शैलु प्रधानलाई मनोनित गरिएको थियो ।

समितिले  असार दोस्रो साता नै उपकुलपति र रजिष्ट्रार नियुिक्तका लागि सिफारिस गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ