काठमाडौं —आफूलाई चिकित्सा शिक्षा सुधारका अभियन्ताका रूपमा प्रस्तुत गर्दै आएका प्रा. डा. गोविन्द केसी पुनः अनशनमा बस्ने तयारीमा छन् । बिहीबार ३ बजेबाट धनगढी उपमहानगर—१ स्थित कृष्ण मन्दिरको धर्मशालामा उनले अनशन थाल्ने तयारी गरेका हुन् ।
प्रा.डा. केसी अनशन बस्न भनेर दार्चुला पुगेका थिए । तर, त्यहाँ मौसम खराब देखेपछि उनले धनगढी फर्केर अनशन थाल्ने तयारी गरेका हुन् । डा. केसीका सहयोगी डा. अमृत जैशीकाअनुसार केसीले धनगढी–१ मा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्ने छन् ।
अनशन बस्नुअघि बुधबार विज्ञप्ती जारी गर्दै उनले ५ बुँदे माग सरकार समक्ष प्रस्तुत गरेका थिए । जसमा सुदूरपश्चिमको कैलाली गेटास्थित नेपालको एकमात्रै स्वास्थ्य विज्ञान विश्वविद्यालय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका गरिएको नियुक्ति स्वार्थपरक भएको भन्दैं खारेज गर्न माग गरेका छन् ।
यस्तै, डा केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरुमा सिटी वृद्धि गर्ने निर्णय र प्रस्तावहरु खारेज गर्न, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुन शीघ्र कार्यन्वयन गर्न, विगतका सरकारहरुसँग भएका लिखित सहमतिहरु कार्यान्वयन गर्नेलगायतका माग सरकारसँग गरेका छन् ।