‘प्याथोलोजी भनेको त दिसा, पिसाब र खकार जाँच्ने ठाउँ हो नि !’
सायद यो बुझाइ सुदूरपश्चिममा मात्र होइन, नेपालका धेरै ठाउँमा अझै पनि आम मानिसमा छ । प्याथोलोजी भन्नेबित्तिकै दिसा, पिसाब, खकारजस्ता रुटिन ल्याब्रोटोरी टेष्ट सम्झिने धेरै छन् । तर, प्याथोलोजीको संसार त्यतिमा मात्र सीमित छैन ।
म एक प्याथोलोजिस्ट हुँ । विगत करिब चार वर्षदेखि सुदूरपश्चिममा काम गरिरहेकी छु । यो अवधिमा मैले यहाँ प्याथोलोजी सेवाको आवश्यकता, यसको विकास र त्यसका लागि गर्नुपरेका प्रयासलाई नजिकबाट अनुभव गरेकी छु ।
प्याथोलोजी भनेको बिरामीबाट लिइएको टिस्यु, सेवा वा अन्य नमुनाको वैज्ञानिक अध्ययनमार्फत रोग पहिचान गर्न सहयोग गर्ने चिकित्सा विधा हो । वास्तवमा कुनै पनि रोगको पहिचानमा यसको महत्वपूर्ण भूमिका हुन्छ ।
विशेषगरी क्यान्सरको डाइग्नोसिसमा यसको भूमिका अझ महत्वपूर्ण हुन्छ । शरीरमा पलाएको कुनै गाँठो वा lesion क्यान्सर हो कि होइन, कस्तो प्रकारको क्यान्सर हो र रोग कति गहिराइसम्म पुगेको छ भन्ने महत्वपूर्ण जानकारी वायोस्पी तथा अन्य प्याथोलोजीकल एक्जामिनेसन बाट प्राप्त हुन्छ । यसले बिरामीको उपचार योजना बनाउन चिकित्सकलाई ठूलो सहयोग गर्छ । धेरै प्रकारका क्यान्सरको definitive diagnosis का लागि हिस्टोप्याथोलोजी अत्यन्त महत्वपूर्ण डाइग्नोष्टिक म्याथड हो ।
तर, हामी प्याथोलोजिस्टहरू प्रायः पर्दापछाडि हुन्छौँ । बिरामीले हामीलाई प्रत्यक्ष देख्दैनन् । हाम्रो कामको महत्व पनि धेरैपटक बाहिरबाट देखिँदैन । तर, माइक्रोस्कोपमा देखिएको एउटा सानो कोषिका वा तन्तुको परिवर्तनले बिरामीको उपचारको दिशा बदल्न सक्छ । त्यसैले यो मेरो लागि केवल ल्याब्रोटोरीभित्र बसेर रिपोर्ट लेख्ने यात्रा मात्र होइन, पर्दापछाडिबाट बिरामीको डाइग्नोसिस र उपचार यात्रामा जोडिएको एउटा चिकित्सकीय यात्रा पनि हो।
सुरुदेखिको त्यो उत्साह
सन् २०२२ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानाट प्याथोलोजीमा माष्टर्स डिग्री पूरा गरेपछि पूरा गरेपछि दुई वर्षको छात्रवृत्ति करार सेवामा काम गर्न सुदूरपश्चिम आउँदा सेती प्रादेशिक अस्पताल मेरो पहिलो कार्यस्थल बन्न पुग्यो ।
म त्यहाँ आउँदा पेरिफेरल ब्लड स्मेयर (PBS), reticulocyte count, FNAC, fluid cytology र प्याप स्मेयरजस्ता सेवाहरू सञ्चालनमा थिए । नयाँ ठाउँमा काम गर्न आउँदा आफूले पढेको र सिकेको कुरा व्यवहारमा प्रयोग गर्ने, केही नयाँ सुरु गर्ने र यहाँका बिरामीलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने जोश र उत्साह छुट्टै थियो ।
त्यही दुई वर्षको छात्रवृत्ति करार सेवाकै क्रममा करिब १५ महिना जति गेटा अस्पतालमा काम गर्ने अवसर पाएँ । त्यहाँ पनि ल्याब्रोटोरी सेवाको विस्तारमा काम गर्ने अवसर मिल्यो । PBS, reticulocyte count, fluid cytology, FNAC र प्याप स्मेयरजस्ता सेवाहरूलाई निरन्तरता दिँदै थप व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रयास गरेँ ।
सेवा सुरु भएपछि आएको पहिलो FNAC case आज पनि मेरो सम्झनामा ताजै छ । एउटा FNAC, जसले धेरै कुरा सिकायो ।
एकदिन काखे बालक च्यापेर आएकी एक २६ वर्षीया महिलाको स्तनमा भएको गाँठोको FNAC जाँच गर्दा त्यसमा क्यान्सरका कोषिकाहरू स्पष्ट रूपमा देखिए ।
त्यो रिपोर्ट लेख्ने क्षण मेरो लागि सजिलो थिएन । एकातिर आफूले सुरु गरेको सेवाबाट पहिलोपटक यस्तो डाइग्नोसिस गर्न पाएको अनुभूति थियो, अर्कोतिर काखमा सानो बच्चा बोकेर आएकी यति कम उमेरकी महिलामा क्यान्सर देख्दा मन भारी भयो ।
रिपोर्ट दिँदा मेरा आँखा रसाए । त्यो क्षण आज पनि सम्झँदा मनमा त्यही दृश्य आउँछ । तर, त्यही केसले मेरो मनमा अर्को प्रश्न जन्मायो—हामी कहाँ यस्ता कति बिरामी छन्, जसले समयमै सही जाँचको सुविधा नपाउँदा रोग पहिचान हुन ढिलो भइरहेको होला?
कति मानिस क्यान्सर भएर पनि सही डाइग्नोसिस नपाएर समयमै उपचारबाट वञ्चित भइरहेका होलान्? त्यो एउटा केसले मलाई प्याथोलोजीको वास्तविक महत्व अझ गहिरो रूपमा बुझायो । हामीले गर्ने प्रत्येक परीक्षण केवल एउटा रिपोर्ट होइन रहेछ । त्यो कसैको जीवनमा समयमै उपचार सुरु गर्ने अवसर पनि हुन सक्छ त्यसपछि अझ धेरै केही गर्नुपर्छ भन्ने भावना झन् बलियो हुँदै गयो ।
एउटा सेवाको खाँचो, एउटा निरन्तर प्रयास
दुई वर्षको छात्रवृत्ति करार सेवा सकिएपछि म फेरि सेती फर्किएँ । त्यतिबेलासम्म पनि वायोस्पी सेवा विस्तार गर्नुपर्ने आवश्यकता स्पष्ट रूपमा महसुस भइरहेको थियो ।
शरीरमा पलाएको कुनै पनि गाँठो वा शल्यक्रिया गरेर निकालिएको शरीरको कुनै पनि अंग क्यान्सर हो कि होइन भन्ने यकिन गर्न प्याथोलोजिकल एक्जामिनेसनको ठूलो भूमिका हुन्छ । रोगको सही पहिचानसँगै त्यसको प्रकार, फैलावट र उपचारको दिशा तय गर्न पनि यसको महत्वपूर्ण भूमिका हुन्छ ।
त्यतिबेला सेतीमा वायोस्पी सेवा उपलब्ध नभएकाले आवश्यक जाँचका लागि धेरै बिरामीहरू अन्य सहर वा भारतसम्म पुग्नुपर्ने अवस्था थियो । यसले बिरामी र परिवारलाई थप समय, खर्च र यात्रा गर्नुपर्ने अवस्था सिर्जना गरिरहेको थियो ।
त्यसैले हिस्टोप्याथोलोजी सेवा सेतीमै सुरु गर्नुपर्छ भन्ने कुरा मैले निरन्तर उठाउँदै आएँ । त्यतिबेला म एक जना मात्र प्याथोलोजिष्ट थिएँ । जनशक्तिको अभाव थियो र कामको चाप पनि कम थिएन । यस्तो अवस्थामा हिस्टोप्याथोलोजीजस्तो नयाँ सेवा सुरु गर्नु सजिलो थिएन । तर ‘जनशक्ति पुगेपछि मात्र सुरु गरौँ’ भनेर पर्खिनुभन्दा उपलब्ध जनशक्तिबाटै सुरुवात गर्नुपर्छ भन्ने आँट र विश्वास मनमा थियो ।
चुनौती धेरै थिए तर ‘एक जनाबाट भएपनि सुरु गरौँ, विस्तारै अघि बढ्दै जाऔँ’ भन्ने सोचले मलाई निरन्तर अगाडि बढाइरह्यो । करिब दुई वर्षभन्दा बढीको निरन्तर प्रयास, पहल र यही विश्वासका साथ अन्ततः सेती प्रादेशिक अस्पतालमै हिस्टोप्याथोलोजी सेवा सुरु गर्न सफल भएँ । मेरो लागि त्यो एउटा ठूलो उपलब्धि थियो र सँगसँगै ठूलो जिम्मेवारी पनि ।
माइक्रोस्कोप मात्र होइन, एउटा पूरा सिष्टम
हिस्टोप्याथोलोजी सुरु गर्नु भनेको माइक्रोस्कोप राखेर सलाइड हेर्न थाल्नु मात्र थिएन । त्यसका लागि आवश्यक सामग्री, पूर्वाधार र त्यस भन्दा पनि महत्वपूर्ण कुरा दक्ष जनशक्ति चाहिन्थ्यो ।
उपलब्ध ल्याब्रोटोरी स्टाफहरूलाई हिस्टोप्याथोलोजीको विशेष तालिम थिएन । नयाँ काम सिक्नु र त्यसलाई व्यवहारमा उतार्नु आफैँमा ठूलो चुनौती थियो । तर, मनमा एउटा विश्वास थियो—’सिक्दै गएर गर्न सकिन्छ ।’
त्यहाँ कार्यरत स्टाफहरूलाई एक दिनको तालिमका लागि टिकापुर हस्पिटल पठाइयो । त्यसपछि बाँकी सीप भने काम गर्दै, सिक्दै र निरन्तर अभ्यास तथा निगरानी गर्दै विकास गरियो । इम्बेडिङदेखि कटिङ, ट्रिमिङ र स्टेमिङसम्मका प्रक्रिया विस्तारै सिक्दै सेवा अघि बढाइयो ।
यो मेरो मात्र योगदान होइन । मसँग काम गर्ने तीन जना ल्याब्रोटोरी टेक्नीसियनको पनि उत्तिकै योगदान छ । नयाँ काम सिक्ने, जिम्मेवारी लिने र सीमित स्रोतका बीच सेवा सञ्चालन गर्न उहाँहरूले गरेको मेहनत बिना यो सेवा सम्भव हुने थिएन । त्यतिबेला स्रोत सीमित थिए, प्रोत्साहनका अवसरहरू पनि सीमित थिए । तर, काम गर्ने इच्छाशक्ति र केही नयाँ गर्न सकिन्छ भन्ने विश्वास भने निरन्तर थियो ।
नेपालमै बसेर केही गर्ने सोच
यसबीच मनमा एउटा कुरा निरन्तर चलिरहन्थ्यो—नेपालमै बसेर केही गर्न सकिन्छ भने किन नगर्ने? आफूले पढेको र सिकेको ज्ञानलाई आफ्नै देशमा प्रयोग गर्ने र आफूले सकेको ठाउँमा केही सुधार ल्याउने चाहना झन् बलियो हुँदै गयो । त्यही क्रममा सुदूरपश्चिम प्रदेश लोकसेवाबाट कन्सल्ट्यान्ट प्याथोलोजिष्टको पदमा विज्ञापन खुल्यो । त्यसमा सहभागी हुने निर्णय गरेँ ।
लोकसेवाको प्रक्रियापछि सुदूरपश्चिम प्रदेशमै प्रदेश लोकसेवाबाट नियुक्त हुने पहिलो कन्सल्ट्यान्ट प्याथोलोजिष्ट बन्ने अवसर पाएँ । यो मेरो व्यक्तिगत उपलब्धि मात्र थिएन । यसले मनमा अर्को जिम्मेवारी थपिदियो । अब आफूले देखेको आवश्यकता अझै राम्रोसँग सम्बोधन गर्न सकिन्छ कि?
यहाँ प्याथोलोजी सेवा मात्र होइन, समग्र ल्याब्रोटोरी सेवालाई अझ व्यवस्थित बनाउन सकिन्छ कि? प्रदेशभरका प्रयोगशालाको क्वालिटी एस्योरेन्स, नियमित अनुगमन, जनशक्तिको क्षमता विकास तथा ल्याब्रोटोरी सेवा सुधारका लागि आवश्यक नीति र योजना निर्माणमा पनि योगदान गर्न सकिन्छ कि? यी प्रश्नहरू मनमा थिए ।
प्रदेशभरका ल्याब्रोटोरीहरूको गुणस्तर सुधार, नियमित मनिटरिङ र ट्रेनिङको व्यवस्था गर्दै ल्याब्रोटोरी सेवाको स्तरलाई अझ माथि उठाउने दिशामा काम गर्ने इच्छा र हुटहुटी पनि मनमा थियो । प्रदेशस्तरीय ल्याब्रोटोरीको जिम्मेवारी सम्हालेर केही नयाँ काम गर्ने सपना थियो ।
तर, प्रदेश सरकारबाट मैले अपेक्षा गरेको जिम्मेवारीको स्थानमा अर्को चिकित्सकलाई जिम्मेवारी दिइयो । त्यसको कारणबारे विभिन्न अनुमान गर्न सकिएला तर त्यसलाई व्यक्तिगत गुनासोका रूपमा लिनुभन्दा मैले आफूलाई दिइएको जिम्मेवारीमा अझ राम्रो काम गर्ने निर्णय गरेँ ।
त्यसपछि मेरो सरकारी सेवाको यात्रा फेरि सेती प्रादेशिक अस्पतालबाटै निरन्तर भयो । सायद सबै कुरा आफ्नो सोचेजस्तो हुँदैन । तर, त्यसले आफ्नो उद्देश्य बदल्नुपर्छ भन्ने पनि हुँदैन । आफूलाई दिइएको जिम्मेवारीमा कमी आउन नदिने, सकेसम्म आफ्नो ज्ञान र अनुभवलाई बिरामी तथा प्रयोगशाला सेवाको सुधारमा प्रयोग गर्ने सोचका साथ मैले अझ थप उत्साहका साथ काम गर्ने अवसर पाएँ ।
ठाउँ उही थियो । माइक्रोस्कोप उही थियो । बिरामी उही थिए । तर, यसपटक मनमा जिम्मेवारी र विश्वास दुवै पहिलेभन्दा फरक थियो । अब केवल सेवा सञ्चालन गरेर बस्ने होइन, सेवा अझ व्यवस्थित बनाउने, आवश्यक जनशक्ति, स्रोतसाधन र पूर्वाधारको विकासका लागि निरन्तर पहल गर्ने र सुदूरपश्चिममा प्याथोलोजीलाई अझ बलियो बनाउने सोच झन् दृढ भएको थियो ।
१,३०० भन्दा बढी वायोस्पी, हजारौँ डाइग्नोष्टिक यात्रा
अहिलेसम्म हामीले सेती प्रादेशिक अस्पतालबाट १,३०० भन्दा बढी biopsy specimen को हिस्टोप्याथोलोजिकल रिपोर्ट गरिसकेका छौँ । वायोस्पीको संख्या पनि निरन्तर बढिरहेको छ । यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ—सेवा आवश्यक थियो र सेवा आफ्नै ठाउँमा उपलब्ध भएपछि बिरामीले त्यसको उपयोग गर्न थाले ।
आज सेतीमा हिस्टोप्याथोलोजी, साइटोलोजी र हेमाटोलोजीका विभिन्न सेवाहरू सीमित जनशक्तिका बीच निरन्तर सञ्चालन भइरहेका छन् । सेवा विस्तारसँगै बिरामीको संख्या पनि बढ्दै गएको छ । त्यसैले भविष्यमा आवश्यकताअनुसार थप जनशक्ति, स्रोतसाधन र पूर्वाधारको विकास गर्दै सेवाको क्षमता अझ विस्तार गर्नुपर्ने आवश्यकता छ ।
हाल एक जना डाक्टर, तीन जना ल्याब्रोटोरी स्टाफको टिमबाट यी सेवाहरू निरन्तर सञ्चालन भइरहेका छन् । सीमित जनशक्तिका बीच पनि आफ्नो तर्फबाट गर्न सकिने प्रयास निरन्तर भइरहेको छ । मेरो लागि यी १,३०० भन्दा बढी वायोस्पी केवल संख्या होइनन् । ती १,३०० भन्दा बढी बिरामी र परिवारको डाइग्नोसिस यात्रासँग जोडिएका कथाहरू हुन् ।
यो यात्रा एक्लै सम्भव थिएन् । स्वास्थ्य सेवामा कुनै पनि नयाँ सेवा एक व्यक्तिको प्रयासले मात्र स्थापित हुँदैन । त्यसका लागि टिम चाहिन्छ, ल्याब्रोटोरीको मेहनत चाहिन्छ, हस्पिटल म्यानेजमेन्ट र सम्बन्धित सबै पक्षको सहयोग चाहिन्छ र सबैभन्दा महत्वपूर्ण कुरा—सेवा सुधार गर्ने इच्छाशक्ति चाहिन्छ ।
मैले यहाँ काम गर्दा यही कुरा महसुस गरेकी छु । सुरुमा प्याथोलोजीको अर्थ केही सामान्य ल्याब्रोटोरी टेष्टमा सीमित रहेको ठाउँमा आज वायोस्पी, FNAC, Pap smear, fluid cytology, PBS, reticulocyte लगायतका विभिन्न सेवाको आवश्यकता र प्रयोग बढ्दै गएको छ । यो परिवर्तन एकै दिनमा आएको होइन । निरन्तर साना–साना प्रयास, समस्या आएपछि समाधान खोज्ने बानी र ‘यहाँ पनि गर्न सकिन्छ’ भन्ने विश्वासले विस्तारै यो सम्भव भएको हो ।
अझै बुझाउन बाँकी एउटा कुरा
आज पनि धेरै मानिसका लागि प्याथोलोजी भनेको दिसा, पिसाब र खकार जाँच्ने ठाउँ भन्ने बुझाइ छ । यो धारणा परिवर्तन गर्न अझै धेरै काम गर्न बाँकी छ ।प्याथोलोजिस्ट ल्याब्रोटोरीभित्र बसेर रिपोर्ट लेख्ने व्यक्ति मात्र होइन । बिरामीको टिस्यु र सेललाई माइक्रोस्कोपमा हेरेर रोगको पहिचान गर्ने, क्यान्सरको डाइग्नोसिसमा सहयोग गर्ने र क्लिनिसियनलाई उपचारको सही बाटो रोज्न आवश्यक महत्वपूर्ण जानकारी दिने चिकित्सक हो ।
हामी पर्दा पछाडि हुन्छौँ तर उपचारमा हाम्रो भूमिका महत्वपूर्ण हुन्छ । कहिलेकाहीँ एउटा सानो कोषिकाले ठूलो प्रश्नको उत्तर दिन्छ । एउटा तन्तुको सानो परिवर्तनले बिरामीको उपचारको दिशा बदल्न सक्छ । एउटा वायोस्पीले बिरामीको उपचार यात्राको अर्को महत्वपूर्ण कदम तय गर्न सहयोग गर्छ । त्यसैले डाइग्नोष्टिक सेवा बलियो नभई राम्रो हस्पिटलको कल्पना पूर्ण हुँदैन ।
अब अझ धेरै गर्न बाँकी छ
सुदूरपश्चिममा आज भएका सेवाहरू नै अन्तिम उपलब्धि होइनन् । अझै धेरै डाइग्नोष्टिक सेवा विकास गर्नुपर्नेछ, गुणस्तर अझ राम्रो बनाउँदै लैजानुपर्नेछ, आवश्यक म्यानपावर थप्नुपर्नेछ र नयाँ पुस्तालाई सिकाउनुपर्नेछ ।
त्यससँगै, राम्रो ल्याब्रोटोरी सेवा सञ्चालनका लागि स्पष्ट र व्यवस्थित नीति तथा कार्यविधि निर्माण गर्नुपर्ने आवश्यकता छ । प्रयोगशालाको गुणस्तर कायम राख्न नियमित क्वालिटी एस्योरेन्स, निरन्तर मनिटरिङ र मूल्याङ्कनको व्यवस्था हुनुपर्छ । प्रयोगशालामा काम गर्ने जनशक्तिलाई समयअनुसार नयाँ ज्ञान, प्रविधि र डाइग्नोष्टिक म्याथडबारे निरन्तर तालिम तथा स्कील डेभलपमेन्टको अवसर पनि आवश्यक छ । एउटै ठाउँमा सिकेको ज्ञानमा मात्र सीमित नभई समयसँगै आफूलाई अपडेट गर्दै जान सक्ने वातावरण बनाउनुपर्छ ।
एउटा सेवा सुरु गर्नु मात्र पर्याप्त हुँदैन । त्यसलाई व्यवस्थित रूपमा चलाइराख्नु, गुणस्तर कायम गर्नु, नियमित रूपमा मूल्याङ्कन गर्नु, आवश्यक सुधार गर्दै लैजानु र काम गर्ने जनशक्तिलाई निरन्तर सिक्ने वातावरण दिनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । प्रदेशभरका ल्याब्रोटोरी सेवाको क्वालिटी एस्योरेन्स, नियमित अनुगमन, ल्याब्रोटोरी सुधारका लागि स्पष्ट नीति तथा योजना र जनशक्तिको निरन्तर क्षमता विकासमा पनि अझ धेरै काम गर्न बाँकी छ ।
भविष्यमा प्याथोलोजी मात्र होइन, समग्र ल्याब्रोटोरी मेडिसिनलाई अझ व्यवस्थित, गुणस्तरीय र बिरामीमैत्री बनाउने दिशामा काम गर्नुपर्नेछ । डाइग्नोष्टिक सेवाको विकाससँगै अनुसन्धान, क्वालिटी एस्योरेन्स, नियमित तालिम र इभिडेन्स वेस्ड प्रयाक्टिसलाई पनि प्राथमिकता दिनुपर्नेछ ।
तर, मैले एउटा कुरा विश्वास गर्न सिकेकी छु—स्रोत सीमित हुँदैमा प्रयास पनि सीमित हुनुपर्दैन । आफ्नो क्षमता र जिम्मेवारीले भ्याएसम्म, आफूले जानेको र सकेको कुरा सुदूरपश्चिमका बिरामीका लागि प्रयोग गरिरहनेछु । कुनै दिन सुदूरपश्चिमका बिरामीले आवश्यक डाइग्नोष्टिक सेवाका लागि टाढा जानुपर्ने बाध्यता अझ कम होस् । यहीँका अस्पतालमा गुणस्तरीय डाइग्नोसिस र उपचारको आधार अझ बलियो होस् । यहाँ काम गर्ने स्वास्थ्यकर्मीले पनि आफूलाई अझ सक्षम बनाउँदै जाने अवसर पाऊन् । यही मेरो चाहना हो ।
सुदूरपश्चिममा आएर काम गर्न थालेको चार वर्ष पुग्दा पछाडि फर्केर हेर्दा लाग्छ—सुरुमा धेरै कुरा असम्भवजस्तो देखिन्थ्यो। तर एउटा सानो सुरुवातले पनि विस्तारै ठूलो परिवर्तन ल्याउन सक्दोरहेछ । सुरुमा केही सेवा थिए । त्यसपछि नयाँ सेवा थपिए । एउटा FNAC ले धेरै कुरा सिकायो । एउटा वायोस्पी सेवा सुरु भयो । विस्तारै सयौँ हुँदै हजारौँ डाइग्नोष्टिक जर्नीहरुहरू जोडिँदै गए ।
अझै धेरै कुरा गर्न बाँकी छन् । अझै धेरै सपना छन् । सुदुर अब दुर नाई, झिक्कै झिक्कै माया तम्लाई ! तर, अझै झिकै–झिकै गर्न बाँकी छ। अझै धेरै परिवर्तन आउन बाँकी छ । अझै धेरै काम गर्न बाँकी छ । यात्रा अझै जारी छ ।
सुदुर अब दुर नाई
(डा. आचार्य सेती प्रादेशिक अस्पतालकी कन्सल्ट्यान्ट प्याथोलोजिष्ट हुन् ।)