काठमाडौं—अमेरिकाको नेसनल इन्स्टिच्युट्स अफ हेल्थ (एनआईएच) द्वारा आयोजित प्रतिष्ठित ‘एस—इन्डेक्स च्यालेन्ज’मा नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीले दोस्रो स्थान हासिल गर्दै तीन लाख अमेरिकी डलर पुरस्कार जितेको छ ।
अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा अधिकारीले टोलीको ‘एआई लिड’का रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले कृत्रिम बुद्धिमत्ता (एआई) तथा कम्प्युटर भिजन प्रविधिको प्रयोग गरी जैव–चिकित्सा अनुसन्धानमा प्रयोग हुने जनावरहरूको व्यवहारलाई स्वचालित रूपमा ट्रयाक तथा विश्लेषण गर्ने सफ्टवेयर विकासमा योगदान दिएका छन् ।
एनआईएचको ‘एस—इन्डेक्स च्यालेन्ज’को उद्देश्य जैव–चिकित्सा अनुसन्धानमा प्रयोग हुने तथ्यांकलाई अझ प्रभावकारी रूपमा साझा, विश्लेषण र उपयोग गर्न सकिने प्रविधिको विकासलाई प्रोत्साहन गर्नु हो । यसका लागि विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्रविधि विज्ञहरू सहभागी भएका थिए ।
यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली अनुसन्धानकर्ता अधिकारीको संलग्नता र नेतृत्वले नेपालबाट विश्वस्तरीय एआई तथा बायोमेडिकल अनुसन्धानमा भइरहेको योगदानलाई समेत उजागर गरेको छ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेका हुन् । त्यसपछि उनले युरोपबाट कम्प्युटर भिजन एण्ड रोबटिक्स—भिबोटमा स्नातकोत्तर र पुनः हेल्थ एआईमा पनि स्नातकोत्तर गरेका छन् ।