सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवामा दीर्घकालीन र प्रभावकारी सुधार ल्याउने हो भने यसको एउटा महत्वपूर्ण आधार निदान सेवालाई बलियो बनाउनु हो । कुनै पनि रोगको सही उपचारका लागि सबैभन्दा पहिले सही निदान आवश्यक हुन्छ । सही निदानका लागि चिकित्सकीय मूल्याङ्कनसँगै प्रयोगशाला तथा प्याथोलोजी परीक्षणको महत्वपूर्ण भूमिका हुन्छ ।
सुदूरपश्चिमका ९ वटै जिल्लामा प्रयोगशाला सेवा विस्तार हुँदै गएपनि सबै ठाउँको अवस्था र क्षमता समान छैन । कतिपय ठाउँमा दक्ष जनशक्ति, आवश्यक उपकरण र पूर्वाधारको आवश्यकता छ भने कतिपय दुर्गम क्षेत्रमा सामान्य प्रयोगशाला सेवा सञ्चालन गर्न समेत चुनौती छ । त्यसैले सबै ठाउँमा एकैपटक एउटै स्तरको प्रयोगशाला विकास गर्नेभन्दा आवश्यकता, जनशक्ति र उपलब्ध स्रोत—साधनका आधारमा प्रयोगशालालाई क्रमशः सुदृढ बनाउँदै लैजानु बढी व्यवहारिक हुन्छ ।
यसका लागि सबैभन्दा पहिले ९ वटै जिल्लाका प्रयोगशालाको वर्तमान अवस्था बुझ्न आवश्यक छ । कुन ठाउँमा कुन परीक्षण भइरहेको छ, कस्तो जनशक्ति उपलब्ध छ, उपकरणको अवस्था कस्तो छ, कुन परीक्षण बाहिर पठाउनुपर्छ, बिरामीको चाप कस्तो छ र गुणस्तर नियन्त्रणको अवस्था कस्तो छ भन्ने अध्ययन गरेर प्रत्येक जिल्लाको प्रयोगशाला प्रोफाइल तयार गर्न सकिन्छ ।
त्यसपछि प्रयोगशालालाई क्षमता र आवश्यकताका आधारमा विभिन्न तहमा विकास गर्न सकिन्छ । आधारभूत परीक्षण स्थानीयस्तरमै उपलब्ध गराउने, जिल्ला तहमा आवश्यक थप परीक्षण विस्तार गर्ने र विशेष विशेषज्ञता तथा थप सुविधा आवश्यक पर्ने परीक्षणका लागि प्रदेशस्तरीय सन्दर्भ प्रयोगशाला विकास गर्ने व्यवस्था बनाउन सकिन्छ ।
यस सन्दर्भमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई बलियो सन्दर्भ तथा गुणस्तर नियन्त्रण केन्द्रका रूपमा विकास गर्नु महत्वपूर्ण हुन्छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रयोगशालासँग नियमित समन्वय गर्दै आवश्यक विशेष परीक्षण, प्राविधिक सहयोग, गुणस्तर सुनिश्चितता, तालिम तथा प्रयोगशाला अनुगमनमा नेतृत्वदायी भूमिका खेल्न सक्छ ।
तर, प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई प्रभावकारी रूपमा अगाडि बढाउन स्पष्ट नीति, नियम, मापदण्ड र कार्यविधि पनि आवश्यक हुन्छ । कुन तहको प्रयोगशालाले कुन—कुन परीक्षण गर्ने, कुन परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउने, नमुना कसरी सुरक्षित रूपमा पठाउने, गुणस्तर नियन्त्रण कसरी गर्ने तथा जिल्लास्तरका प्रयोगशालाको नियमित अनुगमन र मूल्याङ्कन कसरी गर्ने भन्ने विषय स्पष्ट हुनुपर्छ । यसले ९ वटै जिल्लाका प्रयोगशालालाई एउटै व्यवस्थित प्रणालीमा जोड्न र सेवाको गुणस्तरमा एकरूपता ल्याउन सहयोग गर्छ ।
यसको अर्थ सबै सेवा प्रदेशस्तरमा मात्र केन्द्रित गर्ने होइन । जुन परीक्षण जहाँ गर्न सकिन्छ, त्यहीँ गर्ने र थप विशेषज्ञता वा सुविधा आवश्यक पर्ने परीक्षणलाई उपयुक्त सन्दर्भ केन्द्रमा पठाउने व्यवस्था बनाउनुपर्छ ।
सुदूरपश्चिमको भौगोलिक अवस्थालाई हेर्दा यस्तो सन्दर्भ प्रणाली झन् आवश्यक देखिन्छ । कतिपय ठाउँमा सडक पहुँचसमेत सहज छैन । त्यहाँ अत्याधुनिक प्रयोगशाला स्थापना गर्नु मात्र समाधान होइन् । स्वास्थ्य संस्थामै उचित नमुना संकलनको व्यवस्था गर्ने, नमुनालाई सुरक्षित रूपमा सम्बन्धित प्रयोगशालासम्म पुर्याउने र समयमै प्रतिवेदन उपलब्ध गराउने प्रणाली विकास गर्नुपर्छ।
यसका लागि केही सक्षम प्रयोगशालालाई मुख्य केन्द्रका रूपमा विकास गर्न सकिन्छ भने साना तथा दुर्गम स्वास्थ्य संस्थालाई नमुना संकलन र सन्दर्भ सेवाका केन्द्रका रूपमा जोड्न सकिन्छ । यसले प्रत्येक ठाउँमा महँगा उपकरण राख्नुपर्ने आवश्यकता घटाउनुका साथै उपलब्ध जनशक्ति र स्रोतसाधनको प्रभावकारी उपयोग गर्न मद्दत गर्छ ।
प्रयोगशाला सुधारमा दक्ष जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक हो । मेसिन खरिद गरेर मात्र प्रयोगशाला बलियो हुँदैन् । त्यसलाई सही तरिकाले सञ्चालन गर्ने, परीक्षणको गुणस्तर कायम गर्ने, समस्या पहिचान गर्ने र आवश्यक अवस्थामा सही निर्णय लिन सक्ने दक्ष जनशक्ति चाहिन्छ । त्यसैले जहाँ दक्ष जनशक्ति र सेवा नेतृत्व गर्न सक्ने क्षमता उपलब्ध छ, त्यहाँबाट सेवा विस्तार र सन्दर्भ प्रणालीको सुरुवात गर्नु व्यवहारिक हुन सक्छ ।
त्यसैगरी, प्रयोगशालाको गुणस्तर सुधारका लागि आवश्यक कार्यविधि लागू गर्ने, नियमित गुणस्तर नियन्त्रण गर्ने, बाह्य गुणस्तर मूल्याङ्कनमा सहभागी गराउने, उपकरणको नियमित मर्मत गर्ने, आवश्यक रिएजेन्ट तथा सामग्रीको नियमित आपूर्ति सुनिश्चित गर्ने र जनशक्तिलाई समय–समयमा तालिम दिने व्यवस्था गर्न आवश्यक छ ।
भविष्यमा सम्भव स्थानमा विद्युतीय प्रतिवेदन प्रणाली, विशेषज्ञ परामर्श तथा टेलिप्याथोलोजी जस्ता प्रविधिको प्रयोगले पनि दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाको पहुँच बढाउन सक्छ ।
स्वास्थ्य सेवाको सुधार केवल अस्पतालको भवन, शय्या वा उपकरण थपेर मात्र सम्भव हुँदैन । रोगको सही पहिचान, सही समयमा सही उपचार र त्यसका लागि आवश्यक निदान सेवा पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
त्यसैले, सुदूरपश्चिममा स्वास्थ्य सेवामा दीर्घकालीन सुधार ल्याउने हो भने निदान सेवालाई प्राथमिकतामा राख्नुपर्छ । भएका स्रोतसाधनलाई व्यवस्थित गर्ने, दक्ष जनशक्तिलाई सही ठाउँमा परिचालन गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई गुणस्तर नियन्त्रण केन्द्रका रूपमा विकास गर्ने, स्पष्ट नीति र मापदण्ड बनाउने र ९ वटै जिल्लाका प्रयोगशालालाई एउटै प्रणालीमा जोड्ने कामबाट यसको सुरुवात गर्न सकिन्छ ।
यसका लागि ठूलो योजना र ठूलो बजेटको मात्र प्रतीक्षा गर्नुपर्दैन् । एउटा प्रयोगशालामा गुणस्तर नियन्त्रण सुरु गर्नु, दक्ष जनशक्तिलाई उचित जिम्मेवारी दिनु, दुर्गम स्वास्थ्य संस्थामा व्यवस्थित नमुना संकलन सुरु गर्नु वा दुई स्वास्थ्य संस्थाबीच प्रभावकारी सन्दर्भ प्रणाली बनाउनु पनि सुधारको महत्वपूर्ण सुरुवात हुन सक्छ ।
सुदृढ निदान प्रणाली भनेको केवल प्रयोगशालाको विकास होइन्, यो बिरामीले सही समयमा सही निदान पाउने आधार हो । सुदूरपश्चिमको स्वास्थ्य प्रणालीलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने हो भने निदान सेवालाई पनि उपचारसँगै प्राथमिकतामा राख्न आवश्यक छ ।
(डा. आचार्य सेती प्रादेशिक अस्पतालकी कन्सल्ट्यान्ट प्याथोलोजिष्ट हुन् ।)