२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपुतलीबजारमा निःशुल्क मुटु जाँच, जटिल समस्या भएका ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने

पुतलीबजारमा निःशुल्क मुटु जाँच, जटिल समस्या भएका ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने


पोखरा—स्याङ्जाको पुतलीबजार नगरपालिका र सेभ द हर्ट काठमाडौंको सहकार्यमा निःशुल्क मुटु जाँच शिविर भएको छ । मनमोहन कार्डियोथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, शहीद गंगालाल हृदय केन्द्र र नेपाल कार्डियो डायबेटिज एन्ड थाइराइड सेन्टरको प्राविधिक सहयोगमा भएको शिविर २ दिनसम्म चलेको थियो ।

शिविरमा मुटु जाँच गराएका करिब २ हजार २ सयमध्ये ६ सय १५ जनाको इको, ७ सय ५५ जनाको ईसीजी गरिएको थियो । ४५ जनालाई शल्यक्रियाका लागि काठमाडौं बोलाइएको डा. अनिल भट्टराईले बताए ।

बिरामीलाई आवश्यकताका आधारमा निःशुल्क औषधी उपलब्ध गराइएको थियो । यस्ता शिविर यसअघि मुगु, कालिकोट, हुम्ला, जुम्लालगायत जिल्लामा गरिसकिएको डा. भट्टराईले जानकारी दिउ । उनले विश्वमा हुने मृत्युमध्ये करिब ३० प्रतिशत मृत्यु मुटु र रक्तनलीका समस्याका कारण हुने उल्लेख गरे ।

नेपालमा मुटुका बिरामीको संख्याअनुसार विशेषज्ञ डाक्टर र अस्पताल पर्याप्त नभएको उनको भनाइ थियो । यसअघिका शिविरमा पत्ता लागेका मुटुका जटिल समस्या भएका लगभग १ हजार बिरामीको शल्यक्रियाबाट उपचार गरिसकिएको उनले बताए । नेपाल सरकारले १४ वर्षमुनिका र ७५ वर्ष माथिका बाथ मुटु रोगको निःशुल्क उपचार गरिदिएको भएपनि बस्ने, खाने, यातायात खर्च, रगत परीक्षणलगायतको व्यवस्था नगरेको हुँदा सेभ द हार्टको सहयोगमा निःशुल्क गरिदिने डा. भट्टराईले जानकारी दिए ।

शिविरमा डा. सुनिल अधिकारी, डा. चन्द्रमणि पौडेल, डा. पावला मैरेलिसो, डा. एलिया पाच्यालगायत गंगालाल, मनमोहन, चरक हस्पिटल र सेभ द हर्टका झण्डै २ दर्जन चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको थियो । शिविरमा ३ इको मेसिन र २ ईसीजी मेसिन उपयोग गरी मुटुको अवस्था पत्ता लगाइएको थियो ।

परीक्षणमा मुटुसम्बन्धी जटिल रोग, जन्मैदेखिको जटिलता, बाथलगायत समस्या देखिएको प्रा.डा. अर्जुन लामिछानेले बताए ।

नगरवासीको स्वास्थ्यमा ध्यान दिँदै विशेषज्ञसहितको टिमसँग सहकार्य गरी निशुल्क उपचार सेवा उपलब्ध गराइएको नगर प्रमुख तुलसीराम रेग्मीले बताए । उनले आगामी दिनमा समेत यसप्रकारका सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । ४५ जनाको निःशुल्क उपचार सेभ द हार्टको आर्थिक सहयोगमा गरिने मेयर रेग्मीले बताए । उनले भने, ‘समस्या फरक फरक छन्,मनमोहन तथा गंगाललाल अस्पतालमा तिनीहरुको उपचार फ्रि मै हुन्छ ।’

गत वर्ष युके निवासी डा. विशाल गुरुङको समन्वयमा आँखा जाँच निःशुल्क शिविरमार्फत् ४ हजार ५ सय हाराहारीमा आँखाका बिरामीको स्वास्थ्य जाँच गरिएकोमा १ सय ५३ जनाको आँखामा मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएकोमा हिमालय आँखा अस्पताल पोखरामा लगेर शल्यक्रिया गरी उपचार गराइएको मेयर रेग्मीले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ