२०८३ भदौ ४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्य क्षेत्रको मौन संकटः राजनीतिक अस्थिरताबीच नर्सिङ पेशाको पीडा

स्वास्थ्य क्षेत्रको मौन संकटः राजनीतिक अस्थिरताबीच नर्सिङ पेशाको पीडा


नेपालको स्वास्थ्य प्रणालीको कुरा गर्दा हामी प्रायः अस्पताल, चिकित्सक, औषधि, उपकरण र पूर्वाधारको चर्चा गर्छौ । तर, स्वास्थ्य सेवाको निरन्तरता धान्ने नर्सिङ जनशक्तिको विषय अपेक्षाकृत कम उठ्छ । दिन रात बिरामीको छेउमा रहेर सेवा गर्ने नर्सहरूले भोगिरहेको कामको दबाब र पेशागत कठिनाइ स्वास्थ्य क्षेत्रको एउटा मौन संकट बन्दै गएको छ ।

नर्सको काम औषधि दिने वा चिकित्सकको निर्देशन पालना गर्नेमा मात्र सीमित हुँदैन् । बिरामीको अवस्था निरन्तर निगरानी गर्ने, औषधि व्यवस्थापन गर्ने, संक्रमण नियन्त्रणमा ध्यान दिने, बिरामी र परिवारलाई आवश्यक जानकारी तथा सहयोग दिने र आपत्तकालीन अवस्थामा तत्काल प्रतिक्रिया दिने महत्वपूर्ण जिम्मेवारी नर्सकै हुन्छ । अस्पतालमा बिरामीसँग सबैभन्दा बढी समय बिताउने स्वास्थ्यकर्मी पनि धेरैजसो अवस्थामा नर्स नै हुन् ।

यति महत्वपूर्ण जिम्मेवारी बोकेको जनशक्तिलाई हामीले कति प्राथमिकता दिएका छौं भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । नेपालमा स्वास्थ्य सेवाको आवश्यकता बढ्दै गएको छ। अस्पतालमा बिरामीको चाप बढिरहेको छ, तर त्यसअनुसार नर्सिङ जनशक्ति र काम गर्ने वातावरणमा सुधार हुन सकेको छैन ।

कतिपय अस्पतालमा एउटै नर्सले एकैपटक धेरै बिरामीको जिम्मेवारी लिनुपर्ने अवस्था छ । यस्तो अवस्थामा प्रत्येक बिरामीलाई आवश्यक समय दिन र उनीहरूको अवस्था नजिकबाट निगरानी गर्न कठिन हुन्छ।

त्यसैले Nurse–Patient Ratio लाई कर्मचारी व्यवस्थापनको विषय मात्र मान्नु हुँदैन् । यो बिरामीको सुरक्षा र स्वास्थ्य सेवाको गुणस्तरसँग प्रत्यक्ष जोडिएको विषय हो । औषधि प्रशासन, vital signs monitoring, documentation, संक्रमण नियन्त्रण र आकस्मिक अवस्थामा तत्काल प्रतिक्रिया—यी सबै काममा पर्याप्त समय र ध्यान आवश्यक हुन्छ । जनशक्ति कम हुँदा कामको बोझ र थकान बढ्छ, जसले सेवाको गुणस्तरमा असर पार्न सक्छ ।

नर्सिङ पेशामा पारिश्रमिक र जिम्मेवारीबीचको सम्बन्ध पनि गम्भीर विषय हो । नर्सले आफ्नो समय मात्र होइन, ज्ञान, सीप, जिम्मेवारी र भावनात्मक श्रम पनि स्वास्थ्य सेवामा लगाइरहेका हुन्छन् । रातको ड्युटी, सार्वजनिक बिदामा काम, आकस्मिक सेवा, लामो समय उभिएर काम गर्नुपर्ने अवस्था तथा बिरामी र आफन्तको तनाव व्यवस्थापन उनीहरूको नियमित जिम्मेवारीभित्र पर्छ।

तर, यति धेरै जिम्मेवारीका बीच पनि उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, पर्याप्त जनशक्ति, उचित कार्यसमय र पेशागत विकासका अवसर सुनिश्चित हुन नसक्नु विडम्बनाको विषय हो ।

राजनीतिक अस्थिरताको प्रभाव स्वास्थ्य क्षेत्रमा पनि पर्न सक्छ । सरकार र नेतृत्व परिवर्तनसँगै स्वास्थ्य नीति, बजेट, दरबन्दी, कर्मचारी व्यवस्थापन तथा स्वास्थ्य संस्थाको विकास योजनामा निरन्तरता प्रभावित हुन सक्छ । यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर स्वास्थ्यकर्मी र सेवाग्राही दुवैले भोग्नुपर्छ ।

सरकार परिवर्तन हुन सक्छ, तर स्वास्थ्य सेवाको प्राथमिकता परिवर्तन हुनु हुँदैन् । स्वास्थ्य कुनै दल वा सरकारको मात्र विषय होइन् । यो नागरिकको आधारभूत आवश्यकता र राज्यको जिम्मेवारी हो ।

नर्सहरूको समस्या धेरैपटक किन ओझेलमा पर्छ ? यसको एउटा कारण उनीहरूको सेवा गर्ने शैली पनि हुन सक्छ । समस्या र थकान हुँदाहुँदै पनि उनीहरू बिरामीको अगाडि आफ्नो व्यक्तिगत पीडा लुकाएर काम गरिरहन्छन् । यही मौन सेवाभावलाई कहिलेकाहीँ उनीहरूले सबै कुरा सहजै सहन सक्छन् भन्ने गलत बुझाइ हुन सक्छ । तर, मौन हुनु भनेको पीडा नहुनु होइन् ।

नर्सलाई केवल सेवा दिने जनशक्तिका रूपमा होइन, आफ्नो अधिकार र पेशागत पहिचान भएका स्वास्थ्यकर्मीका रूपमा हेर्न आवश्यक छ । उनीहरूलाई उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, सम्मानजनक व्यवहार, पर्याप्त जनशक्ति, उचित कार्यसमय, पेशागत विकासको अवसर र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता आवश्यक छ ।

अब स्वास्थ्य प्रणालीले एउटा महत्वपूर्ण प्रश्नको उत्तर खोज्नुपर्छ—हामीलाई धेरै काम गराउन सकिने नर्स चाहिएको हो कि पर्याप्त, दक्ष र सुरक्षित रूपमा काम गर्न सक्ने नर्स ?  गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो लक्ष्य हो भने उत्तर स्पष्ट छ—हामीलाई पर्याप्त, दक्ष, सुरक्षित र सम्मानित नर्सिङ जनशक्ति चाहिन्छ ।

नर्समा गरिएको लगानी केवल नर्सको हितमा गरिएको लगानी होइन् । यो बिरामीको सुरक्षा, स्वास्थ्य सेवाको गुणस्तर र समग्र स्वास्थ्य प्रणालीको भविष्यमा गरिएको लगानी हो ।

स्वास्थ्य क्षेत्रमा सुधार गर्न नयाँ भवन बनाउने र महँगा उपकरण थप्ने मात्र पर्याप्त हुँदैन् । ती उपकरण चलाउने, बिरामीको अवस्था निरन्तर निगरानी गर्ने र स्वास्थ्य सेवाको निरन्तरता कायम राख्ने जनशक्तिलाई पनि समान प्राथमिकता दिनुपर्छ । त्यसैले, नर्सिङ क्षेत्रको आवाजलाई अब केवल गुनासोका रूपमा होइन, स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण संकेतका रूपमा सुन्नुपर्ने समय आएको छ ।

नर्स थाकेको स्वास्थ्य प्रणाली बलियो हुन सक्दैन् । नर्स असुरक्षित भएको अस्पताल पूर्ण रूपमा सुरक्षित हुन सक्दैन् । नर्सलाई सम्मान नगर्ने स्वास्थ्य प्रणालीले बिरामीलाई पूर्ण सम्मान दिन सक्दैन् ।

राजनीतिक अस्थिरताले सरकार परिवर्तन गर्न सक्छ तर स्वास्थ्य सेवाको निरन्तरता रोकिनु हुँदैन् । त्यो निरन्तरता कायम राख्ने अग्रपंक्तिका महत्वपूर्ण हातमध्ये नर्सका हात पनि हुन् ।

अब प्रश्न नर्सहरूले कति सहन सक्छन् भन्ने होइन। प्रश्न यो हो—उनीहरूले सुरक्षित, सम्मानित र पर्याप्त स्रोतसहित सेवा गर्न सक्ने वातावरण हामी कहिले बनाउने ?


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ