२०८३ भदौ १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन

स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा पुगेकी छन् । बुधबार बाढी क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न मन्त्री मेहता नुवाकोटको विदुर पुगेकी हुन् ।

उनले विदुर नगरपालिका तथा आसपासका विभिन्न क्षेत्रको अनुगमन गरेकी छन् । अनुगमनका क्रममा विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, बाढीबाट प्रभावित त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट तल्लो पिपलटार तथा चन्द्रज्योति माध्यमिक विद्यालय पुगेर अवस्थाको जानकारी लिएको मन्त्रालयले जनाएको छ । यस्तै मन्त्री मेहताले प्रभावित तथा पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग समेत भेट गरी उपचार व्यवस्थाको अवस्थाबारे जानकारी लिएकी छन् ।

अनुगमनका क्रममा प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री तथा औषधिको उपलब्धता भए/नभएको यकिन गर्नुका साथै आवश्यकताअनुसार थप औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिएको छ । साथै, स्वास्थ्यकर्मीको परिचालन, घाइते तथा बिरामीको उपचार व्यवस्था, सम्भावित सरुवा रोगको जोखिम न्यूनीकरण तथा प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थालाई सम्बोधन गर्न मनोपरामर्श सेवाको उपलब्धताबारे समेत जानकारी लिइएको छ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक स्रोत, जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्दै सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिएको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ