काठमाडौं—धुलिखेल अस्पतालले रसुवाको भोटेकोशी बाढी प्रभावितहरुलाई एक वर्षसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ । आइतबार अस्पतालले प्रभावित परिवारका सदस्यहरुलाई अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु एक वर्षसम्म निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
‘बाढीबाट सिर्जित मानवीय तथा भौतिक क्षति र प्रत्यक्ष प्रभावित परिवारको दीर्घकालीन आवश्यकतालाई मध्यनजर गर्दै धुलिखेल अस्पतालले प्रभावित परिवारका सदस्यहरुलाई अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु एक वर्षसम्म निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ,’ अस्पतालले आफ्नो विज्ञप्तीमा भनेको छ ।
धुलिखेल अस्पतालले यसबाट प्रभावित परिवारहरुको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुका साथै उनीहरुको उपचारमा लाग्ने आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्य लिएको छ । यो सेवा प्राप्त गर्ने प्रक्रिया तथा आवश्यक विवरण अस्पतालले चाडै सार्वजनिक गर्ने जनाएको छ ।
धुलिखेल अस्पतालले बाढी प्रभावित समुदायमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा सहकार्य तता सहयोग गर्ने तयारी गरिरहेको समेत उल्लेख गरेको छ । ‘यस कठिन घडीमा बाढी प्रभावित सम्पूर्ण परिवारप्रति धुलिखेल अस्पताल गहिरो समवेदन व्यक्त गर्दछ र प्रभावित समुदायको स्वास्थ्य, पुर्नस्थापना तथा पुनरुत्थानका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ,’ अस्पतालले भनेको छ ।
धुलिखेल अस्पताल रसुवाको भोटेकोशीमा १० भदौंमा आएको बाढीबाट प्रभावितलाई राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम निरन्तर संलगन रहँदैं आएको छ ।