२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता

हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता


जुम्ला—हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा सडक अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि लैजान स्थानीयले महँगो रकम खर्चेर हेलिकप्टरको साहारा लिनुपर्ने बाध्यता देखिएको छ । सडकमार्ग हिउँका कारण अवरुद्ध भएपछि पाठेघरमा क्यान्सरको समस्या देखिएकी लिमीको हल्जी गाउँकी ३४ वर्षीया सोनाम लामु तामाङलाई २२ असोज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए ।

गाउँमा रहेको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई जिल्ला बाहिर लगिएको हो । प्रमुख जिल्ला अधिकारी गुरागाईका अनुसार जिल्लामै पाठेघरको क्यान्सर सम्बन्धी विशेषज्ञ उपचारको व्यवस्था नभएकाले तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

सडकमार्ग सञ्चालनमा रहेको भए बिरामीलाई स्थलमार्गबाटै अस्पतालसम्म पु¥याउन सकिने भएपनि लिमी जाने सडकमा दुई सातादेखि हिउँ जमेर यातायात पूर्ण रूपमा बन्द भएपछि हेलिकप्टर प्रयोग गर्नुपरेको तामाङका श्रीमान ठिले दोर्जी लामाले गुनासो गरेका छन् ।

बिरामीका लागि केन्द्रीय विपद् व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको भएपनि परिवारलाई थप भार परेको छ । असोज दोस्रो सातातिर परेको हिमपातका कारण लिमी, न्यालु तथा हिल्सालगायतका सडकखण्ड अवरुद्ध छन् । लामो समयदेखि सडक सञ्चालनमा नआउँदा सामान्य उपचारका लागि समेत स्थानीयले कठिनाइ भोग्दै आएका छन् ।

विशेषगरी जटिल अवस्थाका बिरामीलाई तत्काल जिल्ला बाहिर लैजानुपर्ने अवस्थामा हेलिकप्टरबाहेक अर्को विकल्प नहुँदा परिवारले ठूलो आर्थिक जोखिम उठाउनुपर्ने अवस्था छ ।

लिमीमा सडक नियमित सञ्चालन नहुँदा बिरामी मात्र नभई दैनिक उपभोग्य वस्तुको ढुवानी, खाद्यान्न आपूर्ति र स्थानीयको आवतजावतसमेत प्रभावित हुने गरेको छ । स्थानीयले सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउन आवश्यक पूर्वाधार तथा हिउँ हटाउने व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ