२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्साभान्साकै अदुवा, लसुन र बेसारलाई औषधी मान्न हामीलाई कुन जुनी लाग्ने हो?

भान्साकै अदुवा, लसुन र बेसारलाई औषधी मान्न हामीलाई कुन जुनी लाग्ने हो?


संसदमा प्रधानमन्त्रीज्यूले सांसद गगन थापाप्रति लक्षित गर्दै नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भनेर ठोकुवाका साथ भनिरहँदा हामी आयुर्वेदकर्मीलाई धेरै खुशी त लाग्यो । तर, आयुर्वेदप्रति राज्यको उपस्थिति हेर्दा खुशी धेरै बेर टिकेन । प्रधानमन्त्रीज्यूले नेपालका झारमा पनि यार्सागुम्बा हुने कुरा बताइरहँदा राज्यले जडीबुटीको संरक्षणमा चै कति ध्यान दिएको छ त? भनी प्रश्न सोध्न मन लाग्यो । उहाँले ढुंगाबाट सिलाजित निस्किन्छ भन्नुभयो । जडीबुटी र औषधीको देश हो यो, पानी हिउँबाट, हिमालमाथि बसेर पग्लेर अनेक मिनिरल तत्वसँग खेल्दै रसाएर निस्केर आउँछ पनि भन्नुभयो । त्यतिमात्र होइन नेपालीको भान्सामा पाउरोटीमा बटर दलेर खाने चलन होइन यहाँ त दाल, चामल नुन, बेसार, जीरा, धनियाँ, प्याज, लसुन, अदुवाजस्ता औषधि खाने चलन हुन्छन् पनि भन्नुभयो ।

उहाँले नेपालीको योगा, व्यायाम गर्ने बानीले पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने मात्र होइन आहार विहारको कुरा समेत जोड्नु भयो । तर, मेरो एउटा प्रश्न, आदरणिय प्रधानमन्त्रीज्यू कोरोना महामारी नियन्त्रणमा मात्र होइन्, सधैभरि स्वस्थ रहन यति उपयोगी आयुर्वेदको विकासमा हजुरले नीतिगत रुपमा के-के गर्नु भयो त? अनि हामी सर्वसाधारणलाई भान्सा र स्थानीय रुप मै पाइने जडीबुटीलाई औषधी मान्न कुन जुनी लाग्ने हो?

गत आइतबार मात्र बेइजिङमा कोरोना भाइरस विरूद्धको लडाइ सम्बन्धी एउटा श्‍वेतपत्र जारी गर्दै चीनले ९४ प्रतिशतभन्दा बढी संक्रमितको उपचार भएको र परम्परागत औषधी चलाइएको कुरा जानकारी दियो । परम्परागत चिनियाँ मेडिसिन (टीसीएम) को प्रयोग बाट ९२ प्रतिशत बिरामीलाई रोगमुक्त पारिएको जानकारी पनि दियो । सर्वप्रथम कोरोना भाइरसबाट अति ग्रस्त हुबेइ प्रान्तमा समेत ९० प्रतिशत बिरामीमा परम्परागत उपचार पद्धति प्रभावकारी सावित भएको दावी चीनले गरिरहँदा र अन्य मुलुकहरुले पनि आ-आफ्नै स्वास्थ्य प्रणालीहरु अवलम्बन गरिरहँदा हामीले आफ्नो माटो सुहाउँदो चिकित्सा प्रणालीमा कत्तिको ध्यान दियौं त प्रधानमन्त्रीज्यू ?

कतै मेडिकल कर्पोरेटहरुकै नाफामा अभ्यस्त भएर विश्व स्वास्थ्य संगठनको पुच्छर समातिरहेका त छैनौं ? स्वास्थ्यजस्तो संवेदनशील विषयमा दलाल पुजीवादीहरुकै हावी हुनु र एलोपेथी कै साम्राज्य स्थापित गर्न सरकारले आयुर्वेदलाई अवहेलना गरिराख्नुले राम्रो सन्देश दिएला त प्रधानमन्त्रीज्यू?

आयुर्वेद सम्बन्धी अनुसन्धान

अहिलेको कोरोना विषाणु विरुद्ध लड्न आयुर्वेदका तर्फबाट धेरै प्रोटोकलहरु निर्माण भएका छन् । आयुर्वेद तथा वैकल्पिक विभाग, नरदेवी आयुर्वेद अस्पताल, आयुर्वेद शिक्षण अस्पताल एवं विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय आयुर्वेदका इकाईमार्फत आयुर्वेदलाई प्रोत्साहन गर्ने कार्यहरु भइरहेका छन् । आयुर्वेद जडीबुटीकै सेवनबाट निको भएर गएका र योग व्यायाम गर्दा रोगसँग लड्ने क्षमता वृद्धि गरेका घटनाहरु आम सञ्चारमाध्यममा आइराखेका छन् । तर, पनि स्वास्थ्य मन्त्रालयको माथिल्लो निकाय आयुर्वेदप्रति अझै उत्तरदायी हुन सकेको छैन । यो आर्थिक वर्षका लागि विनियोजन भएको बजेटले पनि आयुर्वेदलाई सौताको छोरा समान व्यवहार गरिएको प्रस्टै देखिन्छ । प्रधानमन्त्रीज्यू, भाषणमा मात्र होइन व्यवहारमा पनि हजुर आयुर्वेद प्रेमी भएको हेर्ने दिन कहिले आउला?

एलोपेथीकै ट्याबलेट र भ्याक्सिनको पर्खाइमा नै बस्ने कि प्रधानमन्त्रीज्यू, हजुरले भनेजस्तै आयुर्वेद एवं योगका जीवनशैली अपनाएर कोरोनालाई परास्त गर्ने? के साँच्चै हजुर तयार हुनुहुन्छ त ? आयुर्वेदका नीति र स्पष्ट खाकाहरुलाई कार्यन्वयनमा लैजान? कि धमिलो पानीमा माछा मार्ने हजुरको यो मात्र भलाद्मीपन हो?

आयुर्वेदमा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोनालगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा विभिन्न अनुसन्धानबाट प्रारम्भिक रुपमा जनाइएको छ । घरायसी रुपमा सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसारलगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिन्छ । घरको आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसार मिसाएर घरमै उमालेर बिहान बेलुका एक एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । त्यसले दिने शक्तिले शरीरको क्षमतामा समेत वृद्धि ल्याउँछ । त्यस्तै घरघरमा पाइने तुलसी र मरिचको चिया खादा समेत प्रतिश्याय ,ज्वर, शिरमा भारीपन हुनेलगायतका प्रतिरोधात्मक क्षमतामा ह्रास आउने पूर्वरुपलाई निषेध गर्छ । चव्य, पिप्पलीमूल, शुण्ठी, तालिसपत्र, नागकेशर, सुकमेल, दालचिनी, अदुवा, जीरा समेतले यस क्षणमा कोरोनालाई टाढै राख्न नियमित सेवन गर्न सकिन्छ । क्रमबद्ध रुपमा यी र अरु सबै कुराहरु हालै संयुक्त रुपमा सरकारी स्तरबाट जारी भएका प्रोटोकलमा स्पष्ट उल्लेखित छन् । यी कुराको मनन गर्ने कि हामी सर्वसाधरण पनि प्रधानमन्त्रीको खिशिट्युरीमा समय बिताउने?

आयुर्वेद चिकित्सा पद्धति हाम्रो सभ्यता, संस्कृति एंव जीवनका परम साध्य धर्म, अर्थ,काम, मोक्ष ,संग सान्निध्य राख्ने पद्धति हो । मानवलगायत सम्पूर्ण प्राणीहरुको स्वास्थ्यको संवर्धन एवं रोगहरुको निवारणका लागि निरन्तर प्रेरणा दिने आफू पनि बाच्ने अरुलाई पनि बचाउने शिक्षा दिने विद्या भनेको आयुर्वेद हो । प्राचीनकालदेखि नै आयुर्वेद क्षेत्रसँग परिचित र त्यसका प्रयोगकर्ता ऋषिमुनीहरुको आश्रयस्थल नेपाल रहेको छ । आयुर्वेदीय चिकित्साअन्तर्गत प्रयोग हुने दैवव्यपाश्रय एवं युक्तिव्यपाश्राय औषधीहरुको प्रयोगको परम्परा यहाँ आज पनि व्यापक रुपमा कायम रहेको पाइन्छ । अतीत कालमा आयुर्वेद आप्तोपदेश तथा विद्वानहरुको चिन्तन एवं अनुभवको आधारमा विकसित हुँदै आएको हो । यसको प्रयोगात्मक परिपाटी निकै विस्तृत भएतापनि आजको वैज्ञानिक चिन्तन र प्रयोगको परिपाटीबाट त्यसको स्पष्ट रुपरेखा विद्वानहरुले प्रस्तुत गर्न नसक्दा, आयुर्वेद क्षेत्रको जुन रुपमा विकास र विस्तार हुनुपर्ने हो त्यो हुन सकेको छैन ।

आयुर्वेद चिकित्सालाई नेपालको राष्ट्रिय चिकित्सा अनुरुप विकास गर्न विषयगत अनुसन्धान तथा प्रयोगका साथै विज्ञहरुको सभामा संवाद, विचार विमर्श, संशोधन परिष्कारसहित विशिष्ट शोधग्रन्थहरुको प्रकाशन तथा वितरणसँगै सामाजिक तथा संस्थागत प्रतिबद्धतासहित कार्ययोजना, आर्थिक व्यवस्थापन समेत चाहिन्छ । साथसाथै सरोकार सम्पूर्णले गुणस्तर, व्यावसायिकता, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गर्ने उद्देश्यसमेत बोक्नु पर्छ । यसबारेमा प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु।

आयुर्वेद जीवनको ज्ञान हो र आयुर्वेदको उद्देश्य रोगको उपचार गर्नु मात्र नभएर स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु पनि हो । नेपालमा अझ सुदृढ रुपमा वैज्ञानिक तवरबाट अध्ययन अध्यापन, सीप अभिवृद्धिको प्रशिक्षण हुने र गाँउ-गाँउमा समेत विशेषज्ञ सेवा उपलब्ध हुन सके तथा आयुर्वेदका औषधीहरु विभिन्न ट्राइल, रिसर्च, ल्याब्रोटरी इभ्यालुएसनसहित सस्तो मूल्यमा रोगीलाई दिन सके, आयुर्वेदले जीवनमा सकरात्मक भूमिका खेल्ने कुरामा दुई मत छैन । ऋषिमुनिहरुको शाश्वत चिन्तन र साधनाबाट मानवजातिकै आदिम सभ्यतासँगै विश्वभरि फैलिएको सर्वप्राचीन जीवनविज्ञान वा चिकित्सा विधा आयुर्वेद, आजको आवश्यकता हो भन्ने कुरा नकार्न सकिदैन् ।

आयुर्वेद क्षेत्रको समसामयिक र अपेक्षित सुदृढीकरणका लागि देशका संघीय संरचनाअनुसार स्थानीय निकायहरुले जडिबुटीलगायत आधिकारिक स्रोतसाधनको परिचालन गर्नु जरुरी छ । यस महामारीको क्षणमा मात्र होइन मौलिक राष्ट्रिय चिकित्सा प्रणाली आयुर्वेदको अझ विकास र विस्तारका लागि सरकारीस्तर, दातृनिकाय, निजी क्षेत्र र आयुर्वेद सम्बद्ध सबै सरोकारवाला निकायहरुलाई समयमै जवाफदेही गराउन, प्रधानमन्त्रीज्यूले अग्रसरता लिनु पर्ने नितान्त जरुरी छ । नत्र आयुर्वेदप्रति प्रधानमन्त्रीज्यूको नीति मुखमा राम राम बगलीमा छुरा नहोला भन्न सकिन्न ।

(लेखक नरदेवी आयुर्वेद अस्पतालका इन्टर्न आयुर्वेद चिकित्सक हुन् ।)


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ