२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमनाङ र मुस्ताङ बने पूर्ण खोपयुक्त जिल्ला

मनाङ र मुस्ताङ बने पूर्ण खोपयुक्त जिल्ला


पोखरा—गण्डकी प्रदेशका मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । मनाङमा सोमबार नै खोप लगाइसकिएको भएपनि मुस्ताङमा भने मंगलबारसम्म खोप लगाइएको थियो ।

स्वास्थ्य कार्यालयहरुका अनुसार मुस्ताङमा साढे ९ हजार र मनाङमा ४ हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार ४ हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् भने कोभिसिल्ड लगाएका १ सय ६५ जना नागरिकले दोस्रो डोज लगाउन बाँकी छ । कोभिसिल्डको पूर्ण खोप २ हजार ९६ र जोनसोन २ हजार २७ ले लगाए भने भेरोसेलको दुवै डोज ७५ जनाले लगाए ।

पूर्ण खोप भएका जिल्लामा पहिलो मनाङ र दोस्रो मुस्ताङ भएका छन् । यी जिल्लामा सहरी स्थानीय तहको वडाको भन्दा कम जनसंख्या भएकाले पूर्ण खोपयुक्त हुन सफल भएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ । जिल्लाबाहिर रहेका र हाल कोभिड—१९ संक्रमितहरुले भने खोप लगाएका छैनन् । मनाङमा १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।

मुस्ताङमा लगभग ९ हजार ४ सय जनाले खोप लगाएको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए । वास्तविक डाटा आउन केही समय लाग्ने भए पनि मंगलबारसम्म ९ हजार ४ सय जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको उनको अनुमान छ ।

जसमध्ये कोभिसिल्ड ३ सय २१ भायल लगाएकाहरुले दोस्रो डोज लगाउन पाएका छैनन् । मुस्ताङमा ६ हजार ५ सय डोज जोनसोन, ४ हजार ४ सय ८० भेरोसेल र ३ सय २१ भायल कोभिड–१९ विरुद्धको खोप पुगेको थियो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले १९ साउनमा सार्वजनिक गरेको विवरणअनुसार प्रदेशभर ५ लाख २३ हजार ३ सय २० जनाले कोभिड–१९ विरुद्धको खोपको पहिलो लगाएका छन् । त्यसमध्ये १ लाख ७७ हजार ११ जनामात्रै पूरा डोज लगाएका छन् ।

निर्देशनालयका अनुसार गोरखामा ५६ हजार ६ सय ९७ जनाले पहिलो डोज र १५ हजार ९ सय ३६ जनाले पूरा डोज लगाएका छन् ।

कास्कीका १ लाख ५ हजार ६९ जनाले पहिलो डोज लगाएका छन् भने २९ हजार १ सय ८१ जनाले पूरा डोज लगाएका छन् । लमजुङमा ४७ हजार ७ सय ६७ जनाले पहिलो डोज लगाएका छन् भने १५ हजार १ सय १६ जनाले पूर्ण खोप लगाए । नवलपरासी पूर्व ७१ हजार ६ जनाले पहिलो डोज लगाएका छन् भने २२ हजार ३ सय ६८ जनाले पूर्ण खोप लगाए । तनहुँमा ६८ हजार ७ सय ९६ जनाले पहिलो डोज लगाएकोमा २६ हजार ७ सय ३८ जनाले पूर्ण खोप लगाए ।

बागलुङमा ५२ हजार ७९ जनाले पहिलो डोज लगाए भने १८ हजार २ सय १० जनाले पूर्ण खोप लगाएका छन् । यस्तै,म्याग्दीमा २३ हजार ७ सय ४४ जनाले पहिलो डोज लगाएका छन् भने ८ हजार ४ सय ४२ जनाले पूर्ण खोप लगाए ।

पर्वतमा ३२ हजार ५ सय ९३ जनाले पहिलो डोज लगाएका छन् भने ११ हजार २ सय १९ जनाले पूर्ण खोप लगाएका छन् । यसैगरी स्याङ्जामा ५५ हजार ६ सय ५२ जनाले पहिलो डोज लगाएकोमा १९ हजार ९ सय ६५ जनाले पूर्ण खोप पाएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #पूर्ण खोपयुक्त जिल्ला, #मनाङ, #मुस्ताङ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ